नेपालमा पहिलो पटक पुन प्रयोग गर्न सकिने प्याड बनाउने ज्ञान महर्जन अहिले प्याडम्यान भनेर चिनिन्छन्। महिनावारीको विषयमा महिला महिलाबीच समेत खुलेर कुरा असजिलो मान्ने नेपाली समाजमा एउटा पुरुषले प्याड बनाउनु आफैमा चुनौतीको कुरा हो।
तर, ललितपुर खोकनाका ज्ञान महर्जनले त्यो चुनौतीलाई चिरेर देखाएका छन्। एक्सपोज नेपाल नामक संस्थामार्फत् महिला हिंसाको विरुद्धमा सचेतनात्मक कार्यक्रममा लागेका महर्जनले समाजमा महिनावारीको समयमा महिलामा हुने विभेदबारेमा हुने समस्यालाई कसरी कम गर्न सकिन्छ भनेर गहिरो अध्ययनका साथ काम गरिरहेका छन्।
फलस्वरुप अहिले त्यो पहलले सार्थकता पाएको छ। अहिले नेपालको पहिलो प्याड म्यान भनेर नेपालमा मात्रै नभएर अन्य ठाउँमा पनि उनले आफ्नो परिचय बनाइसकेका छन्। बाँकी प्याडम्यान बन्दाका महर्जनका चुनौती उनकै शब्दमाः
सुरुवाती बुझाई र संघर्ष
नेपालमा एक्सपोज नेपाल भन्ने हाम्रो संस्था सन् २००७ मा स्थापना भएको हो। जसले यौन दुराचारमा परेका दिदी बहिनीलाई जनचेतना जगाउनुपर्र्छ भनेर यो संस्था स्थापना भयो।
यो संस्थाले यौन दुराचार तथा दुर्व्यवहारमा परेका महिला दिदी बहिनीलाई जनचेतना दिने काम गथ्र्यो। सन् २०१४ मा जर्मनबाट महिनावारीका विषयमा बोल्नुपर्छ भन्ने आवाज उठेपछि सन् २०१५ को अन्त्यतिर के हो महिनावारी ? भनेर आफै बुझ्दै गएँ।
त्यसपछि आफै प्याड बनाउनुपर्छ भनेर लागेको हुँ। महिनावारी के हो भनेर बझ्दै जादाँ यो पनि भ्वाइलेन्स हो भनेर यसमा लागि परेको हो। प्याड आएर महिनावारी भएको होइन महिनावारी भएर प्याड आएको हो।
अग्रजले कपडालाई नै फोल्ड गरेर पेन्टीमा राख्ने रहेछन्। यसरी पेन्टीमा राख्दा कपडा झर्दैन र ? भनेर विचार गरेर नझर्ने कसरी बनाउनु पर्ला ? भनेर कन्सेप्ट सुरु गरियो। तीनदेखि चार महिनाको खोज र अनुसन्धानपछि कन्सेप्ट निकाल्यौं। बजारमा पाइने प्याडको बारेमा पनि अध्ययन गरेर यो नयाँ प्याड निकाल्यौं।
कसरी बने प्याडम्यान ?
मैले सन् २००७ मा काम गर्न सुरु गरेको हो। सन् २०१४ मा जर्मनका अर्गनाइनेजसनले महिनावारीको विषयमा बोल्नुपर्छ भनेपछि २०१५ मा के हो त महिनावारी भनेर खोतल्दै जाँदा महिनावारी हुदाँ महिलालाई हुने यावत विभेदको बारेमा थाहा भएपछि यसमा लाग्ने प्रण गरेको थिएँ।
अग्रजले के गर्छन् भनेर खोजीनीति गर्दा कपडा धोतीमा अड्काएर लगाउने भएर यो कपडालार्ई कसरी नझर्ने बनाउने भनेर नै प्याडको विकास गरियो। पहिलेका मानिसले जुन दुःखले जीवन जिउनु पर्यो। त्यो नहोस् भनेर नै प्याड बनाउने सोच आएको हो।
कपडाको प्याड किन ?
प्याड बनाउने क्रममा धेरै खोजीनीति गरेका थियौँ। अहिले बजारमा पाइने ‘युज एन्ड थ्रो प्याड’ करिब ९० प्रतिशत प्लाष्टिक र प्लाष्टिकजन्य पदार्थबाट बनेका छन्। जसले गर्दा वातावरण प्रदुषणसँगै प्रयोगकर्ताहरुलाई पनि प्लाष्टिक र प्लाष्टिकजन्य प्याडले घाउ बनाउनेसमेत हुन्छ।
बजारमा पाइने प्याडकोबीच भागमा निलो या हरियो घेरा हुन्छ, त्यो केमिकल जेल हो। हाम्रो नेपाली समाजमा पिसाब फेरेपछि सफा गर्नुपर्छ भन्ने थाहा नभएको धेरै हुनुहुन्छ। महिनावारी भएको बेलामा पनि उहाँहरुले पिसाव गरेर त्यही प्याड लगाउनु हुन्छ, बाँकी रहेको युरिन र प्याडमा रहेको केमिकल मिसिएर विभिन्न रोग पैदा हुन्छ।
यस्तो प्याडलाई हामीले किन प्रयोग गर्ने ? हाम्रो अग्रजले लगाएको कपडालाई मोडिफाई गरेर किन अगाडि नजाने भन्ने कुरालाई मोडिफाइ गरेर यो कन्सेप्ट अगाडि आएको हो। कटन कपडा केमिकलरहित हुन्छ। यो लगाउँदा पनि सजिलो हुन्छ भन्ने सोचेर यो प्याड बनायौँ।
पहिले बटन थिएन। च्यारच्यार गर्ने राखेका थियौं। त्यसले खुट्टामा घाउ भयो। ग्राहो भयो भन्ने कन्सेप्टमा बटन राख्न लाग्यौ। सुरुमा पाइन्ट या ज्याकेटमा लगाउने बटन लगायौँ। यो बटन धुदाँ खिया लाग्ने भयो। त्यो पनि चेन्ज गरेर अहिले खिया नलाग्ने बटनको प्रयोग गरेका छौँ। पहिले चीनबाट बटन ल्याएर बनाउथ्यौँ। अहिले पाइने भएकाले सजिलो भएको छ।
प्रयोग गर्ने तरिका
अहिलेको मार्केटमा पाइने प्याड प्रयोग गर्नु भन्दा त कटन कपडालाई फोल्ड गरेर लगाएपछि राम्रोसँगं धोएर पुन प्रयोग गर्नु धेरै फाइदाजनक हुन्छ। जसले रियुजल प्याड र कपडा प्रयोग गर्छ। यो प्रयोग गरेपछि राम्रोसँग धोएर घाममा धेरैबेर सुकाउनुपर्छ। रियुजल प्याडमा कसरी प्रयोग गर्ने र कसरी धुने भनेर बट्टामा लेखिएको छ। प्याड या कपडा प्रयोग गरेपछि एक दुई चम्चा नुनमा १० मिनेट भिजाएर राख्दा किटाणुहरु मर्छन्।
हामीसँग काम गर्ने धेरै जना हुनुहुन्छ, उहाँहरुले नै अफिसले सबै कपडा दिएर पठाउँछ। उहाँहरुले कहाँ कतिबेला प्याड बनाउनु हुन्छ होला भनेर अहिले मेसिन ल्याएका छौं। तीन वर्ष अघिबाट मेसिन ल्याएर यसको प्याकेजिङ गर्ने काम भइरहेको छ। प्याकेज खोल्ने बित्तिकै पुन प्रयोग गर्ने प्याड र प्रयोग गर्ने तरिका लेखिएको छ।
अहिले माग अनुसार नै बनाइरहेका छौं। बजारमा आउन सकेको छैनौ। विभिन्न ठाउँमा बेच्न दिइरहेका छौँ। योसँगै दराज अनलाइनमा पनि पाउन सकिन्छ। यो वर्षदेखि बजारमा आउने सोचिरहेका छौँ। यो प्याड लगाउने व्यक्तिले धुदाँ नुन पानीमा धोयो भने सबै फोहोर निस्कन्छ। लिकेज नहोस भनेर होल्डरमा पियुएल फेबरिक राखेका छौँ, यो एकदमै पातलो कपडा लेमिनेट गरिएको हुन्छ।
कसरी उपलब्ध हुन्छ ?
प्याड अहिले दराज अनलाइनमा पनि राखेका छौँ। नेपाल भरी नै पठाउनु हुन्छ। काठमाडौंमा हाम्रो अफिसबाट पनि पाउन सक्नुहुन्छ, अफिसबाट लिनुभयो भने डिस्काउन्ट पाउनु हुन्छ।
मार्केटमा आउन नसकेकोमा हामी क्षमाप्राथी पनि छौँ। अहिले बनाउदाँ रिक्स नलिने गरी बनाइरहेका छौँ। रिक्स किन लिने भनेर आफैंले खपत गगिरहेका छौँ।
बजार मूल्य
हाम्रो ३ वटा साइजको प्याकेट छन्। साइज अनुसारको मूल्य रहेको छ। मूल्य ६४० रुपैयाँदेखि ६८० तथा ७२० रुपैयाँको प्याकेट छ। सबै महिला एकै प्रकारकोे नहुने भएकाले साइज अनुसार निकालेका हौँ।
मूल्य सुन्दा महंगो पनि लाग्नसक्छ। महिनावारी रोकिन लागेको दिदी बहिनीलाई बजारमा पाइने एक प्याकेटले पुग्नसक्छ। अरुलाई त नपुग्न सक्छ। यसरी हेर्दा त पुन प्रयोग गर्न सकिने प्याड त दुई वर्ष प्रयोग गर्न सकिन्छ।
सामान्य दुई वर्षकै कुरा गर्दा पनि मार्केटमा पाइने प्याड भन्दा यो १३ गुणा सस्तो छ। एकपटक किन्दा महंगो लागे पनि अरु प्याड भन्दा धेरै सस्तो छ।
प्याड बन्न प्रयोग हुने कपडा
हामीले बनाउने प्याडमा प्रयोग हुने कपडा सुती हो। हरेक महिलाले सुती कपडा लगाएमा एकदमै राम्रो हुन्छ। डाटा हेर्दा करिब ८० प्रतिशत महिलाले कपडा प्रयोग गर्ने देखिएको छ। कपडा प्रयोग गरेपनि कसरी गर्ने भनेर हामीले २३ जिल्लाका चार हजार नौ सय २३ महिलालाई ट्रेनिङ दिएका छौँ।
एक जनाले सिकेर अर्कोलाई पनि सिकाउन पाइयोस् भनेर ट्रेनिङ दिएका हौँ। हामीले थुप्रै ठाउँमा प्याड निःशुल्क पनि बाँडेका छौँ। बारा जिल्लामा मात्र १२ हजार भन्दा बढी बाँडेका छौँ।
महिनावारी हुँदा बिदा
हाम्रो कार्यालयमा काम गर्ने एक जना साथी टेवलमा घोप्टो परेर बसिरहेको देखेँ। के भयो भन्ने पनि थाहा थिएन। पछि धेरै साथीभाइको आग्रहमा उहाँले मलाई महिनावारी भएको भन्नुभयो।
त्यसपछि मैले अब महिनावारी हुने बेलामा बिदा दिने भनेर घोषणा गरेँ। र, अहिलेसम्म पनि बिदा दिइरहेका छौँ। सरकारी कार्यालयमा पनि यो सेवा दिए एकदमै राम्रो हुन्थ्यो। सरकारी अफिसमा काम गर्ने साथै प्राइभेट अफिसमा काम गर्ने महिलालाई महिनावारी भएको बेला दुई दिन बिदा दिनुपर्छ।
प्याडम्यान बन्दाको खुशी र पुरस्कार
सुरुमा सन् २०१७ मा अनेस्टली अवार्ड भनेर एज अ बेष्ट मेल एक्टिभिष्ट अवार्ड भनेर पाएको थिएँ। त्यसपछि देशभन्दा विदेशका मान्छेले टेष्ट गरेँ। अहिले पनि फ्रान्सबाट थुप्रै जना इन्टन गर्न आइरहेका छन्।
नेपालको मिडियाले माया गरेर यो ठाउँमा ल्याइदिनु भएको छ। चाइना डेल्लीदेखि इन्डिया युट्वरले पनि मेरो बारेमा कुरा गरेको छन्। भर्खरै मात्र जापानको द बिग इस्यु म्यागजिनले पनि मेरो बारेमा कभर गरेको छ।
तमिलनाडुमा बेष्ट मेल एक्टिभिष्ट एसिया अवार्ड २०२१ पनि पाएको छु। तर, लिन जान पाएको छैन। लिन जाने तयारीमा छु। यस्ता अवार्डले मलाई काम गर्न धेरै ऊर्जा मिलेको छ।
पुरुषहरुले पनि महिनावारीको बारेमा बुझेर प्याड किनिदिनुस्। जसले गर्दा घरमा भएका महिलालाई गाह्रो नहोस्। म जस्तै घर घरमा प्याडम्यान जन्मियोस, टोलटोलमा प्याडम्यान जन्मियोस्।
https://www.facebook.com/khabarhubofficial/videos/1177562146420673
प्रतिक्रिया