प्रविधिको प्रयोग गरी तरकारी खेती | Khabarhub Khabarhub

प्रविधिको प्रयोग गरी तरकारी खेती


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- बेलडाँडी गाउँपालिका–३ बैवाहका रामलाल चौधरी व्यावसायिक तरकारी खेती गरी गतिलो आम्दानी गर्ने किसानका रुपमा परिचित छन्। गत वर्ष चौधरीले १८ कठ्ठा जग्गामै दुई सय २५ क्वीन्टल  तरकारी फलाएर रु १२ लाख पचास हजार आम्दानी हात पारेका छन् । काउली, बन्दा, गोलभेँडा, घ्यू सिमी, बोडीलगायत बारीमा रोपेर आम्दानी भएको उनले बताए।

“बेमौसमी वर्षाले १० कठ्ठामा लगाएको तरकारी टिप्नै पाएनौँ ”, उनले भने, “हार मानिन्, त्यसपछि पुनः तरकारी लगाए नाफा बढी भयो, तरकारी हातोहात बिक्री पनि भयो ।” गत वर्षभन्दा बढी आम्दानी लिनका लागि उनले नौलो प्रविधिलाई आत्मसात् गर्ने योजना बनाएका छन्। उनले युट्युबमा हेरेर मिनी टिलरमा लाग्ने हलोसँगै आवश्यक अन्य औजार निर्माण गरेका छन्।

तरकारी खेती गर्नका लागि प्रयोगमा आउने अन्य औजार र उपकरण प्रयोगमा ल्याउने तयारी उहाँको रहेको छ । “पहिला गोरुले खेत जोत्दा समय निकै लाग्ने र सोचे जस्तो खेत तयार गर्न सकिँदैनथ्यो”, उनले भने, “हाल खेत जोत्नका लागि गोरु छैनन्, मिनीटिलर र पावर टिलरको प्रयोग गर्छु, तरकारी खेतीका लागि खेत तयार गर्न मेसिनरी र आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ ।”

तरकारी बारीमा गोबर मलको प्रयोग गर्नका लागि भैँसी भने उनले पालेका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न चौधरीसँग स्वामित्वको एक बिघा १० कठ्ठा जग्गा छ । त्यसमध्ये छ कठ्ठा जग्गा उनले तरकारी खेतीको आम्दानीले जोडेका हुन् । यस वर्षको हिउँदे तरकारी लगाउनका लागि चौधरीले बेर्ना तयार गरिसकेका छन्।

“काउली, बन्दा, गोलभेँडा लगायतका तरकारीका बेर्ना तयारी अवस्थामा छ”, उनले भने, “ग्रिन नेटमा लगाउनका लागि कार्य अगाडि बढाइएको छ, खुला ठाउँमा गरिने तरकारी खेतीभन्दा ग्रिन नेटमा गरिने तरकारी खेतीले बढी उत्पादन दिन्छ, त्यसैले यसकै तयारीमा छौँ ।” तरकारी खेतीबाहेक अरू जग्गामा लगाएको हर्दिनाथ जातको धान पाक्नै आँटेको छ । एक दुई दिनमा धान काट्न सुरु गर्ने चौधरीले बताए।

“धान काटेपछि खेत तयार गरी त्यसमा समेत तरकारीका बिरुवा रोप्छौँ”, उनले भने, “कामको व्यस्तता निकै छ, परिवारमा रहेका दुई छोरा र श्रीमतीले समेत तरकारी खेतीका लागि सहयोग गर्दै आएका छन्, त्यसैले काम गर्न सहज भएको छ ।” नौ कठ्ठा जग्गामा लगाएको हर्दिनाथ धानको उत्पादन २० क्वीन्टल बढी हुने उनले अनुमान गरेका छन् । गत वर्ष सोही जग्गामा उहाँले १८ क्वीन्टल धान उत्पादनगरेका थिए । यस वर्ष दश कठ्ठा जग्गामा तरकारी खेती र एक बिघा जग्गामा केरा खेती गर्ने योजनासमेत रहेको उनले सुनाए ।

“तरकारी खेतीसँगै केरा खेती गर्ने योजना बनाएको छु”, उनले भने, “आधुनिक तरिकाले केरा खेती गर्ने तौरतरिका इन्टरनेटबाट र गाउँपालिकाको कृषि शाखाका प्राविधिकबाट सिकेको छु ।” तरकारी खेतीकै कमाइबाट चौधरीले कैलालीको धनगढीमा घडेरी, गाउँमा पक्की घर, मेसिनरी औजार, सिँचाइका लागि बोरिङ, विद्युतीय मोटरलगायतका सामान जोडेका छन् । तरकारी बेच्नका लागि ५० प्रतिशत अनुदानमा उनले अटो रिक्सासमेत पाएका छन् । उत्पादित तरकारी स्थानीय बजारदेखि महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ ।

भारतसँगै सीमा जोडिएको क्षेत्र बैवाह भएकाले भारतीयले समेत घरबाटै फुटकर रुपमा तरकारी खरिद गरेर लैजाने गरेका छन् । रामलाल जस्तै बैवाह गाउँका अन्य दुई जनाले समेत दश कठ्ठा जग्गामा तरकारी खेती गरेका छन् । दुई कठ्ठादेखि पाँच कठ्ठासम्म तरकारी खेती गर्ने किसान भने १२ जनजाति रहेका छन् । प्रविधिको प्रयोग गरी तरकारी खेती गर्नेमा गाउँका एक्ला रामलाल मात्रै रहेका छन्।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  २ : ४२ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन