काठमाडौँ– आउँदो शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट अन्तिम समयमा स्थगित गरिएको छ । अघिल्लो पटक झैँ यसपटक पनि अन्तिम समयमा विभिन्न बहाना बनाउँदै कार्यक्रम स्थगित गरिएको हो ।
स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र बर्सातको समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘द ब्याङ रिलोडेड टुर’ यस अघि पनि गर्ने भनिएता पनि स्थगित हुँदै आइरहेको छ । टिकट सोचेअनुसारै नहुनु नै कार्यक्रम सार्ने कारण भएको कार्यक्रमसँग जोडिएको सदस्यले बताएका छन् ।
आयोजकले ज्याकलिन फर्नान्डेजलाई पनि कार्यक्रम रद्द गर्नुपर्ने कारणको रुपमा व्याख्या गरेको छ । केही दिनअघि उनले नेपाल आउन अनुमति दिन गरेको आग्रह अदालतले खारेज गरिदिएको थियो । नेपालमा भने ज्याकलिनको फोटो राखेर टिकट बिक्री गरिएकाले भोलि यसमा मुद्दा पर्ने सम्भावनाका कारण पनि आयोजकले कार्यक्रम सार्न चाहेको स्रोतले बतायो ।
टुरका लागि सलमानसँगै सोनाक्षी सिन्हा, ज्याकलिन, प्रभु देवा, साइ मान्जरेकर, गुरु रान्धावा आदि कलाकार भारतबाट आउने बताइएको थियो ।
प्रतिक्रिया