कतारमा १४ नेपाली अलपत्र, उद्धारको पहल गरिदिन आग्रह (भिडियोसहित) « Khabarhub

कतारमा १४ नेपाली अलपत्र, उद्धारको पहल गरिदिन आग्रह (भिडियोसहित)



दोहा– रोजगारीका लागि कतार पुगेका १४ नेपाली बिचल्लीमा परेका छन् । धन कमाउने मिठो सपना बोकेर कतार पुगेका उनीहरू दुई महिनादेखि अलपत्र छन् ।

काठमाडौँको बालुवाटारस्थित कन्टिनेन्टल एचआरडी कन्सल्टेन्ट्स प्रालिमार्फत कतारको ए टु जेट सर्विसेज कम्पनीमा काम गर्न पुगेका उनीलाई कम्पनीले काम नदिएर अलपत्र पारेको पीडित मध्येका धनुषाका लक्ष्मी दासले बताए ।

उनीहरुका अनुसार कन्टिनेन्टल एचआरडीका निर्देशक केशव खनाललाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि १ लाख ७५ हजारसम्म बुझाएर अफिस ब्वाईको काम गर्ने सम्झौता गरे पनि कम्पनीले काम नदिएको उनीहरूको गुनासो छ । अहिले उनीहरू कतारको सानैयास्थित ३७ क्याम्पको कोठामा बसेका छन् ।

‘हामी नोबेम्बर १४ तारिखमा यहाँ आएका हौँ, हामी आएका ४१ जनामध्ये अरुले जसोतसो काम पाएका छन्,’ लक्ष्मीले खबरहबसँग भने, ‘हामीले जम्मा आठ दिन मात्र काम गर्न पायौँ, त्यसपछि कम्पनीले काम दिएको छैन । हामी दुई महिनादेखि कामबिहीन भएर कोठामै बसिरहेका छौँ।’

आएको दुई महिना हुँदासम्म पनि कम्पनीले कुनै वास्ता नगरेको, बिरामी हुँदा हेरचाह नगरेको र कम्पनीले आफूहरूलाई अहिले काम छैन भनेको दासले बताए ।

भिडियो हेर्नुहोस्

‘साहुसँग चर्को ब्याजमा ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुंगो छैन,’ लक्ष्मीले थपे, ‘ राम्रो कमाई हुने प्रलोभन लिएर नेपालबाट म्यानपावरले पठायो, यहाँ कम्पनी बेसिक तलव पनि दिदैन् घरमा बाआमा बालबच्चालाई के पठाउने ?’

यता नेपालबाट पठाउने मेनपावर कम्पनीले भने अहिले कोठामै बस्नु भनेकाले बसिरहेको उनीहरूले बताए । अर्का पीडित मनोजकुमार महराले भने, ‘कम्पनीले काम छैन भनेको छ । हामी कोठा दु:खले बसेका छौँ । हामीलाई पठाउने मेनपावर कम्पनीले पनि कोठामा बस्दै गर्नु काम दिलाउँछौँ भनेको थियो । दुई महिना भइसक्यो काम पाइएको छैन । मेनपावर कम्पनीले पनि झुक्यायो ।’

‘आफूहरुले कम्पनीविरुद्ध लेवरकोटमा उजुरी दिएको र कोटले दुवै पक्षलाई छलफलको लागि बोलाए पनि कम्पनी नगएका कारण आफूहरुको मुद्दामा कुनै सुनुवाइ नभएको दासले बताए । उनले भने, ‘कम्पनीले मुद्दा फिर्ता लिए काम दिन्छु भनेपछि हामीले मुद्दा फिर्ता लियौँ तर, अझै पनि काम पाएका छैनौँ । लेवरकोटले न्यायका लागि हाईकोटमा जानु भनेको छ । मुद्दा मामिलामा हामी फस्यौँ भने परिवार कसरी चलाउने । हामी यहाँ मुद्दा मामिला गर्न आएको होइन काम गर्न आएका हौँ।’

पीडितहरूले कि त आफूहरूलाई काम दिलाई दिन वा सकुशल नेपाल फर्काईदिन नेपाली दूतावास, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत निकायलाई अनुरोध गरेका छन् ।

उनीहरूलाई पठाउने कन्टिनेन्टल एचआरडीका निर्देशक केशव खनालले भने कोरोना महामारीका कारण कम्पनीले काम दिलाउन ढिलाई गरे पनि चाँडै उनीहरूले काम पाउने बताए । उनले भने, ‘कोरोना कहरले केहीलाई काम दिलाउन ढिला भयो । फेब्रुअरी दोस्रो हप्तासम्ममा सबैलाई काम दिलाउने कम्पनीले हामीसँग प्रतिबद्धता गरेको छ । हामीले पनि उनीहरूलाई सकेसम्म चाँडो काम दिलाउन प्रयासमा जुटेका छौँ ।’

निर्देशक खनालले भने, ‘फेब्रु‍अरी १५ तारिखसम्म पनि काम नदिए उनीहरूलाई फिर्ता ल्याउने मेरो काम हो । मैले पठाएको कामदारको पूरा जिम्मेवारी लिन्छु । अहिलेसम्म धेरैलाई पठाईयो उनीहरु नै हुन् पहिलो पटक समस्यामा परे । सकेसम्म चाँडो उनीहरूको समस्या हल गर्नेछु ।’

खानाको लागि कम्पनीले महिनाको तीन सय कतारी रियाल दिएकाले खानाको कुनै समस्या नभएको जानकारी आफूले पाएको पनि खनालले बताए । अहिले पीडितसँग पनि आफू नियमित सम्पर्कमा रहेको उनले जानकारी दिए ।

पछिल्लो समय मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपालीलाई कम्पनीहरूले कोरोना महामारीको कारण देखाउँदै कामदारलाई करार अबधि सकिए पनि घर नपठाउने तथा काम गरेको पूरा तलव पनि नदिने गरेको गुनासो बढ्न थालेको छ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ५ : १४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल