म्याङ्लुङ– तिहारलाई फूलैफूलको पर्वका रुपमा लिइन्छ । तर म्याङ्लुङमा यसपटक तिहारको समयमा फूल नफूलेपछि व्यवसायी र उपभोक्ता चिन्तित छन् ।
समयमै फूल नफूल्दा घर सजाउन र भाइटीकाका लागि फूलको अभाव भएको छ । तिहारमा आवश्यक फूल नहुँदा यसवर्ष प्लाष्टिकका कृत्रिम फूलहरूको भर पर्नु परेको छथर गाउँपालिका वडा नं ५ की सावित्रा पौडेलले गुनासो गरिन् ।
हर्कमाया दाहाल पनि तिहारका लागि बारीमा रोपेको फूल नफूलेपछि चिन्तामा छन् । ‘यसपटक फूलमा गरेको मेहेनत खेर जाने भयो । सबै फूल खोज्न आउँछन् तर रित्तो हात फर्काउनुपरेको छ’, उनले भने, ‘गाउँमै फूल नहुँदा यो वर्ष फूलको अभाव खेप्नु परेको छ ।’
तिहारका बेला फुल्नुपर्ने फूल यसपटक ढिलो गरी फुल्न लागेका कारण तेह्रथुममा तिहारका लागि प्लास्टिकका माला र फूलका गुच्छाहरू बिक्री भइरहेका छन् । सरकारले साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो ।
प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा एक लाखसम्म जरिवाना लगाइने राजपत्रमा उल्लेख छ । तर जिल्लामा निर्वाधरूपमा प्लाष्टिकका फूल बिक्री भइरहेका छन् ।
प्रतिक्रिया