तिहारमा पनि बढेन मादलको बिक्री « Khabarhub

तिहारमा पनि बढेन मादलको बिक्री


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – रामप्रसाद नेपालीले जिल्लाको कावासोतीमा मादलको व्यापार गर्न थालेको २२ वर्ष पुगेको छ। मादल बेचेरै दुई दशक बिताएका उनको पसलमा यसपालि भने ग्राहकको खासै चहलपहल छैन। नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून छ। तिहारले छोपिसक्दा केही पुराना मादलमा खरी हाल्न आउने गरेका छन्। तर नयाँ मादल किन्नेको सङ्ख्या निकै न्यून भएको उनले बताए। ‘तिहारले छोपिसक्यो, नयाँ मादल तेस्तै २५ वटा राखेको थिएँ, लगभग सबै बाँकी छ, बिक्री भएको छैन, पुरानो केही मादलमा खरी लगाउने कामबाहेक अहिले केही छैन’, व्यवसायी नेपालीले भने, ‘तिहारमा मादलको किनबेचमा ग्राहको चहलपहल छैन।’

पछिल्लो केही दिनयता दैनिक १० जतिका दरले पुराना मादलमा खरी लगाउने काम आउने गरेको उनको भनाइ छ। बाइस वर्षदेखि हुलाकी मादल पसल सञ्चालन गर्दै आएका उनका अनुसार पछिल्लो पाँच वर्षयता तिहारमा मादलको व्यापारमा कमी आउँदै गएको बताए। त्यसअघिसम्म नयाँ मादल राम्रै बिक्री गर्दै आएको भए पनि अहिले क्रमशः व्यापारमा कमी हुँदै गएको उनको भनाइ छ। ‘पहिले तिहारमा नयाँ मादलको माग धेरै हुन्थ्यो, खरी लगाउने काम पनि भ्याइनभ्याई हुने गथ्र्यो तर केही वर्षयता घट्दै गएको छ’, उनले भने।

मादलबाट पहिले राम्रै आम्दानी हुने गरेको भए पनि अहिले बिक्रीमा कमी हुँदा आम्दानीसमेत घट्दै गएको उनले बताए। तर वर्षौँदेखि आफूले जानेको सीप, किन खाली बस्नु भनेर यही व्यवसाय गरिरहेको नेपालीले बताए।

अहिले उनले नयाँ मादल आकार हेरि रु दुई हजार पाँच सयदेखि रु छ हजारसम्ममा बेच्ने गरको बताए। यस्तै पुरानो मादल मर्मत र खरी लगाउन भने कम्तीमा रु एक हजार दुई सय लाग्ने नेपालीले सुनाए।

पछिल्लो समय तिहारको देउसीभैलोमा ‘डेक’ बजाउने चलन भित्रिएसँगै मादलको व्यापारमा कमी आएको बताइन्छ। पहिले मादल बजाएर मादलकै भरमा देउसीभैलो खेल्ने चलन भए पनि हिजोआज कलाकारका गीत ‘डेक’मा बजाएर देउसीभैलो खेल्ने गर्दा मादलको प्रयोग घट्दै गएको उनको भनाइ छ। ‘पहिले मादल नभई देउसीभैलो हुन्थेन, अहिले डेकमा गीत बजायो, नाच्यो, सजिलो भयो, त्यसैले मादल खोज्ने कम हुनथाले’, उनले भने।

पहिले–पहिले देउसीभैलो खेल्ने समूह टोलटोलमा हुने र मादलकै भरमा गाउने नाच्ने चलन भए पनि हिजोआज त्यसमा कमी आएको देवचुलीका प्रेमनारायण रिमालले बताए। भए पनि मादलको तालमा गीत गाउने, देउसी भट्याउने चलनमा कमी हुँदै गएको उनले बताए। ‘पहिले हाम्रै टोलका दुई, तीन समूह देउसीभैलो खेल्ने हुन्थे, मादलको तालमा देउसी भट्याउने, गाउने, नाच्ने चलन थियो, अहिले गाउँघरमा यस्ता टोली हराउँदै गए’, उनले भने, ‘कहीँकतै समूहमा देउसी खेल्न हिँडे पनि यसो देउसी भट्याएजस्तो गर्‍यो, डेकमा गीत लगायो नाच्यो, सजिलो भयो।’ डेकका गीतमा नाच्ने र देउसी खेल्ने गरे पनि पुरानो संस्कृति र देउसीभैलो खेल्दा विभिन्न विषयलाई जोडेर भट्याउने चलनलाई पनि कायम राख्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ११ : १५ बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय