अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपराह्न ४ बजेसम्मका मुख्य १० समाचार


९ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपराह्न ४  बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

 १. नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ ।नागरिकता विधेयक प्रमाणीकरण नगरेको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको एकल इजलासले राष्ट्रपति भण्डारीका नाममा कारण देखाऊ आदेश जारी गरेको  हो । संघीय संसद्को दुवै सदनले पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । राष्ट्रपति भण्डारीले नगरेपछि सर्वोच्च अदालतमा  अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा. सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश माग गरेका छन् ।यसैबीच सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबार कारण देखाऊ आदेश दिएको छ ।सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले संघीय संसद् सचिवालयसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो  ।न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको हो ।

२ . उम्मेदवारले पेश गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्वाचन आयोगलाई राष्ट्रिय सूचना आयोगको सुझाव
राष्ट्रिय सूचना आयोगले निर्वाचन सम्पन्न भएपश्चात् उम्मेदवारले पेश गरेको खर्चको विवरण सार्वजनिक गर्नका लागि निर्वाचन आयोगलाई सुझाव दिएको छ ।२०७९ वैशाख देखि हालसम्म भएका काम कारबाहीका बारेमा जानकारी गराउन आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि उम्मेदवारले पेश गर्ने मनोनयन पत्र तथा संलग्न कागजातहरू सर्वसाधारण मतदाताहरूले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्न पनि सुझाव दिएको जानकारी दिएको हो ।आयोगकी सूचना आयुक्त कमला ओली थापाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउनका लागि निर्वाचन आयोगलाई सुझाव दिएको जानकारी दिइन्। त्यस्तै माग गरिएको सूचना उपलब्ध नगराउने रौतहटको राजपुर नगरपालिका र त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई जरिवाना गरिएको सूचना आयुक्त थापाले बताए।उनले यस अवधिमा १ सय २३ वटा पुनरावेदन उपर कारबाही भएको जानकारी पनि दिइन्। आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउनका लागि सूचनादाताको संरक्षण सम्बन्धी नियमावलीको मस्यौदालाई सुझाव सहित सञ्चार मन्त्रालयमा स्वीकृतिका लागि पठाएको उनले बताइन्। उनले विभिन्न निकायमा सूचना अधिकारीको स्पष्ट विवरण उल्लेख गर्नका लागि पुन ध्यानाकर्षण गराएको समेत धारणा राखिन् ।सूचना आयोगले स्थानीय तहको खर्चको विवरण मासिक रूपमा सार्वजनिक गर्ने, बजेट अनुसार भएका कामको नियमित रूपमा सार्वजनिक गर्ने, सूचनाको हकसम्बन्धी कानून तथा आयोगका आदेश पालना गर्न लगाउन लगाएका आदेश दिइएको जनाएको छ ।

३. दुई महिनामा व्यापार घाटा २ खर्ब ४४ अर्ब  पुग्यो 
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालको आयात र निर्यात दुवै घटेको छ । सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागले आज जारी गरेको तथ्याङ्क अनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब २८ करोड ८९ हजार रुपैयाँ रहेको छ । विभागका अनुसार सो समयमा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको  आयात १३.०१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको छ ।

४. डेंगुको  प्रारम्भिक उपचारको आवश्यक व्यवस्था गर्नुपर्नेमा नेता सिंहको जोड 
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सबै तहमा डेंगुको परीक्षण र प्रारम्भिक उपचारको आवश्यक व्यवस्था गर्नुपर्ने बताएका छन् । काठमाडौँको बानेश्वरस्थित आज रत्नराज्य स्कुलको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा नेता सिंहले वडामै डेंगु परीक्षण व्यवस्था मिलाउनुपर्ने बताएका हुन्। नेता सिंहले आपत्तको समयमा सबै मिलेर काम गर्नुपर्ने र यसलाई समाजले लेखाजोखा गर्नुपर्ने धारणा राखे । पैसा कमाउन जनप्रतिनिधि नबनेको भन्दै उनले पदमा बसेर लाभ लिने काम गर्न नहुने जिकिर गरे । नेता सिंहले राम्रो गर्न चाहनेहरूलाई जनताले मौका दिनुपर्ने बताए ।

५. काठमाडौं महानगरले माग सम्बोधन नगरे स्वरोजगार श्रमिकको चेतावनी 
नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौंमा  आज पत्रकार सम्मेलनको आयोजना गरेर संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । संघले महानगरले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडबाडलक्षित गरेर निश्चित स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने माग अघि सारेको छ। स्वरोजगार श्रमिकहरूको व्यवस्थापनको लागि कानून तथा नीति निर्माण गरिनुपर्ने, श्रमिकहरूलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउनुपर्ने संघले माग गरेको छ । यसैगरी, चाडबाडलक्षित गरेर अल्पकालीन रूपमा बिहान र बेलुकीको निश्चित समय निर्धारण गरी यथास्थानमा व्यवसाय गर्न प्रबन्ध मिलाउन, जफत गरिएका सामानहरू फिर्ता गर्न पनि संघले महानगरलाई आग्रह गरेको छ । स्वरोजगार श्रमजीवीहरूलाई राज्यले सम्मान गर्नुपर्नेमा सत्ताको शक्तिको प्रयोग गरेर लछारपछार गर्ने, लगानी नै सिध्याइ दिनेगरी सामान नियन्त्रणमा लिने कार्यको संघले विरोध जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष माया गुरुङले आफूले नेतृत्व गरेको संगठनमा १८ हजार श्रमिकहरू सदस्य रहेको बताइन्।

६. लागूऔषध सहित ६ जना  पक्राउ 
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने एक जना फरार भएका छन् । ब्युरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै खैरो हिरोइन ५० दशमलव ५ ग्राम, नियन्त्रित लागु औषध १२ हजार ७ सय ५८ एम्पुल, एक केजी गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।ब्युरोका अनुसार अमेरिकाबाट आएको पार्सलमा लत्ताकपडाभित्र लुकाई पठाएको एक किलो ३ सय ३० ग्राम गाँजा गोश्वारा हुलाक कार्यालयबाट बरामद भएको हो ।त्यस्तै ललितपुरको इमाडोलबाट ३ दशमलव ५ ग्राम खैरो हिरोइनका साथ सुजन हेल्मुलाई पक्राउ गरिएको र थप अनुसन्धान गर्दा चौमती बस्ने संजिप राईको डेराबाट थप ४७ ग्राम खैरो हिरोईन फेला परेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।त्यस्तै १२ हजार भन्दा बढी एम्पुलका साथ बा ५ च ७१३८ नम्बरको बोलेरो र भाडाको बस सहित तीन जनालाई पक्राउ गरिएको प्रवक्ता खड्काले बताए।ब्युरोले बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी रु ३१ लाख ५ हजार रहेको जनाएको छ

७. उपत्यका खानेपानी लिमिटेडमा तालाबन्दीसहित धर्ना जारी 
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यको कार्यकक्षमा तालाबन्दीसहित धर्नालाई जारी राखेका छन् ।  केयुकेएललाई अघि बढाउन कार्यकारी अधिकृत शाक्य असक्षम भएको भन्दै तीन दिन अघि उनको कार्यकक्षमा तालाबन्दी गरेका कर्मचारीहरुले धर्नालाई जारी राखेका हुन् । शाक्यबाट राम्रो कार्यसम्पादन हुन नसकेकाले राजीनामा दिनुपर्ने उनीहरुले बताएका छन् । कर्मचारीहरुले सञ्चालक समितिले आफुहरुसंग गरेको भद्र सहमति अनुसार द्रुत प्रक्रियाबाट कार्यकारी अधिकृतको बहिर्गमन नगरेसम्म संस्थाभित्र मौलाएको बेथिति, विसंगती, अपारदर्शिता नियन्त्रण हुन नसक्ने केयुकेएल एकीकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपाल सिंह धामीले बताए । कर्मचारीहरुले आफुहरुको माग पुरा नभए पानी उत्पादन, प्रशोधन र वितरण बाहेकका सम्पूर्ण कामहरू पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् ।

८. नेप्सेमा २३.८३ अंकको गिरावट
कारोबारको पहिलो दिन सेयरबजार परिसुचक नेप्से आज ओरालो लागेको छ । नेप्से आज  २३.८३ अंकको  घटेर १ हजार ८१५.१३ विन्दुमा कायम भएको  हो ।  आज २२८ कम्पनीको ४० लाख  १४ हजार ४ सय  १९ कित्ता शेयर कुल १ अर्ब ७ करोड २४ लाख ८० हजार रुपैयाँमा कारोबार भएको छ । आज १७४ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ वटाको बढेको छ । सबैभन्दा धेरै लक्ष्मी बैंकको २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज तेह्रथुम पावर कम्पनीको शेयर झन्डै आठ प्रतिशत तथा निफ्रा र सामुदायिक लघुवित्तको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि अभियान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

९. फिलिपिन्समा शक्तिशाली आँधी नारु आएसँगै तटीय सहरहरू खाली गर्न  चेतावनी जारी 
फिलिपिन्सको मुख्य टापु लुजोनमा  आज आएको शक्तिशाली आँधीका कारण तटीय सहरहरू खाली गर्न  चेतावनी जारी गरिएको छ । नोरु नाम दिइएको आँधी प्रति घण्टा १९५ किलोमिटर (१२१ माइल) को अधिकतम निरन्तर हावाको गतिसहित जमिनमा अवतरण हुँदा खतरा रहेको राज्यको मौसम पूर्वानुमान विज्ञशरूले जनाएका छन् । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधी राजधानी मनिलाबाट करिब ८० किलोमिटर उत्तरपूर्वमा अवतरणपछि आँधी अझै सशक्त हुँदै जाने अनुमान गरिएको छ । फिलिपिन्समा आँधीका कारण ४ सय  भन्दा बढीको मृत्यु हुनुका साथै लाखौँ घरबारविहीन भएको नौ महिनापछि  पुन  अर्को आँधी (नोरु) आएको हो । प्रान्तीय प्रकोप कार्यालयका मेल एभेनिलाका अनुसार क्वेजोन प्रान्तका धेरै पालिकाका बासिन्दालाई घरबाट सुरक्षितता स्थलमा सारिएको छ ।

१०. नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा व्यस्त 
बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षणमा व्यस्त भएको छ । नेपाली राष्ट्रिय टोलीले ललितपुरको सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा  आज प्रशिक्षण गरेका हुन् । नेपालले असोज ११ गते  मगंलबार घरेलु मैदानमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । सो खेलका लागि नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमाँगाईले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका गरिसकेका छन् । टोलीमा तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादपछि बाहिरिएका १० मध्य ९ जना खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको टोली नेपाल आइसकेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : १९ बजे

कालीगण्डकी करीडोर : जोमसोम–कागबेनी खण्डमा कालोपत्र

म्याग्दी– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र

दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

हेलेन आँधीको जोखिममा फ्लोरिडा

फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

न्युयोर्क– प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम

घोडेपानी जोड्ने नयाँ पदमार्ग

म्याग्दी– कास्कीको नयाँ पुलबाट पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै