सांकेतिक तस्बिर

समाचार

१८ पहिरोपीडित परिवारले पाए नयाँ घर 

By खबरहब

October 25, 2022

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ अर्खले गाउँका पहिरोपीडितले नयाँ घर पाएका छन्।

दुई वर्षदेखि विस्थापित यहाँका १८ घरपरिवार कोही आफन्तको सहारा र कोही त्रिपालमुनि कष्टकर जीवन बिताउँदै आएका थिए।  उनीहरूका लागि अर्खलेबेँसी र मर्स्याङ्दी– ६ लाम्पाटा बगरमा घर निर्माण गरिएको  गाउँपालिकाले जनाएको छ।

गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए। पीडितका लागि लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा ६ तथा बाहुनडाँडामा एक घर निर्माण गरिएको छ।

०७७ सालमा अर्खले गाउँमा पहिरो आएपछि सिंगो गाउँ नै विस्थापित भएको थियो। घर नहुँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरू यसपालिको तिहार नयाँ घरमा मनाउन पाउने भएपछि हर्षित छन्।

गाउँपालिकाका अनुसार यसमा संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ। उक्त रकममध्ये जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख बजेट छुट्टाइएको थियो।