अडियो सुन्नुहोस्ः
स्थानीय तहको निर्वाचनका लागि आइतबारदेखि मनोनयन दर्ता सुरु हुने
निर्वाचन आयोगले स्थानीय तहको उम्मेद्वारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको र दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ–आफ्नो मनोनयन दर्ता गर्न आग्रह गरेको हो ।आयोगले आइतबार र सोमबार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ । कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोलाप्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएकाले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
निर्वाचनको तयारी तीव्रः संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्यान्वयनमा
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ । आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका उच्चस्तरका प्रतिनिधि रहेको सो केन्द्र आज आयोगको कार्यालय बहादुरभवनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुभारम्भ गरे । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी भएको निर्वाचन अनुगमन निर्देशिका र सुरक्षा निर्देशिकाबमोजिम गठित सो केन्द्रबाट नियमित अनुगमन, सूचना आदानप्रदान र निर्वाचन तयारीका क्रममा हुने समस्या तत्काल समाधान गर्ने प्रबन्ध मिलाइएको छ ।
जिल्लामा तालमेल नभएपछि सत्ता गठबन्धनका नेताहरू छलफलमा
स्थानीय तह निर्वाचनमा देशभरको चुनावी तालमेलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । केन्द्रबाटै महानगरपालिका र उपमहानगरपालिकाको तालमेलबारे टुंगो लगाए पनि विभिन्न जिल्लामा देखिएको समस्याबारे छलफल गर्न नेताहरू छलफलमा जुटेका हुन् । केहीबेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । जिल्लामा गठबन्धन दलहरूले गठबन्धन नगर्ने भन्ने निर्णय गर्न थालेपछि नेताहरूले त्यस्तो हकमा केन्द्रबाटै निर्णय गर्ने वा स्थानीय निर्णयलाई प्राथमिकता दिने भन्नेबारे दलहरूबीच मतभेद छ । नेकपा एकीकृत समाजवादीले केन्द्रबाटै विवाद भएका जिल्लामा गठबन्धन गर्नेबारे निर्णय गर्नुपर्ने माग गरेको छ ।
अमेरिकी सांसद र नेपाली सांसदबीच भेट
नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरूको प्रतिनिधिमण्डल र नेपाली सांसदबीच दुईपक्षीय सम्बन्धमा विषयमा छलफल भएको छ । काठमाडौंको एक होटलमा आज भएको छलफलका क्रममा अमेरिकी संसद् सदस्यहरूले नेपालमा समृद्धिको आधार गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । नेपालको जनजिविका र समावेशी विकासमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल–अमेरिका संसदीय समूहका संयोजक डा मिनेन्द्र रिजालले जानकारी दिए । जलवायु परिवर्तनको जोखिमसँग जुध्न र त्यसको जोखिम कम गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।
प्रधानमन्त्री देउवा र अमेरिकी सांसदको टोलीबीच भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरूको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उहाँको सरकारी निवास बालुवाटारमा भेट गरेको हो । सो अवसरमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच बहुआयामिक नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचार–विमर्श भएको परराष्ट मन्त्रालयले जनाएको छ । नेपाल–अमेरिका मैत्री, दुवै देशका सरकार एवं ससंद्का साथै जनताबीच साझेदारी र सहकार्य प्रवर्द्धनबारेमा पनि विचार आदानप्रदान भएको थियो । प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच जलवायु परिवर्तनजस्ता विश्वव्यापी विषयहरूमा छलफल भएको थियो । आजै परराष्टमन्त्री डा. नारायण खड्कासँग पनि सो प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक जेनेभा प्रस्थान
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीन दिने भ्रमण पूरा गरी आज जेनेभातर्फ प्रस्थान गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा प्रस्थान गरेका छन् । भ्रमणका क्रममा अधानेमसहितको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।
गठबन्धनबीच सन्तोषजनक तालमेल हुन नसकेको नेकपा एसका अध्यक्ष नेपालको भनाइ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरपालिकाबाहेकमा स्थानीय तहमा गठबन्धनबीच सन्तोषजनक तालमेल हुन नसकेको बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गबठन्धनको तालमेलमा जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताए । उनले देशैभर आफ्नो पार्टीको संजाल र संगठन रहेको भन्दै हरेक पालिकामा कुनै न कुनै पदमा सहभागिता गराउनुपर्ने दावी गरे । महानगर र उपमहानगरपालिकामा गठबन्धनबीच भएको तालमेल भने निकै राम्रो भएको उनको भनाई छ । उनले यसअघि एमालेले जितेको स्थानमा पनि एकीकृत समाजवादीको दावी रहेपनि अन्य दलभित्र आकांक्षी बढेपछि समस्या बढेको बताए ।
नेकपा एसले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगायो
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ । वैशाख ३० गते हुने निर्वाचनको लागि भोलिबाट मनोनयन दर्ता सुरु हुने भएकाले समाजवादीले उम्मेदवारको टुंगो लगाएको हो । पाँच दलीय गठबन्धनबाट समाजवादीले पोखरा महानगरको मेयर र काठमाडौं महानगरको उपमेयर पाएको छ भने हेटौंडा उपमहानगरको मेयरसहित इटहरी, बुटवल र तुलसीपुरको उपमेयर भाग पाएको छ । महानगरतर्फ पोखराको मेयरमा धनराज आचार्य र काठमाडौंको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यस्तै, हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामा, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिकाको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
माओवादीले टुङ्ग्यायो महानगर र उपमहानगरका उम्मेदवार
सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १÷१ जना सहित उपमहानगरमा मेयर र उपमेयर २÷२ जना भागबण्डामा पाएको थियो । माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै कमओवादीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी चयन गरिएको छ । धरानको उपमेयरमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु आकाङ्क्षी छन् ।
नेपालगञ्जमा माओवादीले एक्लै चुनाव लड्ने
माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकामा मेयर/उपमेयरसहित नगरका २३ वटै वडामा आफ्ना उम्मेदवार उठाउने घोषणा गरेको छ । आज नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र बाँकेका अध्यक्ष रतन शाहीले कांग्रेस र जसपा केन्द्रीय गठबन्धनको मुल स्प्रीटविपरीत चलेकाले मेयर, उपमेयर तथा २३ वटै वडामा उम्मेदवारी दिने निर्णय गरिएको घोषणा गरे । केन्द्रीय गठबन्धनले मेयरमा कांग्रेस र उपमेयरमा जनता समाजवादीका उम्मेदवारलाई जिताउने सहमति गरेको थियो । तर, वडा भागबण्डामा गठबन्धन दलहरूबीच सहमति नजुटेपछि माओवादी केन्द्र एक्लै चुनाव लड्ने भएको हो । माओवादीले नगरका १२ वडा दाबी गर्दैआएको छ ।
धनकुटामा गठबन्धनको एउटै चुनाव चिन्ह
सत्ता गठबन्धनले धनकुटाका ७ वटै स्थानीय तहबाट एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन्।३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा माओवादी केन्द्र र नेपाली कांग्रेसले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन्। नेताहरूका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा छलफल भइरहेको छ। प्रमुख वा उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षमा आ–आफ्नै चुनाव चिन्हबाट लड्ने र वडामा अध्यक्षदेखि सदस्यहरू जुनसुकै दलबाट भए पनि एउटै चुनाव चिन्हबाट लड्ने तयारी भएको जनाइएको छ।नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईका अनुसार गठबन्धनको बैठकमा एउटै चुनाव चिन्हबाट उम्मेदवार बन्ने विषयमा छलफल भइसकेको छ।
उत्पादनमूलक कार्यमा युवाहरूको सक्रिय सहभागिता हुनुपर्छ : उर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उत्पादनमूलक कार्यमा युवाहरूको सक्रिय सहभागिता हुनुपर्ने बताएकी छन्। नेपाल युवा उद्यमी मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको आठौँ महिला उद्यमी सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री भुसालले नयाँ पुस्तालाई उत्पादनसँग जोड्नका लागि युवा उद्यमीको संस्था ७५३ वटै स्थानीय तहमा विस्तार गर्नुपर्ने समेत बताइन् । उनले आयात निरुत्साहित र निर्यात प्रवर्द्धन गर्न उत्पादन विस्तार गर्नुपर्ने र त्यसका लागि देशभरका युवा उत्पादनमा संलग्न हुनुपर्ने बताइन् । मन्त्री भुसालले कृषि उत्पादनमा युवा पुस्ता आकर्षित हुँदा नै देश समृद्धिको बाटोमा अगाडि बढ्ने भन्दै युवा पुस्तालाई सङ्गठित गरेर उद्यममा प्रेरित गर्नुपर्ने भनाई राखिन् ।
पछिल्लो २४ घण्टामा नेपालमा १८ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ९१ पिसिआर परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण देखिएको हो । १ हजार २ सय ५६ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ९८ जना निको भएका छन् । हाल नेपालमा २ सय ८३ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १२ औँ वार्षिकोत्सव मनायो
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शनिबार आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको छ । प्रतिष्ठानले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा गीत , कविता वाचन गरिएको थियो भने नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरिएको थियो ।जसअनुसार सङ्गीत विधामा वरिष्ठ सङ्गीतकर्मी मोहन कृष्ण कार्की ढली, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक विणा जोशी राजभण्डारी, नाटक विधामा वरिष्ठ नाटककार मनबहादुर मुखियालाई पुरस्कृत गरिने भएको छ ।
कांग्रेस नेता तथा पूर्वसांसद आचार्यको निधन
कांग्रेस नेता तथा पूर्व सांसद विष्णुराज आचार्यको ७४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा आज उहाँको निधन भएको हो । आचार्य २०४८ र ०५१ मा भएको प्रतिनिधि सभा सदस्य पदमा निर्वाचन कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । ०५३ मा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला संसदीय दलको नेता हुँदा उनी सचिव थिए । उनी पछिल्लो समय मधुमेह रोगबाट ग्रसित थिए । बुद्धभूमि नगरपालिका–९ स्थायी घर भएका आचार्यका ३ छोरी र श्रीमती छन् ।
आइतबारदेखि ठेकेदारहरूले देशभर काम रोक्ने
निर्माण व्यवसायी (ठेकेदारहरू) ले भोलिदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने महासंघका अध्यक्ष रवि सिंहले बताए । यद्यपि अत्यावश्यक कामले भने निरन्तरता पाउने जनाइएको छ । नेपाल निर्माण व्यवसायी महासंघले हिजै पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो । केही दिनयता सार्वजनिक खरिद अनुगमन र बीमा समितिमा धर्ना दिँदै आएको महासंघले अब भने निर्माण कार्य नै रोक्न लागेको हो ।
सिन्धुलीमा करोड मूल्य बराबरको काठ बरामद
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाबाट निकासी हुन लागेको ठूलो परिमाणको अवैध गोलिया काठ प्रहरीले बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका–१ स्थित बागमती नदीको किनार घाट गद्दीमा रहेको साल तथा अन्य जातको अवैध गोलिया काठ प्रहरीले बरामद गरेको हो । ट्रकमा लोड गर्दै गरेको अवस्थामा फेला पारी २ हजार २९७ क्यूफिट गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सालको १८० थान गोलिया १५४५ क्यूफिट र अन्य जातको ७१ थान गोलिया ७९१ क्यूफिट बरामद भएको सिन्धुलीका प्रहरी नायब उपरीक्षक विमल राज कँडेलले जानकारी दिए ।
लार्केमा कोरियन नागरिक मृत फेला
मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न हिंडेका एक जना कोरियन नागरिक मृत फेला परेका छन् । प्रहरीका अनुसार दक्षिण कोरियाका ६४ वर्षीय डोङ्की जंग मृत फेला परेका हुन् । चुमनुब्री गाउँपालिका–१ धर्मशालास्थित लार्के होटलमा आज दिउँसो उनी मृत फेला परेको गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । काठमाडौंको सलोम र्याफ्टिङ ट्रेकिङ मार्फत उनी लार्के पास गर्न आएका थिए । उनको शव पोष्टमार्टमा लागि हेलिकप्टरमार्फत शिक्षण अस्पताल काठमाडौं लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको लामिछानेले बताए ।
सप्तरीमा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्युु
सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन् ।
प्रतिक्रिया