नुवाकोट– नुवाकोटका दुई वटा वडामा स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनमा दलित महिलामा उम्मेदवारी नै दर्ता नभएको पाइएको छ ।
दुप्चेश्वर गाउँपालिका–१ र तारकेश्वर गाउँपालिका–६ मा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विभिन्न पार्टीले उम्मेदवारी दर्ता गराए पनि दुप्चेश्वर–१ मा दलित महिला पदमा उम्मेदवारी नपरेको दुप्चेश्वर गाउँपालिका निर्वाचन अधिकृत केशरबहादुर पण्डितले जानकारी दिए ।
दुवै वडामा दलितको घर नै नभएका कारण कुनै पनि दलले उम्मेदवार पाउन नसकेको कारण खाली हुन पुगेको हो । यसैबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नुवाकोटका १२ वटा स्थानीय तहमा दुई हजार २४ ले उम्मेदवारी दिएका छन् ।
आइतबार र सोमबार भएको मनोनयनमा जिल्लाका १२ स्थानीय तह र ८८ वटा वडाका लागि विभिन्न राजनीतिक दलका तर्फबाट उम्मदेवारी दर्ता भएको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाका अध्यक्ष र सदस्य गरी ४६४ पदको लागि उम्मेदवारी परेको हो ।
निर्वाचन अधिकृतहरूले दिएको जानकारीअनुसार स्थानीय तह २० जना अध्यक्षमा ७० जना, १५ जना उपाध्यक्षमा ५५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्षमा ४७० जना, महिला सदस्यमा ३६७ जना, दलित महिला सदस्यमा ३०८ जना र सदस्यमा ७१९ जनाले उम्मदेवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया