देशभर के के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

देशभर के के भयो दिनभर ? (अडियोसहित)


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपालमा
चिनियाँ विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने भ्रमणका लागि नेपाल आएका छन् । आज अपरान्ह चार्टर्ड विमान मार्फत वाङभारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आइपुगेका हुन् । उनी परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा काठमाडौं आएका हुन् । विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी लगायतले स्वागत गरेका थिए । 

प्राथमिकताका क्षेत्रलाई सम्बोधन गर्नेगरी वर्षको बजेट आउनुपर्छः निजी क्षेत्रका प्रतिनिधि
नीजि क्षेत्रका प्रतिनिधिहरूले प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन गर्नेगरि आगामी वर्षको बजेट आउनुपर्ने धारणा राखेका छन् । आज सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले आगामी वर्ष आकारमा भन्दा पनि प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन हुने गरी बजेट आउनुपर्ने धारणा राखेका हुन् । बैठकमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चुस्त दुरुस्त बजेट ल्याउनुपर्ने सुझाव दिए । त्यस्तै बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सन्दिप अग्रवालले नेपालमा भारतीय पर्यटकको सहजताका भारतीय नोटको कारोबारलाई नेपालमा वैध बनाउनुपर्ने बताए । त्यस्तै होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले पर्यटकलाई आकर्षित गर्न सरकारले आवश्यक नीति ल्याउनुपर्ने बताए । समितिले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटका लागि निजी लागि निजी क्षेत्रबाट सुझाव लिएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार बस्ने गरी सकियो
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । आज अपराह्न पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठक आइतबार पनि बस्ने  गरी सकिएको नेताहरूले जनाएका छन् । आजको बैठकमा प्रदेश समितिका पदाधिकारीहरूले निर्वाचन र गठबन्धन लगायतका विषयमा ब्रिफिङ गरेका छन् ।बैठकमा प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरूले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन् । यसैबीच, नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेको भन्दै असन्तुष्ट पक्षले कांग्रेस पार्टी कार्यालय सानेपाअघि विरोध प्रदर्शन गरेको छ । आज केन्द्रीय समितिको बैठक बसिरहँदा उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।

गठबन्धन तोड्न केही व्यक्ति लागिरहेको नेकपा एसका अध्यक्ष नेपालको आरोप
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा विचार मिल्नेहरूसँग गठबन्धन गरेर जाने बताएका छन् । आज काठमाडौंमा पार्टी निकट महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीले निर्वाचनको तयारीलाई तीव्रता दिएको भन्दै विचार मिल्नेहरूसँग गठबन्धन गरेर जाने बताए । उनले कांग्रेसका केही नेताहरू गठबन्धनको बिपक्षमा र प्रधानमन्त्री शेर बहादुर देउवा गठबन्धनको पक्षमा रहेकाले कांग्रेसको औपचारिक निर्णय पर्खिरहेको धारणा पनि राखे । गठबन्धन नभए एक्लै चुनाव लड्ने तयारी रहेको भन्दै अध्यक्ष नेपालले केही व्यक्तिहरू अहिले पनि गठबन्धन तोड्न लागिरहेको आरोप लगाए । 


एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश समितिले पायो पूर्णता
नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दिएको छ ।केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई २५–२६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो । निर्णयबारे आज एक विज्ञप्ति जारी गर्दै महासचिव बेदुराम भुसालले जानकारी गराएअनुसार ३१ वटा विभाग र ७ प्रदे्श समितिलाई पूर्णता दिइएको हो । संगठन विभाजनको जिम्मेवारी महासचिव भुसालले पाएका छन् । अर्थ तथा योजना विभागको जिम्मेवारी उपमहासचिव विजय पौडेलले पाए । त्यस्तै रामचन्द्र झाले कानून विभागको जिम्मेवारी प्राप्त गरेका छन् । 

दलहरूबीच सहमति र सहकार्य हुनुपर्छः माओवादी अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरू एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गरे । उनले दलहरूको सहकार्यबाटै संविधान बनेको बताए । गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रुपमा भन्ने गरेको स्मरण गर्दै उनले सो कुरालाई बिर्सन नहुने बताए । गठबन्धनका सन्दर्भमा अध्यक्ष दाहालले अहिले भिन्न भिन्न्न मत रहेको भन्दै आफ्नै तरिकाले जाने हो भने पनि आफुलाई आपत्तिको विषय नहुने बताए ।

सरकारमा सशक्त उपस्थिति देखाएका छौँः श्रममन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवम् नेकपा एसका नेता कृष्णकुमार श्रेष्ठले सरकारमा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको दावी गरेका छन् । अझै कतिपय काम अर्को पार्टीको प्रधानमन्त्री भएको हुनाले गर्न नसकिएको उनको भनाइ छ । आज काठमाडौंमा आयोजित पार्टी निकट एकीकृत ट्रेड युनियन, महासंघ, नेपाल घोषणा तथा सम्मान समारोहमा बोल्दै मन्त्री श्रेष्ठले केही महिनाभित्र नै नेपाल ट्रेड युनियनभन्दा एकीकृत ट्रेड युनियन महासंघ, नेपाल ठूलो बन्ने दाबीसमेत गरे ।

सिंहदरबार गुरुयोजना छिट्टै ल्याइन्छ: मन्त्री झाँकी
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटोअघि बढाइने बताएकी छन् । मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री झाँक्रीले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताइन् । उनले सिंहदरबारभित्र युटिलिटी कोरिडोर बनाएर एकीकृत विकास योजना अघि बढाउनुपर्ने बताइन् । सबै निकायको संलग्नतामा र अपनत्व हुने गरी गुरुयोजना स्वीकृत गरिने बताउँदै उनले सिंहदरबार गुरुयोजनामा सुरक्षा संवेदनशीलतालाई ख्याल गरी सर्वसाधारणको प्रवेशलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताइन् ।

आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पार्टी हुन्छः शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पार्टी हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) ढोरपाटन, निसी र तमानखोलाले आज आयोजना गरेको राजनीतिक एवं वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताए । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीले भ्रम फैलाइरहेको  आरोप लगाए । पार्टीको महाधिवेशन सम्पन्नपछि पार्टी पुनःनिर्माणको क्रममा रहेको भन्दै आगामी निर्वाचनमा पहिलो वामपन्थी शक्ति हुने बताए । 

नेपालमा थप १८ जनामा कोरोना सक्रमण पृष्टि
नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८ सय २२ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ५ सय २० एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४ सय १४ पुगेको छ । हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ७१ संक्रमित कोरोनामुक्त भएका छन् ।हाल नेपालमा १ हजार ९ सय ६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

अमेरिकी अनुदानमा ७ लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुग्यो
अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको  ७ लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप नेपाल आइपुगेको हो ।थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको छ ।अमेरिकाले नेपाललाई अहिलेसम्म ३१ लाख डोज खोप उपलब्ध गराइसकेको छ । अमेरिकाले उपलब्ध गराउँदै आएको फाइजर खोप नेपालले १२ वर्षभन्दा माथिका बालबालिकालाई दिँदै आएको छ ।

जेठदेखि आवेदन दिएको १५ दिनमै परीक्षा: यातायात विभाग
यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ ।एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए । ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरूका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको जानकारी दिँदै विभागले जेठपछि नवीकरण गर्नेहरूले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरेको छ । जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने बताउँदै घिमिरेले त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताए । 

मधेश प्रदेश सरकारद्वारा ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा
मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई आज विशेष पर्यटकीयस्थल घोषणा गरेको छ । पर्साको ठोरीमा आज आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरे । तराई मधेशको ‘मिनी उपत्यका’को नामले समेत परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरिएको मधेश प्रदेश सरकारले जनाएको छ ।

रोजगारीको प्रलोभन देखाइ यूएई पु¥याउने त्रिनेत्र कन्सल्टेन्सीका सञ्चालक पक्राउ
।रोजगारीको प्रलोभनदेखाएर नेपालीलाई भिजिट भिसामा युएई पु¥याउन तल्लीन त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्याय युएईमा पक्राउ परेका छन्। त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक उपाध्यायले नेपालीलाई युएईमा अलपत्र पारेको र ठगेको उजुरी परेका थिए। उपाध्यायलाई पक्राउ गरेको जानकारी त्यहाँको प्रहरीले आबुधाबीस्थित नेपाली दूतावासलाई गराएको छ।संयुक्त अरब इमिरेट्स युएई भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अब्दुल रहमान अब्दुलमानन अल–अवारबीच युएईमा अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन मिलेर काम गर्ने सहमति भएको थियो ।

लागु औषध र भरुवा बन्दुकसहित एकजना मकवानपुरबाट पक्राउ
प्रहरीले विभिन्न लागु औषध र भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–५ बस्ने ५२ वर्षीय डिलबहादुर गोङ्वा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत अस्थायी प्रहरी पोष्ट धादिङ्ग मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।गोङ्वाले आफ्नो घरभित्र लुकाई छिपाई राखेको अवस्थामा ७५ ग्राम अफिम, ७०० ग्राम गाँजा र एक नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ  । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा एक जना बुढानिलकण्ठबाट पक्राउ
काठमाडौंको बुढानिलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापा रहेका छन् । घरासयी विवादमा थापाले २४ वर्षीयाश्रीमती लक्ष्मी तामाङको मासु काट्न प्रयोग हुने दाउले घाँटीको अगाडिको भागमा प्रहार गर्दा उनको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।दाउ प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई चुनिलेखस्थित करुणा अस्पताल लगिएको थियो ।उपचारको क्रममा आज विहान  ११ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।ज्यानसम्बन्धी कसुर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनामा प्रयोग गरिएको दाउसमेत बरामद गरेको छ ।

सर्लाहीमा पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
सर्लाहीको मलंगवा नगरपालिका–४ रिङ रोडस्थित विद्युतको पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बारा फेटा गाउँपालिका–१ त्रिवेणी बस्ने २५ वर्षीय शिव कुमार बछार रहेका छन् ।  करेन्ट लागेर गम्भीर घाइतेभएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ९ : ४२ बजे

पाकिस्तानी टेस्ट टोलीमा महत्वपूर्ण परिवर्तन, बाबरसहित चार खेलाडी हटाइयो

काठमाडौं । पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पुर्व कप्तान बाबर आजमसहित

दोलखामा दुई बस ठोक्किए, चार जना घाइते

दोलखा । ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना

तनहुँमा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार

तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका

दशैं मनाउन गाउँ गएकाहरु काठमाडौं फर्किन थाले (तस्बिरहरू)

काठमाडौं । बडादशैं अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल

झापामा दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको