अर्नाकोट र कुँडुलेमा खानेपानीको समस्या | Khabarhub Khabarhub

अर्नाकोट र कुँडुलेमा खानेपानीको समस्या


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङका दुर्गम र सुगम  दुवै गाउँमा  खानेपानीको  समस्या भएको छ । यहाँका स्थानीयवासीले एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नुपर्ने अवस्था छ । कतै गाउँ नजिक मुहान नहुँदा त कतै मुहान भएर पनि सही व्यवस्थापन नहुँदा खानेपानीको समस्या देखिएको जनाइएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्यांकमा ९४ प्रतिशत नागरिकमा सहज खानेपानीको पहुँच पुगेको देखिन्छ । सबै नागरिकलाई शुद्ध, सफा र स्वच्छ खानेपानीको सहज पहुँचका लागि सरकारले बर्सेनि करोडौँका बजेट जिल्लामा पार्ने गरेको छ । यसवर्ष पनि एक सय ३८  खानेपानीका योजना जिल्लामा छन् । यी योजनामध्ये चरम खानेपानीको समस्या भएको स्थानमा एउटा पनि पर्न नसकेको स्थानीयवासीको गुनासो छ ।

बागलुङ-४ कुँडुले सुमग ठाउँमै पर्छ । तर यहाँ खानेपानीको समस्या उस्तै छ । स्थानीय शिवदत्त सापकोटालले गाउँमा पानीको मुहान पनि बजेट नपर्दा आफूहरुले खानेपानीको समस्या हुँदै आएको बताए। उनले यहाँमा भएको मुहानबाट अर्को गाउँमा पानी लगेर एक घर एक धारा निर्माण गरेको सुनाउँदै आफूहरू समस्यामा परेको गुनासो गरे ।

उनले भने,’यो गाउँमा जनसङ्ख्या पनि धेरै छ, खानेपानीको मुहान पनि प्रशस्तै छन्, तर बजेट छैन, मुहान नै नभएका गाउँलेको घर-घरमा खानेपानीका धारा छन्, हामी कहाँ भएर पनि समस्या भोग्नु परेको छ, धेरै पटक माग गर्‍यौँ गाउँमा एक घर एक धारा चाहियो भने र तर कुनै पनि निकायले सुनेन्, अहिले एउटा धारोबाट १०-१२ घरकाले पानी पुर्‍याउनुपर्ने अवस्था छ ।’

उनी कुँडुले फेदीमा ७५ घरपरिवार रहेकोमा १०-११  मात्रै धारो रहेको बताउँछन् । खानेपानीका लागि छिमेकीसँग समय समयमा झगडासमेत हुने गरेको उनको भनाइ छ । गाउँमा जनसङ्ख्या पनि बढ्दै जाँदा पानीको स्रोत पनि सीमित बन्दै गएको उनको भनाइ छ  । 

फागन चैतको समयमा झनै बढी समस्या हुने उनले जानकारी दिए । ‘अब हिउँद लाग्यो, धारोमा गाग्रीका लाइन हुन्छन्, एक गाग्री पानीका लागि पालो नपाउँदा झगडा हुन्छ, पाइप खोसाखोस हुन्छ, यस्तो अवस्था छ, समस्या बुझ्न कसैले सकेनन्’ उनले भने ,’गाउँले मिलेर एक घर एक धारा बनाउनसक्ने अवस्था पनि छैन, सरकारले केही बजेट विनियोजन गरिदिए, एक-दुई वर्षमा सबैले सजिलोसँग पानी पाउने थिए ।’

निसीखोला गाउँपालिका-२ की कली सुनारले अर्नाकोटमा दुई दशकदेखिनै खानेपानीको चरम अभाव रहेको जनाउँदै अहिलेसम्म समाधान हुन नसकेको गुनासो पोखे। उनले यहाँका करिब दुई बीस बढी घर परिवारले आकाशे पानी तथा कुवा, पोखरीको भरपर्नु परेको सुनाए । 

वर्षातका समयमा आकाशे पानी संकलन गरेर हिउँदको आधा समय गुजारा कटाउने गरेको उनको भनाइ छ । ‘बर्खामा घ्याम्पोमा संकलन गरेको पानी डेढमहिना पनि पुग्दैन, लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकारनै मच्चिन्छ, गाउँका धनीमानी मान्छेहरू बसाइँ सरेर पानी भएको ठाउँमा गए, यहाँ त अहिले गरिब दुःखी मात्रै छन्’ उनले भने- ‘धेरै ठाउँमा हारगुहार गर्‍यौँ पानीका लागि तर सुनुवाइ भएन, हामी त बसाइँ सरेर अन्तै जान सक्ने अवस्था पनि छैन, यही दुःख पाएर बसेका छौँ ।’

यहाँका अधिकांश स्थानीयवासी पानी बोक्नको लागि दुई घण्टा हिँडेर बसुन्धरा, बाँसखोलाबराहथान जान बाध्य रहेको अर्का स्थानीय कुलबहादुर विकले बताए। विकले २० वर्ष अगाडिसम्म खानेपानीको राम्रो व्यवस्था भए पनि जनसङ्ख्या बढ्दै गएपछि पानीको अभाव भएको सुनाउँछन् ।

‘हामी तन्नेरी हुँदा त घर नजिकै धारो थियो, तीन-चार घरले उपयोग गथ्र्यौँ, लाइन बस्नु पर्दैनथ्यो, गाउँमा मान्छेहरु पनि कम थिए, मुहानबाट पानी पर्याप्त आउँथ्यो, अहिले मुहान पनि सुके मान्छे थपिँदै गए, पानी हाहाकार हुँदै गयो’ उनले भने ‘पानीको समस्या समाधानका लागि जिल्लामा पुग्यौँ, सरकारलाई दुःख बिसायौँ तर समस्या जस्ताको त्यस्तै छ ।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख ईश्वरीप्रसाद शर्माले प्रदेश र संघीय सरकारको लक्ष्य सबै नागरिकमा सहज खानेपानीको पहुँच पुर्‍याउने रहेको हुँदा आफूहरूले सोही अनुसार काम गरेको बताए । उनले अहिले धेरै ठाउँमा खानेपानी निर्माणका योजना सञ्चालनमा रहेको जनाउँदै आगामी वर्षसम्म धेरै समस्या समाधान हुने बताए । 

उनले योजनाका लागि सीमित बजेट आउने हुँदा समयमै सम्पन्न गर्न नसकिएको बताए । शर्माले भने– ‘बागलुङ जिल्लामा अहिले पनि धेरै बहुवर्षे योजना रहेका छन्, ती योजनाका लागि पर्याप्त बजेट विनियोजन हुनसकेको छैन, करोडका योजना हुन्छन्, थोरै लाखमा बजेट आउँछ, त्यसले गर्दा समयमा योजना सम्पन्न हुनसकेका छैनन्, यस कारण उपभोक्ता समस्यामा परिरहनु भएको छ ।’

उनका अनुसार यसवर्ष बागलुङमा एक सय ३८ खानेपानीका योजना परेका छन् । तीमध्ये प्रदेश सरकारबाट ९६ र संघीय सरकारबाट ४२  योजना परेका छन् । यी योजनाका लागि कूल २६ करोड ९२ लाख  बजेट विनियोजन भएको छ । कार्यालय प्रमुख शर्माले प्रदेश सरकारबाट रु १५ करोड ५२ लाख र संघीय सरकारबाट ११ करोड ४० लाख विनियोजन भएको जानकारी दिए। 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  २ : ५४ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको