पूर्वी नाकामा निगरानी बढेपछि घट्यो मानव तस्करी | Khabarhub Khabarhub

पूर्वी नाकामा निगरानी बढेपछि घट्यो मानव तस्करी


८ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा – पूर्वीनाका काँकड्भिट्टामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् ।

मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालको १ नं प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार हाल महिला तथा बालबालिकालाई अवैध श्रम र शोषणका लागि भारत लैजाने कार्यमा संलग्न गिरोहले काँकडभिट्टाको साटो भारतको विहार प्रदेशसँग जोडिएका नाका प्रयोग गर्न थालेका छन् ।

काँकडभिट्टा मानव बेचबिखनका लागि भारत लैजान प्रयोग हुँदै आएको पुरानो नाका हो । पश्चिम तथा पूर्वी नेपालका दर्जनौँ पहाडी जिल्लाका किशोरी तथा बालबालिकालाई आपराधिक गिरोहले विभिन्न प्रलोभनको बहानामा यही नाका पार गरेर भारतका सहरमा बेचबिखनका लागि पु¥याउँदै आएको थियो ।

“केही वर्षयता काँकडभिट्टा नाकामा सुरक्षाकर्मीको सहयोगमा माइती नेपाललगायत सङ्घसंस्थाले कडा निगरानी गर्न थालेपछि आपराधिक गिरोहले विहारसँग जोडिएका सीमावर्ती नाका प्रयोग गर्न थालेको सूचना पाएका छौँ,” माइती नेपालका प्रदेश संयोजक घिमिरेले भने, “हाम्रै निगरानीका कारण काँकडभिट्टा नाकाबाट मानव तस्करी नियन्त्रणभएको छ ।”

उनका अनुसार सन् २०२१ मा काँकडभिट्टा नाकापार हुन लागेका चार सय ६८ जनालाई सोधपुछ गर्दा जोखिममा परेका ५४ जनालाई घर फिर्ता पठाइएको थियो भने ६६ जनालाई सीमापार हुनबाट जोगाइएको थियो ।

सन् २०२२ को सोही अवधिमा नाकामा एक हजार ५८ जनालाई सोधपुछ गर्दा जोखिममा परेका ५० जनालाई घर फिर्ता पठाइएको र एक सय ३४ जनालाई सीमापार हुनबाट जोगाइएको उहाँले जानकारी दिए ।

गत वर्षको तुलनामा सन् २०२२ को अवधिमा उद्धार भएका पीडितको सङ्ख्यासमेत न्यून छ । सन् २०२१ मा २२ जना पीडितको उद्धार भएकामा सन् २०२२ को सोही अवधिमा एक जनाको मात्र उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

“उद्धार भएका पीडितको सङ्ख्या पनि निकै कम छ, यसले उद्धार गर्नुपर्ने अवस्थामा कमी आएको हो कि भन्ने सङ्केत गर्दछ,” घिमिरेले भने, “तर मानव बेचबिखनको अपराधमा नै धेरै कमी आएको हो कि भनेर भनिहाल्न सकिन्न, यस अपराधमा संलग्न गिरोहले काँकडभिट्टा नाकामा कडाइ भएका कारण विहारतिरका सीमावर्ती नाका प्रयोग गरिरहेको छ ।”

माइती नेपालले पूर्वीनाका काँकडभिट्टामा दुई दशक अघिदेखि मानव तस्करी रोक्ने उद्देश्यले प्रत्यक्ष निगरानी गर्दै आएको छ । नाकामा सो संस्थाले निगरानीका लागि कार्यालय राखेर टोली नै परिचालन गर्दै आएको छ ।

हाल बाहुनडाँगी नाका समेतमा माइती नेपालका कार्यकर्ता खटिने गरेका छन् भने काँकडभिट्टामै संस्थाले पीडितको सुरक्षित आश्रयका लागि आवासीय पुनःस्थापना गृह सञ्चालन गर्दै आएको छ ।

माइती नेपाल प्रदेश संयोजन कार्यालय काँकडभिट्टाले सन् २०२२ मा मानव बेचबिखनसम्बन्धी दुईवटा मुद्दा प्रहरीको सहयोगमा अदालतमा दर्ता गराएको छ भने ७६ जना मानिस हराएको निवेदन परेकामा २५ जना फेला पारेको छ ।

संस्थाको पहलमा दुईवटा बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिएको, घरेलु हिंसासम्बन्धी १८ वटा उजुरी आएको, राहदानी बनाउन जिल्ला प्रशासनमा आएका तीन हजार ५१ जना महिलालाई बेचबिखन जोखिमका विषयमा परामर्श दिइएको माइती नेपालले जनाएको छ ।

भारतको सिक्किम, पश्चिमबङ्गाल, आसाम, मेघालयलगायत विभिन्न प्रदेश जाने महत्वपूर्ण नाकाका रुपमा परिचित काँकडभिट्टामा हाल माइती नेपालले जस्तै टोली खटाएर सानाहात नेपाल, विश्व सेवाविस्तारलगायत आधा दर्जन संस्थाले मानव बेचबिखन विरुद्ध निगरानी बढाएका छन् ।

इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको गुल्मसमेतले अपराध नियन्त्रण र रोकथाम कार्यमा सघाउ पु¥याउँदै आएको हुँदा काँकडभिट्टा नाका मानव तस्करी धन्धामा संलग्नका लागि सहज छैन । यही कारण पछिल्ला दिनमा यस नाकाबाट मानव तस्करी घट्दो अवस्थामा पुगेको हो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  १० : ४२ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार