आज जेठ १०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे २४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
अडियो सुन्नुहोस्ः
सेना परिचालन गरेर भएपनि ताइवानको रक्षा गर्ने अमेरिकी राष्ट्रपतिको बाचा
अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि आक्रमण भए सेना परिचालन गरेरै भएपनि जोगाउने बाचा गरेका छन् । साथै उनले ताइवानका विषयमा चीन ‘खतरासँग जिस्किरहेको’ टिप्पणी गरे । एसिया भ्रमणमा रहेका बाइडेनले जापानको राजधानी टोकियोमा त्यहाँका प्रधानमन्त्री फुमियो किशिदासँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् ।
ताइवानमाथि चीनको सम्भावित आक्रमणलाई हाल पूर्वी युरोपमा जारी युक्रेनमाथि रुसी आक्रमणसँग जोड्दै पछिल्लो समय चीनले ताइवानको हवाइ क्षेत्रमा आफ्नो उपस्थिती बढाएर खतरासँग जिस्किरहेको चेतावनी दिएका हुन् ।उनले भने– ‘मेरो अपेक्षा यसो (ताइवानमाथि चिनियाँ आक्रमण) हुँदैन भन्ने हो, यसको प्रयास पनि गरिनेछैन ।’त्यसपछि उनलाई ‘अमेरिकाले सेना परिचालन गरेरै भएपनि ताइवानको रक्षा गर्छ ?’ भन्ने प्रश्न सोधिएको बीबीसीले जनाएको छ । जवाफमा उनले ‘हो, यो हामीले जाहेर गरेको प्रतिबद्धता हो ।’ बताएको बाइडेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
‘ताइवानलाई बल प्रयोग गरी कब्जा गर्न सकिन्छ भन्ने विचार वास्तवमा उचित छैन । यसले पूरै क्षेत्रलाई अस्तव्यस्त बनाइदिन्छ र युक्रेनमा भइरहेको जस्तै हुन्छ ।’ उनले भने ।यता अमेरिकी प्रशासन ह्वाइट हाउसले भने अमेरिकी राष्ट्रपतिले जे जस्तो टिप्पणी गरेपनि अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको छ ।चीनले ताइवानलाई छुट्टिएर गएको एउटा प्रान्तको रुपमा हेर्दै आएको छ । चीनले ताइवानलाई मुख्य भूमिको नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न सक्ने विकल्पलाई खुला राखेको छ ।
सैद्धान्तिक रुपमा अमेरिकाले ताइवानलाई सार्वभौम ‘राष्ट्र’ को मान्यता दिएको छैन । यद्यपि अमेरिकाले स्वतन्त्रताको रक्षाका लागि ताइवानलाई हतियार आपूर्ति गराउँदै आएको छ । बाइडेनले टोकियोमा पत्रकार सम्मेलनमा टिप्पणी गर्नुअघि ताइवानी मामिलामा अमेरिकी नीतिमा ‘परिवर्तन नआएको’ बताएका थिए । यद्यपि पछिल्ला केही महिनायता बाइडेनले दुई पटक सेना परिचालन गरेरै भएपनि ताइवानको रक्षा गर्ने बताइसकेको बीबीसीले जनाएको छ ।
क्यानाडामा आँधीबाट १० जनाको मृत्यु
क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानाडाको ओन्टारियो र कबेकमा आँधी आएको बताइएको छ ।
सो आँधीबाट १० जनाको ज्यान गएको क्यानाडाका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रति घन्टा १२० किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीमा परेर भौतिक संरचनाहरू पनि भत्किएका छन् । अधिकारीहरूले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ हजार मानिसहरको घरमा विद्युत आपूर्ति बन्द भएको छ । क्यानाडामा सबैभन्दा धेरै जनसंख्या भएको शहर मानिने ओन्टारियोमा आँधीले रूखहरू ढालेको छ भने विद्युत आपूर्तिमा पनि क्षति पुर्याएको बताइएको छ ।
ओन्टारियोमा विद्युत आपूर्ति बन्द हुँदा शहरका ३ लाख ८० हजार मानिसहर अँध्यारोमा बस्न बाध्य छन् । आँधीका कारण जनजीवन नराम्ररी प्रभावित भएको बताइएको छ । त्यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति ठूलो असर पारेको बताइएको छ ।
इरानमा निर्माणाधीन भवन भत्किँदा १० जनाको मृत्यु
दक्षिणपश्चिम इरानमा एउटा निर्माणाधीन भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । इरानको खुजेस्तान प्रान्तको राजधानीमा भएको घटनामा अरु करिब ८० जना भग्नावशेषमा फसेका छन् ।
खुजेस्तान प्रान्तको राजधानी अबदानमा अवस्थित १० तले मेट्रोपोल भवनको केही भाग भत्किँदा उक्त दुर्घटना भएको सरकारी टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ । राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले जनाएअनुसार कम्तीमा चार जनाको ज्यान गएको छ र अरु २१ जना घाइते भएका छन् । रेड क्रिसेन्टको क्षेत्रीय शाखाका अनुसार भग्नावशेषमुनि कम्तीमा ८० जना मानिस फसेका छन् ।
उक्त भवन अबदानको व्यस्त सडकमा अवस्थित छ जहाँ व्यावसायिक, चिकित्सा र अन्य कार्यालय भवनहरू सञ्चालित छन् । भवन भत्कनुको कारण बारे अनुसन्धान भइरहेको छ ।
युद्ध अन्त्य गर्ने विषयमा पुटिनसँग भेटवार्ता गर्न चाहेको जेलेन्स्कीको भनाइ
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन् ।डाभोसमा जारी विश्व आर्थिक मञ्चको सम्मेलनलाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै रुसी सेनाले सर्वसाधारणलाई गर्ने व्यवहारका कारण वार्ताको व्यवस्था गर्नु झनै कठिन भएको बताए। रुसले सर्वसाधारणलाई निशाना नबनाएको बरु सैन्य क्षमतालाई हस गर्न कारबाही गरिएको दाबी गर्दै आएको छ ।
‘यस बारेमा रुसी संघका अध्यक्षले निर्णय गर्नुहुन्छ’, वार्तातर्फ संकेत गर्दै जेलेन्स्कीले दोभाषेमार्फत् भने, ‘यदि हामी व्यक्तिगत रुपमा उहाँबिना यो युद्ध समाप्त गर्ने कुरा गर्दै छौँ भने त्यो निर्णय लिन सकिँदैन ।’ युद्धको सुरुमा रूसी सेनाले कब्जा गरेको क्षेत्रहरू विशेषगरी राजधानी किभबाहिर रुसी सेनाको तर्फबाट भएका सामूहिक हत्याले वार्तालाई व्यवस्थित गर्न गाह्रो बनाएको जेलेन्स्कीले बताए ।
स्पेनमा महिलालाई हरेक महिना तीन दिन महिनावारी बिदा दिने तयारी
स्पेनले महिनावारीको कडा दुखाइबाट पीडित महिलाहरूको लागि मेडिकल बिदा दिने योजना बनाएको छ । संसद्मा प्रस्ताव गरिएको वृहत् प्रजननसम्बन्धी विधेयकमा महिलाहरूलाई महिनामा तीन दिन बिदा दिन सक्ने उल्लेख छ ।
सञ्चार माध्यममा चुहावट भएको सो मस्यौदाबारे संसद्मा छलफल भइरहेको छ । विद्येयक पारित भएमा यस्तो प्रावधान कायम गर्ने स्पेन युरोपमै पहिलो देश हुनेछ । विश्वका केही थोरै देशहरूमा मात्र यस्तो कानुन छ । वृहत प्रजनन स्वास्थ्य सुधार र गर्भपतनसम्बन्धी विस्तार गर्दै पछिल्लो कानुन ल्याउन लागिएको हो । पीडादायी महिनावारी अवधिको लागि तीन दिनको बिरामी बिदा डाक्टरको सिफारिसमा अनुमति दिइनेछ । तीव्र वा असक्षम पीडाको लागि पाँच दिनसम्म विस्तार गर्न सकिनेछ । तर, हल्का पीडा भोग्नेहरूलाई यो नियम लागू हुने अपेक्षा गरिएको छैन ।
सो मस्यौदा महिनावारीलाई स्वास्थ्य अवस्थाको रूपमा व्यवहार गर्ने फराकिलो दृष्टिकोणको एउटा हिस्सा बताइएको स्पेनी अखबार एल पाइसले जनाएको छ । ‘पीडा सहेर काममा जानुपर्ने दिनहरू सकिए ।’ स्पेनकी समानता मन्त्री इरेन मोन्टेरोलाई उद्धृत गर्दै युरोन्युजले जनाएको छ । प्रस्तावित मस्यौदामा बच्चा जन्माउनुअघि विस्तारित तलबी मातृत्व बिदा र गर्भपतन कानूनमा परिवर्तनहरू पनि समावेश छन् । त्यस्तै, १६ देखि १७ वर्षका किशोरीले अभिभावकको अनुमतिबिना गर्भपतन गर्न पाउने प्रस्ताव गरिएको छ ।
नाइजेरियामा बन्दुकधारी लडाकुले आक्रमण गर्दा ३० जना बेपत्ता
अफ्रिकी मुलुक नाइजेरियाको सुदूर उत्तर पूर्वी बोर्नो राज्यमा हतियारधारी लडाकुले आक्रमण गर्दा ३० जना बेपत्ता भएका छन् । बोर्नो राज्यको रन शहरमा मोटरसाइकल चढेर आएका बन्दुकधारीले आक्रमण गरेको बीबीसीले जनाएको छ ।
पीडितहरू दाउरा खोज्न झाडीतिर गएका बेला बन्दुकधारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । दाउरा खोज्न गएका केही मानिसहरू भने बन्दुकधारीको आक्रमणबाट बाँच्न सफल भएको बीबीसीले जनाएको छ । बाँच्न सफल केहीलाई गोली लागेको जनाइएको छ । घटनामा दर्जनौं मानिसहरूको अपहरण वा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । आक्रमणमा कुन समूहको हात छ भन्ने स्पष्ट नभएपनि सो क्षेत्रमा आतङ्ककारी संगठन बोको हराम र अन्य हिंसात्मक समूहहरू सक्रिय रहेको बीबीसीले जनाएको छ ।
घटनाबारे नाइजेरियाको सुरक्षा फौजले कुनै टिप्पणी गरिसकेको छैन ।
युद्ध अपराधमा दोषी पाइएका रुसी सैनिकलाई युक्रेनमा आजीवन कारावासको सजाय
युक्रेनमा एकजना रुसी सैनिकलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाइएको छ । राजधानी किभमा रहेको अदालतले पक्राउ परेका रुसी सैनिक सार्जेन्ट भादिम सिसिमारिनलाई युद्ध अपराधका लागि आजीवन कारावासको सजाय सुनाएको हो ।
उनीमाथि गत फेब्रुअरी २८ मा चुपाखिभ्का गाउँमा ६२ वर्षे ओलेक्साण्डर शेलिपोभको हत्या गरी युद्ध अपराध गरेको अभियोग लागेको थियो । उक्त अभियोगमा दोषी ठहर गर्दै अदालतले आजीवन कारावासको सजाय सुनाएको बीबीसीले जनाएको छ । सिसिमरिनले आफूले हत्या गरेको स्वीकार गरेपनि आफूलाई कसैले हत्या गर्न निर्देशन दिएको बयान दिएका थिए । साथै उनले हत्या गरिएका शेलिपोभकी विधवासँग पनि माफी मागेको जनाइएको छ ।
उनका वकिलले छोटो सजायका लागि पुनरावेदन गर्ने जनाएका छन् ।युक्रेनले रुसी सैनिकलाई युद्ध अपराधमा दोषी ठहर गरी सजाय सुनाएको यो पहिलो घटना हो । यस घटनाले युक्रेनमा जारी रुसी आक्रमणमा न्यायिक नजीर स्थापना गर्न सक्ने बीबीसीले जनाएको छ ।
रुसले आफ्ना सैनिकले युक्रेनमा कुनै पनि युद्ध अपराधमा संलग्न नरहेको बताउँदै आएको छ । तर, बीबीसीका अनुसार युक्रेनी पक्षले भने ११ हजार भन्दा धेरै अपराधहरू भएको बताउँदै आएको छ ।
युक्रेनमा जारी संकट विश्वव्यापी विषय भएको बाइडेनको भनाइ
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा जारी संकट विश्वव्यापी विषय भएको बताएका छन् । जापानको राजधानी टोकियोमा जारी चार मुलुकको सुरक्षा समूह ‘क्वाड’ को बैठकमा बोल्दै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी संकट विश्वव्यापी विषय भएको बताएका हुन् ।
उनले यस सङ्कटले अन्तर्राष्ट्रिय व्यवस्था, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई कायम राख्नुको महत्व बढाएको समेत टिप्पणी गरे । ‘यो युरोपेली विषयभन्दा ठूलो हो । यो विश्वव्यापी विषय हो ।’ अमेरिका, जापान, अष्ट्रेलिया र भारत सम्मिलित क्वाडको बैठकमा बाइडेनले भने । बाइडेनले अमेरिका हिन्द प्रशान्त क्षेत्रमा रहेका साझेदारहरूको साथमै रहनेमा जोड दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यसका साथै उनले खुला हिन्द प्रशान्त क्षेत्रको महत्वबारे पनि जानकारी दिएको जनाइएको छ ।
‘अन्तर्राष्ट्रिय कानून र मानव अधिकार विश्वको जुन सुकै ठाउँमा उल्लङ्घन भएपनि हामीले रक्षा गर्नुपर्छ ।’ बाइडेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
पेरिसस्थित कतारी दूतावासका सुरक्षा गार्डको हत्या
फ्रान्सको राजधानी पेरिसस्थित कतारी दूतावासमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ । फ्रान्सेली अभियोजनकर्तालाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएअनुसार अर्का एकजनासँग झगडा गर्दा उनको मृत्यु भएको हो ।
पेरिसबाट प्रकाशित हुने ल पेरिसनले जनाएअनुसार ३८ वर्षे मनोरोगीसँग झगडा परेपछि सुरक्षा गार्डको मृत्यु भएको हो । हत्या गर्ने समय संदिग्धले लागूऔषध कोकेनको सेवन गरेको जनाइएको छ । पेरिसस्थित अभियोजनकर्ताको कार्यालयले मध्य पेरिसको आठौँ जिल्लामा उनको मृत्यु भएको पुष्टि गरेको छ । कार्यालयका अनुसार घटनापछि एकजनालाई नियन्त्रणमा लिएर हत्याको आरोपमा अनुसन्धान अघि बढाइएको छ ।
‘सुरक्षा गार्डको मृत्युबारे अझै धेरै जानकारी आउन बाँकी छ ।’ अभियोजकलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । यसका साथै सुरक्षा गार्डमाथि कस्तो किसिमको हतियार प्रहार गरिएको थियो भन्ने पनि स्पष्ट नभइसकेको जनाइएको छ । यता पेरिसस्थित कतारी दूतावासले हत्यालाई ‘निन्दनीय तथा अन्यायपूर्ण’ भनेको छ । सामाजिक सञ्जाल ट्विटरमा विज्ञप्ति जारी गर्दै दूतावासले अनुसन्धानको नतिजा पर्खिने जनाएको छ । साथै दूतावासले मृतकका परिवारको निजी जीवनको पनि सम्मान गर्न आग्रह गरेको छ ।
प्रहरी स्रोतले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई जनाएअनुसार हालसम्मको विश्लेषणबाट ‘आतंकवाद’ को प्रेरणाले हिंसा भएकोजस्तो देखिन्न ।
युएईमा विस्फोट हुँदा दुई जनाको मृत्यु
संयुक्त अरब इमिरेट्स युएईको राजधानी अबु धाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।
यस घटनामा परी अन्य १२० जना घाइते भएका छन् । प्रारम्भिक समाचारकाअनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । यद्यपि दुई जनाको मृत्यु भएको प्रहरीले सामाजिक सञ्जाल ट्विटमार्फत जानकारी दिएको छ । विस्फोटपछिको आगलागी नियन्त्रणमा आउनुअघि छवटा भवन र धेरै पसलहरूमा आगलागी भएको समाचारमा बताइएको छ । क्षतिग्रस्त भवनहरू मध्ये चारलाई सुरक्षित रूपमा खाली गरिएको थियो । भवनहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म ती बासिन्दाहरूलाई अस्थायी आवास खोज्ने प्रयासहरू भइरहेका प्रहरीले जानकारी दिएको छ ।
पहिलो पटक विस्फोटको आवाज सानो सुनिएको तर त्यसपछि चाँडै नै त्यहाँ ठूलो विस्फोट भएको र यसको आवाज पनि ठूलो आएको बताइएको छ ।
प्रतिक्रिया