काठमाडौँ खाल्डोको पनि खाल्डो हो। यो दृश्य हेर्न कुनै अग्लो डाँडामा पुगिरन पर्दैन। स्वयम्भु, शिवपुरी, तारेभिरको टुप्पोमा पनि चढ्नु पर्दैन।
बस् सार्वजनिक गाडी चढे पुग्छ । जहाँ खाल्डाको उचाई, गहिराई, चौडाई मात्रै होइन, मान्छेको अनुहार, आकार, व्यवहारदेखि दुव्र्यवहारसम्म आँखै अगाडी मञ्चन हुन्छ । त्यो हेर्ने मात्रै होइन, दैनिक भोग्नुपर्छ । सहनुपर्छ । बोल्नुपर्छ । बोलाउनुपर्छ । कहिले थर्काउनु पनि पर्छ । यो श्रृङ्खलासम्म कहिलेसम्म चल्ने हो, मैलाई थाहा छैन ।
हरेक दिन दिउँसो १ बजेदेखि नारायणहिटी दरबार नजिकै उभिने मेरो नियमित दैनिकी हो । जहाँ गाडी रोकिन्छ । मेरा लागि मात्रै होइन, हरेक यात्रुका लागि । अरुसँगै मैलाई लैजान्छ । बोकिदिन्छ । गाडी रोक्ने ठाउँमा उभिएर गाडीको पालो पर्खिनु मेरो लागि दैनिकी भएपनि कम सहज भने छैन ।
दैनिक उभिएकै ठाउँमा देख्छु, ‘यात्रु ओराल्ने तथा चढाउने ठाउँ ।’ लेखिएको कुरालाई शिरमाथि राखेर म टक्क उभिन्छ । गाडी कुरी बस्छु ।
लगभग १५ मिनेट कुरेपछि माइक्रोबस आउँछ ।
‘नक्साल, भाटभटेनी, धुम्रबाराही कहाँ जाने दिदी ?’ खलासीले मैतिर दुई चार शब्द फ्याक्छ ।
त्यसमाथि थप्दै लोभ देखाउँछ, ‘आउँनुस् सिट खाली छ ।’
जानुपर्ने कपन हुन्छ । मेरो पीडाको प्यारामिटर दरबारमार्गदेखि ज्वरो नाप्न थाल्छ ।
सहचालकले माइक्रोको ढोका खोल्छ । सिट नै सिट छन् । सिटभन्दा माथि मान्छे नै मान्छे । मान्छेभन्दा माथि अट्ने ठाउँ नभएर हो । नत्र टाउकोमा पनि मान्छे हुन्छन् होला ।
त्यहाँ खुट्टा टेक्ने ठाउँ हुँदैन । तर सहचालक भन्छ, ‘दिदी सिट खाली छ ।’
मैले पनि निधार खुम्च्याएर जवाफ दिएँ, ‘म अर्को माइक्रोमा जान्छु ।’
फेरि माइक्रो कन्डक्टरले भन्यो, ‘एकछिन त हो । नक्सालबाट खाली भइहाल्छ बस्नुस्, आज गाडी छैन दिदी । टाइम लाग्छ । अर्को गाडी आउँदैन । बस्नुस न ।’
मैले बालै दिइन् । उसले कराउन पनि छाडेन । घुर्की, धम्की, लोभ उसले केही छाडेन । केवल मलाई अर्को एउटा भेडा बनाउन चाहने उसको योजनालाई मैले लत्याइदिए ।
म जाँदिन भनिहाले । अर्को आइहाल्छ सोचेँ । तर एउटा जानेवित्तिकै अर्को आएन । घडीमा आधा घण्टाको पर्खाईपछि बल्ल अर्को माइक्रोको दर्शन पाइयो ।
अवस्था उस्तै थियो । खुट्टा टेक्न मिल्ने गरि चढ्न पनि मुश्किल हुने गरि यात्रुको भीड थियो । दुई जनाको सिटमा तीन जना बसेका थिए । चार जनाको पछिल्लो सिटमा ५ जना कोचिएका, पहिलो सिटको अगाडी उल्टो फर्किएर चारजना जसोतसो अडिएर बसेका थिए ।
ढोकामा अर्को एक जना थिए । उभिने मिल्ने गरि पनि ठाउँ थिएन । त्यसमाथि उनी खुट्टा फैलाएर बसेका थिए ।
यो सबै देखेर म फेरि दोधारमा परेँ । यस्तो भेडा खाँदिएको जस्तो माइक्रो चढ्ने कि नचढ्ने ? घडीको सुई हेर्दा अत्यास लागिसक्यो । जाउँ भने माइक्रोको हालत यस्तो छ ।
त्यसैमा कन्डक्टर भाइले भन्यो, ‘नक्सालमा खाली हुन्छ दिदी । चढिहाल्नुस ।’
त्यो भाइको बोलीले जानै कर लाग्यो । त्यसमाथि पर पुगेपछि खाली हुने आश्वासन थियो नै ।
माइक्रो चढेँ । चढेको केहीबेरपछि त माइक्रो नक्साल पुगिहाल्यो । तर मान्छे झरेनन् । सिट खाली भएन । उल्टै कन्डक्टर माइक्रोमा सिट खाली छ भन्दै मान्छे बोलाइरहेका थिए ।
फेरि टाउको भित्रतिर हातले धकेल्दै भन्दै थिए, ‘अलिक पछाडी जानुस्, तपाईँको पछाडी अझै ठाउँ छ ।’
रिस नियन्त्रणमा रहेन । भनिहालेँ, ‘भाइ अब कहाँ राख्ने हो मान्छे ? बस्ने त के उभिने ठाउँ पनि छैन त ।’
त्यसबेला झन् कोरोनाको तेस्रो लहरको आतंक थियो । स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने प्रशासनको उर्दी थियो । चालक र सहचालक त पैँसाको लोभले मापदण्ड पैतालामा कुल्चिदै थिए । हामी यात्रु पनि मापदण्ड सम्झेर खुट्टा मात्रै राख्न मिल्ने ठाउँ हेरेर माइक्रो चढिरहेका थियौँ ।
उसले जवाफ फर्काइहाल्यो, ‘कोरोना सर्छ भनेर खाली गाडी कुदाउने कुरा हुँदैन । के गर्नु दिदी, मान्छे पाए सम्म त हाल्नै पर्यो नी ।’
बडो सास्ती थेगेर माइक्रोभित्र यात्रु कोचिएका थिए । बस्ने ठाउँ छैन । उभिने ठाउँ भेट्न मुश्किल थियो ।
तर पनि भन्न मन लाग्यो, ‘भाई सिट खाली छ भनेर मान्छे चढाउने । अलि पर पुगेपछि खाली हुन्छ भनेर ढाट्न चाँही कति सकेको छ ? मैले अहिलेसम्म बस्ने सिट पाएको छैन । यसरी झुक्याउनु भएन ।’
उसले झन् झोक्किदै भन्यो, ‘काठमाडौंमा गुड्ने गाडीमा सहज खोजेर कहाँ हुन्छ, दिदी । सहज त ट्याक्सीमा हुन्छ । त्यसैमा हिड्नुस । नीजि गाडीमा हुन्छ । आफ्नै कार किनेर चढ्नुस । सहज र सुविधाको लागि आफ्नै साधन चाहिन्छ दिदी ।’
मैले उसको व्यवहार र सार्वजनिक यातायातबारे गुनासो गरेँ । उसले पाठ पढाईहाल्यो । मानौँ, हामी सार्वजनिक यातायातमा यात्रा गर्ने सबैले गाडी चढेर अपराध गरिरहेका छौँ । अनि हामीमाथि उनीहरुले मनोमानी जे गरेपनि हुन्छ ।
मैले यातायात व्यवस्था विभागको निर्देशिका सम्झिएँ। जहाँ लेखिएको छ, ‘माइक्रो बसको ‘सिटिङ क्यापासिटी’ चालकसहित १४ जना हुनुपर्छ।’
लेखिएको त त्यही थियो । तर कहाँ लेखेको हुन्छ र ? लेखाई एउटा गराई अर्कै । त्यो लेखाई त्यो भाईलाई सुनाएको भए उसले भन्दिन्थ्यो, ‘यो निर्देशिका रक्सी खाएर लेखिएको हो । रक्सी भनेको घुस । घुस भनेको पैँसा । थाहा पाउनुभयो दिदी ।’
भो मैले सुनाइँन् । मैले उसलाई पैँसा दिएर त हो नि उसले सबै यो मनोमानी माइक्रोभित्र मच्चाएको । पैँसा भनेपछि उसलाई पनि मान्छे होइन, मान्छेलाई भेडा बनाइराख्न मन पर्छ । सायद साहुले यो बाध्यता बढाएको होला पनि ।
यति सोच्दासोच्दै माइक्रो धुम्रबाराही पुग्यो । त्यत्तिञ्जेल दुई जना मान्छे गाडीमा थपिएका थिए । उकुसमुकुस झन् बढ्यो । चोकमै ट्राफिक प्रहरी थिए । तर कसैले आँखा लगाएनन् ।
म धुम्रबाराही चोकमै झरेँ । मुस्किलले ढोकासम्म त आएँ । फेरी सहचालक भन्न थाल्यो, ‘भाडा अघि नै दिनु पर्दैन ।’
अर्को रिस उठ्यो । झ्वाक चलेकै बेला बोलेँ, ‘यता उता हलचल हुन नमिल्ने गरि मान्छे हालेपछि कसरी पैँसा निकाल्नु हाउँ ।’
त्यसमाथि खुद्रा पैँसा थिएन । पाँच सय रुपैयाँको नोट उसको हातमा थमाएँ ।
मसँगसँगै एक जना बहिनी पनि झर्न लागेकी थिइन् । उनले १५ रुपैयाँ पैसा दिदै सहचालकलाई भनिन्, ‘मसगँ विद्यार्थीको कार्ड छ ।’
सहचालक फेरि रिसाउँदै भन्न थाले, ‘माइक्रोमा कार्ड चल्दैन ।’
‘किन ? सधैँ कार्ड चलिरहेकै छ त । म कार्ड देखाएरै आउने गरेकी छुँ,’ ती बहिनीले भनिन् ।
सहचालकले ठूलो स्वरमा भने, ‘दिदी ठुला बसमा मात्र हो कार्ड चल्ने, हाम्रा साना गाडीमा हैन, खोइ ५ रुपैयाँ थप्नुस् ।’
उनीहरुको विवाद बढ्यो । मलाई रिस उठिरहेकै थियो । बहिनीमाथि अन्याय हुन लागेपछि मुख खोलेँ ।
‘सरकारले विद्यार्थीलाई सार्वजनिक यातायातमा यात्रा गर्दा ४५ प्रतिशत छुट दिएको छ । बहिनीले परिचयपत्र देखाउँदा पनि तपाईँ छुट छैन, कार्ड चल्दै भन्नु हुन्छ ? यसरी ठग्न पाइन्छ’ मैले प्रश्न गर्दै भनेँ । तर उसले बेवास्ता गरिरह्यो ।
फेरि भन्न थाल्यो, ‘कार्ड चल्दैन भनेको तपाईँहरु बुझनु हुन्न ।’ मानौँ ऊ यो देशको सबैभन्दा ठूलो मान्छे हो । प्रहरी, प्रशासनभन्दा पनि ठूलो । प्रचण्ड, ओली र देउवाभन्दा पनि ठूलो । उनीहरु कसैको कानून मान्दैनन् ।
भन्दिए, ‘बहिनी तपाईँले पैँसा थप्नु पर्दैन, हिड्नुस् ।’ मैले उसलाई ओभरटेक गरिदिएँ ।
सहचालकसँग पैसा फिर्ता माग्दै भनेँ, ‘भाई नरिसाउ, कहिलेकाँही यात्रुसँग मीठो बोल्ने गर्नुस् । नम्र व्यवहार गर्नुस । यो देशका ओली, देउवा र प्रचण्ड पनि जनतासँग मिठो बोल्छन् । सम्मान गरेर बोल्छन् । यात्रुलाई राम्रो व्यवहार गर्नुपर्छ ।’
उसले मेरो सुझाव भुईमा खस्न नपाउँदै भन्यो, ‘तपाईका कुरा ती नेतालाई सुनाउनुस् दिदी । माइक्रोमा अरुले बोलेको चल्दैन । मैले जे बोल्यो त्यही चल्छ । देख्नुभएन ।’
यत्ति भनेर उसले पैँसा हातमा थमायो । पैँसा हातमा परेर हिड्दै गर्दा लाग्यो, देउवा, ओली र प्रचण्डभन्दा पनि ठूला सहचालक । अर्थात बिचौलिया । हामी यात्रुकै पैँसा खाएर हामीमाथि नै अत्याचार ।
र, हामी भन्न छाड्दैनौँ, हामी एक सभ्य नागरिक । जिम्मेवार नागरिक । अब अर्को कुरा पनि थप्नुपर्छ, हामी एक जिम्मेवार अत्याचार देख्ने, भोग्ने र सहने नागरिक । किनकी एक दिन होइन, मेरो दैनिक यात्रामा यस्तै अत्याचार सहने बानी भइसक्यो । आखिर बोलेर मात्रै केही हुँदैन ।
प्रतिक्रिया