डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड : गभर्नर अधिकारी | Khabarhub Khabarhub

डिजिटल कारोबार पारदर्शिताको मेरुदण्ड : गभर्नर अधिकारी


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रमको शुभारम्भ गरेको छ । दार्चुलाको सदरमुकाम खलंगामा शुक्रबार आयोजित एक कार्यक्रमका बीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको हो । 

गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न उक्त कार्यक्रमको सुरुआत गरिएको जानकारी दिए । ‘क्युआरबाट मात्र एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैँमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नको निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौँ,’ उनले भने ।

डिजिटल कारोबारलाई ‘पारदर्शिताको मेरुदण्ड’को संज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा राखे । नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए । डिजिटल कारोबारमा आउन सक्ने जोखिमप्रति सचेत रहनसमेत उनले सबैलाई अनुरोध गरे ।

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पारे । साथै, नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकका बारेमा समेत उनले जानकारी दिए । गभर्नरको कार्यालयका निर्देशक अजित रेग्मीले एक कार्यपत्र प्रस्तुत गर्दै डिजिटल वित्तीय साक्षरताको सान्दर्भिकता, यसका आधारभूत पक्ष, नेपालमा उपलब्ध डिजिटल वित्तीय सेवा, यसको फाइदा, कारोबारमा अपनाउनुपर्ने सावधानीलगायतका विविध पक्षबारे जानकारी दिए । 

वाणिज्य बैंकका सुदूरपश्चिम क्षेत्रका प्रदेश प्रमुख, दार्चुलास्थित बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ, कृषि ज्ञान केन्द्र, स्थानीय सहकारी संस्थाका प्रतिनिधि र विद्यार्थीसहित सयभन्दा बढीको सहभागिता थियो ।

विद्युतीय भुक्तानी कारोबारलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ । आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिमा चालू आर्थिक वर्षलाई ‘विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्ष’ को रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ । 

गभर्नर अधिकारीले शुक्रबार नै बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य संघ र कृषि ज्ञान केन्द्र, दार्चुलाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी विविध विषयमा छलफल गरेका थिए । यस क्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित वाणिज्य बैंकका प्रदेश प्रमुख र दार्चुलास्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखसँग यस क्षेत्रको वित्तीय कारोबारको अवस्थाबारे प्रभावकारी सेवा प्रवाह गर्न उनीहरूलाई निर्देशन दिए । उद्योग वाणिज्य संघका पदाधिकारीसँगको छलफलमा उनले दार्चुला जिल्लाको उद्यम-व्यवसाय, भारु कारोबार र बैंक तथा वित्तीय संस्थाको सेवाबारे जिज्ञासा राखे ।

कृषि ज्ञान केन्द्रका प्रतिनिधिसँगको छलफलमा गभर्नर अधिकारीले दार्चुला जिल्लामा व्यावसायिक कृषिको विद्यमान अवस्था, सम्भावना, कृषि कर्जा तथा ब्याज अनुदान र कृषि क्षेत्र प्रवर्द्धनका भावी सम्भावनाका विषयमा जानकारी लिएका थिए ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १ : ४४ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी