काठमाडौँ – संघीयता कार्यान्वयनको पहिलो कार्यकाल सकिदा सबै पालिकाहरूले अब दोस्रो कार्यकालका लागि नयाँ प्रतिनिधि पाएका छन् । स्थानीय तहका ७५३ पालिकामा नतिजा आएसँगै जनप्रतिनिधीहरु सेवामा लागिसकेका छन् । देशकै सबैभन्दा पुरानो नगरपालिकामध्येको एक भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति दोहोरिएका छन् । उनको इमान्दारिता र भक्तपुरका नेवार समुदायमा परिचित सुनील प्रजापतिसँग दोस्रो कार्यकलाको योजना तथा एजेन्डाका विषयमा खबरहबका लागी लक्ष्मण फुयालले गरेको कुराकानीको सारसंक्षेप :
भक्तपुर नगरपालिकाको मेयरमा फेरि निर्वाचित हुनुभएकोमा बधाई । अघिल्लो कार्यकालमा पूरा गर्न नसकेको कुन कामलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ?
धन्यवाद तपाईँलाई पनि । अहिले जनताको समस्या खानेपानीको छ । हामीले पहिलो कार्यकालमै मेलम्चीको पानी ल्याउने निकै प्रयास गरेका थियौँ । खानेपानी बोर्डमा, केयुकेल बैठकमा बारम्बार कुरा उठाएका थियौँ । अहिले कटुन्जेमा ८० लाख लिटर अट्ने पानी ट्याङ्की तयार भएको छ । त्यति हुँदा पनि भक्तपुरका जनताले मेलम्चीको पानी पाउन सकिरहेको स्थिति छैन । जेठको ६ गते हामीले शपथग्रहण गर्यौँ। शपथग्रहण गरे लगतै केयुकेलका प्रमुख, खानेपानी बोर्डका डाइरेक्टर भक्तपुरका खानेपानी प्रमुख, सिडियो लगायत एसपी सबै व्यक्तिहरूलाई खबर गर्यौ । तत्कालै उनीहरूलाई भक्तपुरका जनतालाई खानेपानीको व्यवस्था मिलाउन भनेका छौँ ।
तर विविध कारणले पानी आउन सम्भव नभएको भन्नुभएको थियो । तर हामीले खानेपानीका प्रमुख केयुकेयलका प्रमुखसहित कटुन्जेमा हेर्न गएका थियौँ । जहाँ समस्या छ, त्यहाँ तुरुन्त मर्मत गर्ने पाइप फेर्ने जे गर्नु पर्ने भन्दै खानेपानीको प्रमुख केयुकेयलका प्रमुखलाई फोन मार्फत भनेका थियौँ । उहाँहरुले त्यही केही दिन भित्र सम्पन्न गर्दिने आश्वासन दिनुभएको छ । त्यस ठाउँमा समस्या रहेछ यसलाई चेन्ज गर्ने पानी तर उहाँहरूले त्यति पनि चासो गर्नुभएको रहेनछ । हामीले हेरेर यसमा मर्मत गर्ने काम सुरु भैसकेको छ । खानेपानी आउने प्रक्रिया सुरु भैसकेको छ । भक्तपुर नगरपालिकाको पहिलो प्राथमिकता भनेको भक्तपुर बासीहरुले राम्रो खानेपानीको प्रबन्ध गर्ने नै हो । जति पुग्छ त्यसलाई व्यवस्थापन गर्छौ । नपुगेको ठाउँमा अन्य स्रोतमार्फत बोरिङ मार्फत अन्य ठाउँबाट आपूर्ति गर्ने व्यवस्था मिलाउँछौँ ।
भक्तपुर नगरपालिका समग्र सांस्कृतिक तथा सम्पदाहरूले भरिएको क्षेत्र हो । यो क्षेत्रको सांस्कृतिक सम्पदाहरूको विकास गर्ने कस्तो योजना बनाउनुभएको छ ?
२०७२ सालको भूकम्पले धेरै सम्पदाहरूमा क्षति भएको थियो । हामीले १२४ ओटा सम्पदाहरू बनाइसकेका छौँ वा पुन निर्माण गरिसकेका छौँ । थुप्रै अन्य ठुला सम्पदाहरू साना सम्पदाहरू बनाउन बाँकी नै छ । त्यसमध्यमा भक्तपुरको भाज्या पुखु निर्माणाधीन अवस्थामा छ । त्यो पनि छिटोभन्दा छिटो सम्पन्न गर्छौ । इखालाछी मठ त्यो ठुलो छ । निर्माणाधीन रहेको छ । त्यो पनि यो कार्यकालमा हामी त्यसलाई सम्पन्न गर्छौ । लक्ष्मीनरसिंह मन्दिर लगायत अन्य थुप्रै सम्पदाहरु सम्पन्न गर्छौ । जो निर्माणाधीन अवस्थामा छन् ती सबैको सम्पन्न गर्नेछौँ।
पुन निर्माण गर्छौ । दरबार स्वायर चोकमा रहेको ९९ चोकलाई कसरी संरक्षण गर्ने सोचमा हामी छौँ । यसलाई संरक्षण गर्न हाम्रो ध्यान जानेछ । त्यसलाई उत्पन्न संरक्षण गर्ने ध्यान जानेछ । दरबार क्षेत्रमा टेको लगाइराखेको न्हयंक झ्या दरवार मल्लकालीन शैलीमा पुन निर्माण कार्य अगाडि बढाउने छौँ । अन्य विभिन्न सम्पदाहरू छन् तिनीहरूलाई क्रमशः बनाउँदै लैजानेछौँ । निर्माण हुन बाँकी रहेका ९९ चोक, जगन्नाथ क्षेत्र उत्खनन र पुन निर्माण अगाडि बढाउँछौ । समय धेरै लाग्न सक्छ । त्यो प्रक्रिया बिस्तारै अगाडि बढाउँछौ । भक्तपुरलाई सांस्कृतिक नगरको रूपमा पहिचान दिने वातावरण बनाउँछौ ।
भक्तपुर नगरपालिकाको समग्र शिक्षालाई कसरी अगाडि बढाउनुहुन्छ ?
मावि तह र उच्च शिक्षा तह गरी शिक्षा दुई किसिमका छन् । मावि तहसम्म एकल अधिकार हुने नगरपालिका या पालिकाहरुलाई छ । तर नेपाल सरकारले यसमा अलिकति कानुन विपरीतको सम्झौता गरेको हामीले पाएका छौँ । शिक्षा मन्त्रीजीले व्यापक जनताको हितमा शिक्षालाई ल्याउन खोजिरहेको छैन । उदाहरण भक्तपुर नगरपालिकामा नै छ । हामीले २०६० सालदेखि निरन्तर रूपमा नर्सिङ कलेज सञ्चालन गर्दै आएकोमा नर्सिङ कक्षा नै बन्द गर्दिनुभयो । उहाँहरूले भन्नुभयो तपाईँहरूको आफ्नो १०० बेडको अस्पताल छैन । तपाईँहरूले भर्ना लिन पाउनुहुन्न भन्नुभयो । यो वर्ष ख्वप बहु प्राविधिक कलेजमा ४० जना भाइ बहिनीहरूले पढ्न पाउनु भएन । कैयौँ विद्यार्थीहरुले पढ्न नपाउनु राज्यको राम्रो कदम होइन ।
हामीले जुन हिसाबले शिक्षालाई जोड दिइरहेका छौँ । सामुदायिक शिक्षा र निजी क्षेत्रको शिक्षाबीच कुनै भेद नहुने गरी स्तर विकास गरिरहेका छौँ । कुनै पनि सामुदायिक विद्यालय निजीभन्दा कमजोर छैन भन्न सक्ने स्थितिमा पुराउनको निम्ति विभिन्न शिक्षकहरुलाई तालिमहरु दिने छौ । शिक्षकहरुको हेरफेर गर्ने छौँ । हाम्रो सामुदायिक विद्यालयहरु बिस्तारै माथि उठ्दैछन् । केही विद्यालयहरूमा सुधार गर्न आवश्यक छ । यसमा हाम्रो ध्यान जाने छ । विभिन्न आधारभूत विद्यालयहरूमा कार्यकाल सकिन लाग्दा आर्थिक अनुदान दिएका थियौँ । पढाईकन साथ साथै भौतिक संरचना राम्रो बनाउन आर्थिक अनुदान दिएका छौँ । शौचालय पुस्तकालय बनाउन सहयोग गरेका छौँ । अन्य विभिन्न सुधारको निम्ति नियमित रुपमा प्रयोगशाला बनाउन अनुदान दिदै आइरहेका छौँ । सबैले समान शिक्षा पाउन सकुन् भनेर शिक्षालाई जोड दिएका छौँ ।
गरिबहरूले उच्च शिक्षामा पढ्नको निम्ति छात्रवृत्तिको बन्दोबस्त गरेका छौँ । करोडौँ रुपैयाँ दिएका छौँ । उच्च शिक्षाको निम्ति प्रतिव्यक्ति ५ लाखको शैक्षिक ऋणको व्यवस्था गरेका छौँ । त्यसमा ३१४ जना विद्यार्थीहरू पढिरहेका छन् । विभिन्न विषयहरूमा पढ्न पूर्ण छात्रवृत्तिको व्यवस्था गरेका छौँ । शिक्षामा धरै नै भक्तपुर नगरपालिकाको लगानी छ । यो समाज परिवर्तनको निम्ति हो । हाम्रो व्यक्तिगत पैसा लगानी गरेको होइन जनताले तिरेको करबाट जनतालाई उच्च शिक्षा प्रदान गर्ने हिसाबमा सोचिरहेका छौँ । धेरै जनताहरू खुसी हुनुहुन्छ । अभिभावकहरू पनि खुसी हुनुहुन्छ । हामी पढाउनेहरूलाई पनि आनन्द लाग्छ । वास्तवमा गरिब जनताको सेवा गर्ने वास्तविक रूप यसरी नै हो । यसरी सेवा गर्न सक्यौ भने समाज परिवर्तन गर्न गाह्रो छैन । पहिलो शिक्षा हो । शिक्षाले समाजलाई बदल्छ । संसारलाई बदल्छ । शिक्षामा नै हाम्रो जोड छ ।
तपाईँहरूले शिक्षामा जोड दिने बताउँदै गर्दा ख्वप विश्वविद्यालय अब कसरी सञ्चालन गर्नुहुन्छ ?
ख्वप विश्वविद्यालय भनेर हामी धेरै बोली सकेका छौँ । ठाउँ ठाउँमा मन्त्रीहरू तथा प्रधानमन्त्री भेटेका छौँ । विधेयक तयार गरेर शिक्षा मन्त्रीदेखि सांसदहरूको हात हातमा पुगिसकेको छ । यसलाई उहाँहरूले पेस गरिदिनुभएन । हाम्रो भन्दा पछाडि आएका विश्वविद्यालयहरूले सञ्चालन नै गरिसकेका छन् । तर ख्वप विश्वविद्यालयको बारे काम अगाडि बढेन । हामीले ख्वप विश्वविद्यालय सञ्चालन गरेर अरुलाई सम्बन्धन दिएर नाफा लिन खोजेको होइन । हामीले आफ्नै संरचनालाई विश्वविद्यालयको रुपमा लिने योजना हो । यस अन्तरगत मेडिकल कलेज खोल्ने सस्तोमा जसरी इन्जिनियरिङ कलेज सञ्चालन गरेर गुणस्तरीय शिक्षा दिइरहेका छौँ ।
विभिन्न कलेज खोलेर उच्च शिक्षा दिइरहेका छौँ । त्यसरी मेडिकल कलेज खोलेर सस्तोमा मेडिकल डाक्टर पढाउने सोच थियो । तर छुट्टै मेडिकल कलेज खोल्न लाग्दा पनि सरकारले गोविन्द केसीसँगको सम्झौताले त्यो सम्भव भएन । यसरी न ख्वप विश्वविद्यालयको काम अगाडि बढ्न सक्यो न मेडिकल कलेज बढ्न सक्यो । जनताको छोराछोरीलाई सस्तोमा पढाउने चाहना हुँदाहुँदै पुरा हुन सकेन । मेडिकल कलेजहरुका महंगो तथा अतिरिक्त शुल्कको कारण गरिब जनताको छोराछोरी पढ्न नपाउने अवस्था आएको छ । यस्तो वातावरण भयो । हामीले सस्तोमा पढाइदिन्छौ बारम्बार भन्दा पनि गोविन्द केसी जीको सम्झौतालाई देखाउँदै हामी अगाडि बढ्न सकेनौ । हामीले चाहाना राखेका छौँ । जनताले चाहना अगुवाइ गरिरहेका छन् । दिनेहरूले नदिएपछि हामीले सक्ने सम्भावना भएन ।
स्वास्थ्य क्षेत्रलाई समृद्ध बनाउन नगरपालिकाको कार्यक्रम के के छन् ?
स्वास्थ्य क्षेत्र जनताको निम्ति गाह्रो विषय हो । जनताको निम्ति अति आवश्यक विषय हो । आधारभूत आवश्यकतातर्फ पनि हाम्रो ध्यान गएको छ । सुरुको जनस्वास्थ्यलाई ख्वप अस्पतालमा रुपान्तरण गरेर धेरै डाक्टर राखेर उपचार सेवा दिइरहेका छौ । टोल टोलमा वडा वडामा डाक्टर सहितको स्वास्थ्य चौकी बनाइदिएका छौ । ख्वप अस्पतालमा दैनिक ७५० संख्यामा उपचार सेवा लिइरहनु भएको छ । सहज तथा थोरैं पैसामा सेवा लिनुभएको छ । घर घरमा नर्सहरु परिचालन गरेका छौ । आँखा, आयुरवेदिक, दमखोकीको लगायत जति पनि आवश्यक स्वास्थ्य छन् यसमा नगरपालिकाले सहजतापूर्वक सेवा उपचार सञ्चालन गरेको छ । स्वास्थ्यमा जनताले ठिकै सुविधा पाएका छन् अव जनताले गुणस्तरीय सेवा दिने योजना तथा कार्यक्रम छ । तत्काल छिटो भन्दा छिटो सेवा दिने योजनामा गइरहेका छौँ ।
नगरमा रोजगारीको अवस्था सिर्जना गर्ने कस्तो कार्य योजना छ ?
नगरपालिकामा धेरै कलेजहरु छन् । कलेजबाट उत्पादित जनशक्तिहरुलाई श्रमसँग जोड्ने नीति लिएका छौँ । सकेसम्म सीपमूलक तालिम होस् । नयाँ नयाँ भाषाविदहरुले सिकुन् भनेर जापनिज भाषा, चिनिया भाषा डकर्मी सिकर्मी लगायत महिलाहरूको निम्ति सिलाई बुनाई लगायत थुर्पै तालिमहरू दिएका छौँ । यसबाट आत्मनिर्भर भएर बाँच्न सक्छन् । आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर जोड दिएर काम गरिरहेका छौ । यसबाट धेरै लाभान्वित भएका छन् ।
अब मोबाइल मर्मत मोटरसाइकल मर्मतका प्रशिक्षण कार्यक्रम राख्ने छौ । आधुनिक प्रविधिका मर्मत कार्यक्रम तालिम सञ्चालन गर्ने छौ । यो कार्यकालमा धेरै जनतशक्ति तयार गर्नेछौ । यसबाट रोजगारको प्रवर्द्धन हुनेछ। सँगसँगै डकर्मी सिकर्मी तालिमले गर्दा जति पनि पर्यटकहरू आउँछन् । उनीहरुले बेच्ने किन्ने समानहरु यहाँ उत्पादन उपयोग होस् भन्ने लक्ष्य हो। एकतिर रोजगारको प्रवर्द्धन हुने हामीले बनाएको समान हाम्रो पहिचान पनि हुने दिँदै जाने हो । भक्तपुरको जुजु धौ, भादगाँले टोपी, भक्तपुरको टाइचिन चिउरा लगायतले पहिचान साथै यही खान भक्तपुर आउने वातावरण बन्दा थप आन्तरिक पर्यटन प्रवर्द्धन हुन्छ । यसबाट भक्तपुरमा युवाहरुले रोजगारीको वातावरण बन्न सक्छ । यस्तो रोजगारी प्रवर्द्धन गर्न कोसिस गरिरहेका छौँ ।
हाम्रो हरेक क्षेत्रमा परनिर्भरता बढ्दै गएको छ यस नगरपालिकामा भक्तपुरको कृषि आधुनिकीकरणलाई कस्ता कार्यक्रम लागु हुन्छ ?
कृषि आधुनिकीकरणको लागि हामीले तालिमहरू दिएका छौ । नयाँ नयाँ विउविजनको प्रयोग । नयाँ नयाँ कृषि औजारको प्रयोग । ती औजार अनुदानमा दिने व्यवस्था गरेका छौ । कृषिसँग सम्वन्धित माटो परीक्षण कसरी गर्ने थोरै जग्गामा धेरै उत्पादन कसरी गर्ने । किसानहरूलाई कृषि तालिमको व्यवस्था गरेर त्यसको उत्पादन सम्म कृषि आधुनिकीकरणको नगरपालिकाले जग्गा बहालमा लिएर ५ महिना तालिम दिएर थोरै जग्गाबाट सुरु बाट अन्तिम सम्म यसको उत्पादन सम्म तालिम दिएका छौ । यसरी कृषि आधुनिकीकरण सँगसँगै लागि नयाँ नयाँ बिउ उत्पादन तरकारी उत्पादन तालिमहरू सञ्चालन गरेका छौ ।
समग्र खेलकुद विकास गर्न नगरपालिकाले कस्तो एजेन्डा बनाएको छ ?
भक्तपुर नगरपालिकाले ६ खेलमा नियमित प्रशिक्षण दिँदै आएको छ । भलिबल, फुटबल, बक्सिङ, जिम्नेस्टिक, टेवलटेनिस लगायत खेलको नियमित प्रशिक्षण दिँदै आएको छ । पूर्णकालीन खेलकुद प्रशिक्षकहरु नियुक्ती गरेर विद्यालय विद्यालयमा सिकाउदै आएकोमा यसलाई अझ बढी विस्तार गर्ने हो । शिक्षकहरू थप्दै जाने हो । विद्यालयका हरेक विद्यार्थीलाई कुनै न कुनै खेलकुदमा भाग लिने वातावरण तयार गर्ने हाम्रो कोसिस रहन्छ । हरेक वर्ष अन्तर्नगर प्रतियोगिता गर्ने कार्यक्रम छ ।
हाम्रो ९२ वटा विद्यालयमा धेरै विद्यार्थीहरु पढ्छन् । ती सबै विद्यार्थीहरुलाई खेलकुदमा भाग लिन लगाउने भनेर हरेक वर्ष अन्तर विद्यालय प्रतियोगिता पनि गर्छौ । गएका वर्षमा गरेका थियौँ । अबका दिनमा पनि यी कार्यक्रम गर्छौ । हरेक वडा वडामा युवा तथा ज्येष्ठ नगारिकहरुलाई स्वस्थ्य जीवन निर्वाह गर्नको लागि वातावरण तयार गर्ने वडा वडामा खुल्ला व्यायामशाला राखेका छौँ । नगरपालिका भित्रका २३ ओटा ठाउँमा व्यायामशाला राखेको छौँ । धेरैले प्रयोग गरेका छन् । हरेक नागरिकलाई शारीरिक तथा मानसिक रुपले तयार गर्ने र जसले समाज परिवर्तन गर्ने धेरै नै भूमिका खेल्न सक्छ । खेलकुदमा नगरपालिकाले विस्तार गर्ने छ जोड दिने छ ।
भक्तपुर नगरपालिकाभित्र नदी सरसफाइ लगायत स्वस्थ्य वातावरण बनाउने विषयमा के जोड दिन्छ ?
सफाइ सबैको निम्ति चुनौतीको विषय हो । हाम्रो सर्वेले के देखाउँछ भने प्रत्येक पाँच जना व्यक्तिले दैनिक एक किलो फोहोर निकाल्छ । एक किलो फोहोर सफा गर्नको निम्ति ९ रुपैयाँ पर्छ । सपाइको निम्ति विभिन्न प्रक्रिया अवलम्बन गर्दै भक्तपुर नगरलाई सफा नगरको रूपमा राखिरहेका छौँ । नगर सफा भए तापनि खोलालाई सफा गर्न सकेका छैन ।
दुवै खोला सफा गर्नका निम्ति भक्तपुर नगरपालिका र पीआडीसँगको संयोजनमा दुई ओटा फोहोर पानी प्रशोधन गर्न पोखरी निर्माण गर्दैछौ । यो निर्माण सम्पन्न भएमा भक्तपुरको फोहोर सिधै खोलामा जाने छैन । यसलाई प्रशोधन गरेर मात्रै पठाउने व्यवस्था गर्छौ । हनुमान घाटमा २९ करोड योजना र सल्लाघारीमा त्यो काम अगाडि बढिसकेको छ । यसरी केही वर्षमा नगर पनि सफा खोला पनि सफा हुनेछ । सुन्दर भक्तपुर, सफा भक्तपुर हेर्न लायक मौलिक शैलीहरुले घरहरु भरिएको भक्तपुर बनाउने कोसिस छ । हामी त्यसलाई अगाडि बढाउँदै छौँ ।
भक्तपुरको कला संस्कृति जोगाउन नगरपालिकाले के गर्ने छ ?
हामीसँग धेरै अमृर्त सम्पदाहरू छन् । मठमन्दिर मात्रै होइन दाफा भजन विभिन्न खालका भैल्य प्याख ख प्याख भनेजस्तै थुप्रै सांस्कृतिक विद्याहरु छन् । यसलाई जीवन्त राख्नको निम्ति हरेक वर्ष विभिन्न परम्परागत बाजाहरूको प्रतियोगिताहरू गरिरहेको छौ । गरिरहने छौ । हामीसङ भएको सीप नयाँ पुस्तामा हस्तान्तरण भइरहेको छ । हामीसँग भएको सांस्कृतिक परम्पराहरूलाई नृत्य हस्तान्तरण र पुस्तान्तरण गरिरहेका छौँ । बाजाहरूको निम्ति आर्थिक सहयोग गर्ने प्रतियोगिता गर्ने काम टोल टोलमा प्रशिक्षण व्यवस्था गरिरहेका छौ । सांस्कृतिक केन्द्र स्थापना गर्ने । हरेक शिक्षण संस्थाहरूमा सांस्कृतिक गुरुहरूमार्फत परम्परागत बाजा एवम् नृत्यहरूको तालिमको व्यवस्था मिलाउने छौँ । भक्तपुर जीवित संग्रालय बनाउन हाम्रो जोड छ । कला संस्कृतिलाई बिस्तारै व्यवसायीकरण गर्दै रोजगारीको प्रवर्द्धन गर्न लाग्नेछौ ।
भक्तपुर नगरपालिकाले आवास योजना बनाएको छ । यसमा केही समस्याहरू पनि आएको देखिन्छ । यसलाई कसरी व्यवस्थापन गर्ने योजनामा हुनुहुन्छ ?
हामीले विभिन्न आयोजनाहरू सम्पन्न गरेका छौँ । अहिले अन्तिम चरणमा भइरहेको देको मिवा इटाँपागि आवास योजना छ । जहा १६ सय ५४ रोपनी जग्गामा आवास योजना सञ्चालन गरिरहेका छौँ । त्यहाँ जनताका समस्याहरू छन् । जनताका गुनासाहरू छन् । स्वाभाविक रूपमा जनताका गुनासाहरू आउँछन् । उहाँहरुसँग समन्वय गर्दै हामी अगाडि बढिरहेका छौ । झन्डै एक तिहाइ जग्गा फिर्ता दिने निर्णय गरिसकेका छौ । अरू पनि धेरै प्रक्रियामा छन् । लिवाली आवास योजनामा सबै पिच गरिसकेका छौ । व्यवस्थित सहर बनाउने हाम्रो योजना छ । त्यसमा हामी लागेका छौ ।
नगरपालिकाको समग्र आर्थिक अवस्था राम्रो बनाउन कस्ता कस्ता कार्यक्रम जनताको माझमा लादै हुनुहुन्छ ?
हरेक क्षेत्र आर्थिक अवस्थासँग जोडिएको हुन्छ । हामीले बजार व्यवस्थापन तरकारी बजार व्यवस्थापन पार्किङ व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौ । विभिन्न खालका आर्थिक गतिविधिहरू कुनै कुनै कार्यक्रम गरेर आन्तरिक पर्यटनहरू प्रवर्द्धन गर्ने रोजगारी सिर्जना गर्ने । भक्तपुर महोत्सव गर्ने लगायत कुनै कुनै गतिविधि गरिरहने आन्तरिक पर्यटन संख्या बढाउने। हाम्रो पुरानो सहरलाई पर्यटक पदमार्गको रूपमा विकास गर्ने सोच थियो । यसबाट आम्दानी बढाउन सहयोग हुन्छ ।
अन्तिममा आम नागरिकको विकास र तपाईँप्रतिको धारणा कस्तो पाउनु भएको छ ?
भक्तपुरको विकास तपाईँहरूले गर्नुहुन्छ भनेर जुन विश्वास गर्नुभयो यसको निम्ति आभारी छौ । नागरिकहरूको पनि आफ्नो कर्तव्य छ । तपाईँहरूले पनि आफ्नो कर्तव्य नबिर्सिदिनूहोला । हामीले मत दिइसकेका छौँ । अव काम गर्ने तपाईँहरूको जिम्मेवारी हो भनेर नभन्नुहोला । हामी सबै मिलेर काम गर्ने हो । भक्तपुर हामी सबैको साझा ठाउँ हो । भक्तपुर नगरपालिका हामी सबैको साझा संस्था हो । कुनै पनि साझा संस्थालाई अगाडि बढाउनु छ भने साझा जिम्मेवारीका साथ अगाडि बढ्ने हो । हिजो जसरी हातेमालो गर्दै हरेक क्षेत्रमा अगाडि बढ्दै आएका थियौँ । आज झन् उत्साहित भएको छ । यसबाट धेरै नै ऊर्जा प्राप्त भएको छ । भक्तपुर धेरैले उदाहरणको रूपमा प्रयोग गर्छन् । यसलाई अझ समृद्ध बनाउन अगाडि लागिरहेका छौ । तपाईँहरूको मतको कहिल्यै अवमूल्यन गर्ने छैनौँ । सधैँ ठाडो शिरले उभिन सक्ने वातावरण बनाउने कोसिस गर्नेछौ । आत्म स्वाभिमान, आत्मनिर्भरता र आत्म गौरव प्राप्त गर्दै अगाडि बढ्नेछौ ।
प्रतिक्रिया