नेकपा (एमाले) मा कुनैबेला केशव स्थापित वामदेव गौतमका अति प्रिय थिए । यस बीचमा शाही कालमा उनी ज्ञानेन्द्र शाहसँग नजिक भए । शान्ति प्रक्रियापछि माओवादीतिर ढल्किए । माओवादीमा टिक्न नसकेपछि संघीय समाजवादी फोरमतिर लागे ।
अस्थिर र कतै पनि टिक्न नसक्ने स्वभावका कारण उनको राजनीतिक विश्वसनीयता धरापमा परिसकेको थियो । तैपनि पुरानो जुझारुपन ख्याल गर्दै एमाले अध्यक्ष ओलीले उनलाई पुनः एमालेमा स्वागत गरेका थिए ।
वि.सं. २०७४ को चुनावपछि उनलाई ओलीले नै प्रदेश नम्बर ३ को मन्त्री बनाएका थिए । तर, मुख्यमन्त्रीलाई अपशब्द बोलेको भन्दै एमालेले नै उनलाई मन्त्रीबाट बर्खास्त गरेको थियो । बारम्बार एमाले छाड्ने र फेरि एमालेमै फर्किने ढुलमुले चरित्रका स्थापितलाई एमालेले पच्चीस वर्षपछि पुनः काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार घोषणा गरेको छ ।
काठमाडौंमा पच्चीस वर्षको अवधिमा विकसित नयाँ शहर र बस्ती अनि थपिएका नयाँ मतदातामाझ स्थापितको पुरानो ओजको कुनै प्रभाव देखिँदैन । अहिले पनि उनको एउटै विशेषता भनेको सुन्दा मजा लाग्ने, अपत्यारिलो र असम्भव विकासको गफ दिनु नै हो ।
स्थापितलाई मेयर खडा गर्नु एमालेको निरीह बाध्यता हो । निवर्तमान मेयर विद्या सुन्दर शाक्यको छवि राम्रो छैन । आफ्नो कार्यकालमा विवादमा मात्र आइरहने र विकास निर्माणमा आफ्नै वाचा पूरा गर्न नसक्ने शाक्यप्रति काठमाडौंवासी आक्रोशित छन् । शाक्य बाहेक अर्को आशलाग्दो र जित्न सक्ने उम्मेदवार एमालेमा कोही थिएन ।
करीब करीब हार्ने मनस्थितिमा एमालेले केशव स्थापितलाई उम्मेदवार बनाउनुको उद्देश्य हो, स्थापित पच्चीस वर्षअघि मेयर हुँदाको साखको च्याँखे थाप्नु । एमालेलाई हेक्का छ, स्थापित स्वयं पनि उम्दा उम्मेदवार हैनन् । तर, ‘मजबुरीका नाम मनमोहन अधिकारी’ भने झैँ एमालेसमक्ष स्थापितको हाटहुट र गफाडी शैलीको आड लिनुको विकल्प पनि थिएन ।
यद्यपि, काठमाडौंमा २५ वर्षको अवधिमा विकसित नयाँ शहर र बस्ती अनि थपिएका नयाँ मतदातामाझ स्थापितको पुरानो ओजको कुनै प्रभाव देखिँदैन । वि.सं. २०७० को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा एमाले उम्मेदवार योगेश भट्टराईलाई हराउने भूमिका निर्वाह गरेकोमा अझै पनि एमालेभित्र उनी आलोचित छन् । बस, एउटै विशेषता भनेको सुन्दा मजा लाग्ने, अपत्यारिलो र असम्भव विकासको गफ दिनु नै हो ।
घडीको पेन्डुलम झैँ
कुनैबेला केशव स्थापित कम्युनिष्ट युवामाझ ‘हिरो’ नै थिए । आकर्षक भाषण शैली, युवा परिचालन र व्यवस्थापन कौशल अनि विरोधीविरुद्ध प्रभावकारी प्रहारका कारण स्थापित कम्युनिष्ट नेताका प्यारा अगुवा कार्यकर्ता थिए ।
वि.सं. २०४७ सालमा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको गठन भयो । प्ररायुसंघको संस्थापक अध्यक्ष केपी शर्मा ओली र महासचिव स्थापित थिए । ओली अध्यक्ष भए पनि युवामाझ स्थापित नै बढी परिचित र लोकप्रिय थिए ।
उर्जाशील, सक्रिय र केही हदसम्म भिजन पनि दिनसक्ने केशव स्थापित आफ्नै अस्थिर स्वभावका कारण पार्टी र राष्ट्रिय राजनीतिमा विस्थापित हुँदै गएको देखिन्छ । स्थापितका समकालीन नेताहरु पार्टीको उच्च तह र सरकारमा मन्त्री भइसक्दा उनी भने कहिले यता कहिले उता पेन्डुलम झैँ हल्लिइरहे ।
वि.सं. २०५१ सालमा एमालेको नौ महिने मनमोहन अधिकारीको सरकारका पालामा स्थापितलाई राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव बनाइएको थियो । राखेपमा हुँदा उनले भर्खर खुला राजनीतिमा आएको एमालेमा युवा तथा खेलाडी वर्गलाई संगठित गर्न प्रभावकारी भूमिका निर्वाह गरेका थिए । यसैको पुरस्कार स्वरुप एमालेले वि.सं. २०५४ सालको स्थानीय चुनावमा उनलाई काठमाडौं महानगरपालिकाको मेयर बनायो ।
काठमाडौंको मेयर हुँदा उनले केही यस्ता काम गरे, जसले अहिले पनि उनको प्रशंसा हुने गर्छ । अहिले माइतीघर मण्डला रहेको खाली स्थानमा त्यसबेला सडक अतिक्रमण गरेर निर्माण गरिएका पक्की घर र पसलहरु थिए । स्थापितले साहस झिकेरै ती घरहरु भत्काएर मण्डला निर्माण गरे । स्थापितले नै हो, कालिमाटी कुलेश्वर सडक खण्ड विस्तार गरेको ।
जसै एमाले विभाजित भयो, स्थापित वामदेव गौतम र सीपी मैनालीले स्थापना गरेको नेकपा(माले) तिर लागे । एमाले र मालेको त्यो झगडाका बेला एमालेले ‘देशका टप टेन भ्रष्टाचारी’ भन्दै सार्वजनिक गरेको सूचीमा उनको पनि नाम थियो । त्यसपछि भने स्थापितको राजनीति ‘ओरालो लागेको हरिणको चाल’ स्तै भयो ।
लामो समय कम्युनिष्ट आन्दोलनमा लागेका स्थापित २०६० सालमा राजा ज्ञानेन्द्रबाट काठमाडौंको मनोनित मेयर बनेपछि झन अलोकप्रिय हुँदै गए । त्यसैबेला माओवादीसँग पनि उनको हिमचिम बढेको थियो । शाही मेयर भएर माओवादीका लागि ‘लजिस्टिक सामान’ सप्लाई गरेको आशंकामा उनलाई मेयरबाट हटाइएको थियो ।
एमालेमा ढोका बन्द भइसकेको थियो, दरबारले पनि घोक्रेठयाक लगाइसकेको थियो । राजनीतिक स्पेस खोज्दै स्थापित वि.सं. २००७ सालमै असान्दर्भिक भएर अस्थित्वहीन भइसकेको प्रजा परिषदको पुनर्गठनको चक्करमा लागे, जुन प्रयोगमा उनी सफल भएनन् ।
मिडियामा अन्तर्वार्ता दिएर अनेक तिलस्मी गफ दिन माहिर थिए । आफू पुनः मेयर भएमा पाँच वर्षमै काठमाडौंको कायापलट गरिदिने गफ दिइरहे । कहिले भैरव नृत्य गरेर त कहिले विपश्यना ध्यानमार्फत तत्वबोध भएको गफ दिएर उनी चर्चामा भने आइरहे ।
प्रज्ञा परिषदको फन्डा शान्त भएपछि स्थापित तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकट भए । स्थापितले ‘नयाँ नेपाल निर्माणको भिजन’ भन्दै अनेक हावादारी सपना अघि सारेका थिए, जसलाई डा. भट्टराईजस्ता तार्किक र वस्तुगत विश्लेषण गर्नसक्ने नेतालाई समेत भुलभुलैयामा पारिदियो ।
एक दिन डा. भट्टराईले बोलाएर स्थापितलाई ‘मुलुकमा आर्थिक क्रान्ति गर्न तपाईं र मेरो भिजन त ठयाक्कै मिल्दोरहेछ’ भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख बनाइदिए । जिम्मेवारी त पाए, तर गफ दिएजस्तो काम भने गरेनन् । आर्थिक स्वार्थलाई दिएर डा. भट्टराई पत्नी हिसिला यमीसँग खटपट सुरु भएपछि स्थापितलाई प्राधिकरण प्रमुखबाट हटाइयो ।
माओवादीले ‘किक आउट’ गरेपछि अब घुम्दै फिर्दै रुम्जाटार भनेझैं उनी पुरानै घर एमालेको शरणमा गए । वि.सं. २०७० को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उनी उम्मेदवार बन्ने चर्चा खुबै भयो । एमालेले योगेश भट्टराईलाई खडा गरेपछि टिकट नपाएको झोँकमा उनी संघीय समाजवादी फोरमबाट सोही क्षेत्रबाट उठे । त्यतिबेला योगेशलाई हराउने ‘कैंची उम्मेदवार’ भएका उनीप्रति काठमाडौंको एमालेजन क्रूद्ध थिए ।
उतिबेला चुनावलगत्तै उनी पुनः एमालेमा फर्केको भए पनि एमाले पंक्तिमै उनको छवि आलोचित छ । वि.सं. २०७४ मै मेयरको दाबी गरेका स्थापितलाई ओलीले अहिले आएर मेयरको उम्मेदवार बनाएका त छन्, तर पच्चीस वर्षअघिको जस्तो छवि भने स्थापितको पक्कै छैन । यस बीचमा उनी अनेक काण्डमा मुछिएका छन् ।
प्रदेश मन्त्रीबाट बर्खास्त
काठमाडौं महानगरपालिकामा मेयर हुँदा केही राम्रा काम गरेकै आधारमा एमालेले स्थापितलाई वि.सं. २०७४ को निर्वाचनपछि प्रदेश नम्बर ३ मा भौतिक पूर्वाधार तथा विकासमन्त्री बनाएको थियो । तर, ‘छुच्चो बोली’ कै कारण मुख्यमन्त्री डोरमणि पौडेलले स्थापितलाई बर्खास्त गरिदिए । मुलुकमा संघीयता लागू भएपछि प्रदेश मन्त्री बर्खास्त गर्नेसम्बन्धी संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख पहिलोपटक लागू भएको स्थापितमाथि नै हो ।
तात्कालीन मन्त्री स्थापित र मुख्यमन्त्री पौडेलबीच त्यसबेला प्रदेश मन्त्रिपरिषद्को बैठकमा चर्काचर्की पर्दा स्थापितले पौडेलमाथि अपशब्द प्रयोग गरेका थिए । मुख्यमन्त्री पौडेलले बैठकमा बोल्ने क्रममा मन्त्री स्थापितले सम्हालेको मन्त्रालयको गति सुस्त भएको भन्नासाथ आक्रोशित स्थापितले नेपाली शब्दमा भएभरका यहाँ उल्लेख गर्न नमिल्ने सबै अपशब्द बोलेका थिए । त्यसको केही दिनपछि नै स्थापितलाई मन्त्रीबाट बर्खास्त गरिएको थियो ।
हाटहुट गर्ने, गफ दिने, कसैलाई नगन्ने र अरुको यथोचित सम्मानसमेत गर्न नसक्ने पुरानै पारा झिकेपछि एमालेसमेत उनीसँग आजित भइसकेको थियो । प्रदेश मन्त्री हुँदा उनले खासै प्रभावकारी भूमिका निर्वाह गर्न सकेका थिएनन् । यस्तैमा मुख्यमन्त्रीलाई नै जथाभावी गाली गर्न थालेपछि उनलाई मन्त्रीबाट बर्खास्त गर्न सहज भएको थियो ।
यौन उत्पीडनको आरोप
‘नेपाली समाजमा अझै पनि आफ्नो शक्ति र पदको दुरुपयोग गर्ने व्यभिचारी छन् । १५ वर्ष भयो त्यो घटना घटेको । तैपनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन् । मलाई थाहा छ, दर्जन भन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् । कति त मेरो फेसबुकको लिस्टमा पनि छन् । हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो ।’
वि.सं. २०७५ कार्तिक ४ मा महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापतिले प्रदेश नम्बर ३ का तत्कालीन मन्त्री केशव स्थापितमाथि सामाजिक संजालमार्फत यस्तो आक्षेप लगाइ रहँदा नेपालमा पनि ‘मिटू अभियान’ प्रारम्भ भइसकेको थियो । रश्मीलाले फेसबुकमा ‘कतै घुम्न जाने र क्वालिटी टाइम बिताउने स्थापितको प्रस्ताव अस्वीकार गर्दा जागीरबाटै निकालिनु परेको’ उल्लेख गरेकी थिइन् ।
रश्मीलाको यो खुलासापछि स्थापितको चरित्रलाई लिएर व्यापक प्रश्नहरु उठे । मन्त्री स्थापितले यसलाई ‘आफ्नो बदनाम गर्ने षडयन्त्र’ बताएका थिए भने पूर्वमेयरको बचाउमा काठमाडौं महानगरपालिका नै अघि सरेको थियो । महानगरपालिकाले रश्मीला प्रजापतिले नै अनियमितता गरेको र कर्मचारीलाई अभद्र व्यवहार गरेको मात्र भनेन, स्थापितमाथि लगाइएको यौन उत्पीडनको आरोप नै भ्रमपूर्ण भएको भन्दै विज्ञप्ति जारी गरेर चोख्याउने कोशिश गरेको थियो ।
स्थापितमाथि यौन उत्पीडनको आरोप रश्मीलाको मात्र थिएन । पत्रकार उज्जला महर्जनले पनि त्यसैबेला सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘अंग्रेजी दैनिक रिपब्लिकामा कार्यरत रहँदा स्थापितसँग अन्तर्वार्ता लिएकी थिएँ । अन्तर्वार्ता लिएर फर्केको अर्को साँझ स्थापितले मलाई फोन गरेर साथी बन्ने प्रस्ताव राखे । जब साँझ पथ्र्यो, स्थापित मलाई फोन गरिरहन थाले । एक/दुई पटक त उठाएँ, तर पछि बेवास्ता गरेँ । उनको फोन उठाउन छाडेँ ।’
महानगरपालिकाकी पूर्व कर्मचारी रश्मीला र पत्रकार उज्जलाबाट खुलेयाम यौन उत्पीडनको आरोप लागेका पूर्वमेयर स्थापितलाई नै नेकपा (एमाले) ले आसन्न स्थानीय निर्वाचनमा पुनः काठमाडौंको मेयर उम्मेदवार घोषणा गरेपछि तीन वर्षअघिको यो प्रसँग पुनः चर्चामा आएको हो ।
कुनै पनि दलले खडा गर्ने उम्मेदवारको विगत पृष्ठभूमि, आचरण र चरित्र खोतलखातल पार्नु मतदाताको अधिकार पनि हो । केशव स्थापितमाथिको यौन उत्पीडनको आरोपको कुनै कानूनी निरुपण नभए पनि दुई जना महिलाले हिम्मतका साथ यस्तो खुलासा गरेकाले स्थापितमा रत्तिभर कैफियत थिएन भन्न पनि सकिन्न ।
कुनै पनि महिलाले त्यसै यस्ता कुरा खुलासा गर्दैनन् । त्यसमाथि रश्मीला र उज्जलाजस्ता प्रतिष्ठित महिलाले यौन उत्पीडनजस्तो मुद्दा चर्चामा आउन या स्थापितसँग कुनै रिसइवी साँध्नकै लागि अघि सारेका होलान् भन्ने देखिँदैन ।
प्रतिक्रिया