पछिल्लो समय महिला प्रजननमा धेरै समस्या देखिएका छन् । महिला प्रजननमा स्वास्थ्यमा देखिने समस्यामध्ये महिनावारी सुक्ने समयमा देखिने समस्या वा धेरै रगत बग्ने समस्याले पनि पछिल्लो समय धेरै महिलालाई सताएको छ । यसै विषयमा आधारित भएर महिला तथा प्रजनन रोग विशेषज्ञ डाक्टर एलिजा गौतमसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
महिला प्रजननमा महिनावारी सुक्ने बेलामा कस्तो कस्तो समस्या धेरै देखिएको छ ?
नेपालमा औसत महिनावारी सुक्ने समय भनेको ५१ वर्ष मानिन्छ । महिनावारी समयमा नहुने जस्तो २८ दिनमा हुनु पर्ने भनिन्छ । त्यो समयमा नभएर २१ दिन भन्दा अगाडि वा ३५ दिन भन्दा माथि भयो वा धेरै रगत गयो १० देखि १५ दिनसम्म चोक्टा चोक्टा गयो र काम गर्न नै गाह्रो भयो भन्ने समस्या लिएर धेरै जना माहिला आउनु हुन्छ ।
यो ५० वर्ष कटेपछि नै आउने हो वा अहिलेको जीवनशैलीले अगाडि पनि आएको छ ?
यो समस्या भनेको औसतमा ५१ वर्ष हो । तर, यो ४० वर्षबाट नै हुन्छ । यो पाठेघरमा ऐजेरु पलाएर वा पाठेघरको क्यान्सरले पनि हुनसक्छ । कहिलेकाहीँ हर्मनको कारणले पनि महिनावारी गडबड हुन सक्छ । कहिले काहीँ थाइराइड धेरै वा कम हुने हुँदा पनि हुन सक्छ । सुरु सुरुमा पाठेघरमा इन्फेक्सन भएर पनि धेरै रगत जाने हुन सक्छ । जुनसुकै समस्या भए पनि हामीले गर्भवती अवस्थामा भएको समस्याले हो कि हैन भनेर पनि हेर्नु पर्ने हुन्छ ।
महिनावारी सुक्ने उमेर वरिपरि धेरै रगत बग्ने समस्या हुने रहेछ । यो समस्यालाई हामीले कसरी बुझ्ने ?
महिनावारी भएको ७ दिन भन्दा धेरै रगत बग्यो । साधारण महिनावारीमा क्लट्सहरु धेरै जाँदैन । ३५ दिन भन्दा पछाडि महिनावारी भयो भने ८० एमएल भन्दा बढी रगत गयो भनेर हामी कहाँ आउनु हुन्छ ।
यो जो कोही महिलामा पनि हुन सक्छ कि कस्तो कस्तोमा हुन्छ त ?
यो सबैमा देखिन्छ तर प्रायः जस्तो पहिला देखिनै महिनावारीमा समस्या भएको, मोटोपन, प्रेसर सुगर भएको माहिलामा बढी देखिन्छ । तर, यो जसलाई पनि देखिन सक्छ ।
समयमा उपचारको पहुँचमा गएन भने पछाडि कस्तो जोखिम आउन सक्छ ?
नेपालीहरू यस्तो रोग लुकाउने र पहिला फार्मेसीमा गएर औषधिहरू ल्याएर खानु हुन्छ । कहिले काँही ट्युमरहरू रहेछ ऐर्जरुहरु पलाएको रहेछ भने क्यान्सर भएको रहेछ भने जाँच नगरेसम्म थाहा पाउन सकिदैन । समयमा उपचार गरेन भने समयमा निकालेन भने त्यसले जटिलता झन् बढाउँछ । पछि गएर अप्रेसन नै गर्नु पर्यो भने २ वर्ष अगाडि गर्दा सजिलो हुने केशहरु पनि जटिल बन्दै जान्छ र बिरामीको ज्यानको जोखिम हुँदै जान्छ । रगत नै धेरै बगेर इनिमिया रगतको मात्रा कम हुँदै जान्छ । त्यसैले यस्तो समस्या आयो भने सबै बिरामीहरूले गाईनोक्लोजिष्ट डाक्टरलाई भेटेर सुझाव लिनुहोला भन्न चाहन्छु ।
यस्तो समस्या लिएर अस्पताल गएपछि उपचारको प्रक्रिया कसरी सुरु हुन्छ ?
पहिला हामीले गर्भावस्थासँग सम्बन्धित समस्या हो वा हैन भनेर सबै उमेर पत्ता लगाउनु पर्यो । त्यसपछि सुरुमा भिडियो एक्स–रे, अल्ट्रा साउन्डहरू गरेर पाठेघरमा ऐजेरु, ट्युमर पलाएको छ भने महिनावारीमा बग्ने रगत मांसपेशीमा गएको छ भने (एटिनो माएल्सिस् ) वा बाहिर रगत जमेर बसेको छ, पाठेघर भित्र नै मासु पलाएको छ भने त्यसैबाट थाहा हुन्छ । अर्को, हाम्रो हर्मनहरुको इम्ब्यालेन्सको कारणले थाइराइडको समस्या, प्रोल्याक्टिन हर्मन त्यस्तो समस्या छ कि छैन त्यो छुटाउनु पर्यो । अर्को, पाठेघरको मुखको क्यान्सर छ कि छैन त्यो जाँच गर्नु पर्यो, पाठेघर भित्रको भित्री भागको क्यान्सर छ कि छैन त्यो पत्ता लगाउनु पर्यो । त्यो अहिले रहेछ भने अहिलेलाई अलि समय ठिक भए पनि पछि त्यो बल्झिहाल्छ । ऐजेरु सानो रहेछ भने त्यो आफै हराएर जान्छ र त्यसले दुख पनि दिँदैन तर ठूलो रहेछ भने त्यसको जटिलताको कारण अप्रेसन नै गर्नु पर्यो भने त्यसले समस्या दिन्छ । क्यान्सर जस्तो समस्या छैन भने पनि हामीले त जाँच गर्नु पर्दछ ।
यो समस्या वंशाणुगत रूपमा पनि जाने हो ?
आमामा छ भने छोरीमा पनि हुन सक्छ । तर, यो वंशमा नै जाने भन्ने हुँदैन ।
महिलामा यस्तो समस्या हुँदा घर परिवारले कस्तो भूमिका खेल्नु पर्दछ ?
घर परिवारले खासै चासो नदिएको पाइन्छ । महिलाले पनि यो समस्या नर्मल हो भनेर बस्ने गर्नु हुन्छ । कसैले उपचार गरेर सामान्य भयो भने यो त सामान्य हो रे भनेर सबैलाई भन्ने गर्नुहुन्छ । कसैलाई सामान्य भए पनि कसैलाई जटिल हुन सक्छ । त्यसैले समयमा जाँच नगर्दा क्यान्सर पनि हुन सक्छ ।
पछाडि कुनै समस्या नआओस् भनेर थप के के कुरामा ध्यान दिने त ?
समयमा डाक्टरको सल्लाह लिनु पर्दछ । पहिलादेखि नै तौल ठिक राख्ने । खानपानमा ध्यान दिने, बाहिरी खाना धेरै नखाने, प्याप स्मियर परीक्षण हाम्रो नेपाल सरकारले फ्रीमा गराउँछ त्यो गर्ने, महिनावारी सुकेपछि रगत बग्ने समस्या भएर आएको महिलाहरूलाई क्यान्सर भएको हो कि हैन भनेर जाँच गर्नु पर्दछ ।
के गरेमा यो समस्यालाई कम गर्न सकिन्छ ?
यो महिनावारी सम्बन्धी जति नै सानो रोग लागे पनि एक पटक जाँच गर्ने र त्यस्तो कुनै रोग छ कि छैन भनेर पत्ता समयमा नै लगाइयो भने उपचार गरेर धेरै हदसम्म सुधार गर्न सकिन्छ ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया