एथलेटिक्समा अमेरिकी रवाफ | Khabarhub Khabarhub

एथलेटिक्समा अमेरिकी रवाफ


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्तिम सिजनमा केही सनसनीपूर्ण प्रदर्शनसहित यस वर्षको विश्व एथलेटिक्स च्याम्पियनसिप सकिएको छ। आइतबार राति अमेरिकाको ओरेगनमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन भएको स्पर्धामध्ये महिला एक सय मिटर हर्डल्स सबैभन्दा सनसनीपूर्ण रहेको थियो। सो स्पर्धामा टोमी अमुस्मानले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। सेमिफाइनलमा १२.१२ सेकेन्डको विश्व कीर्तिमान कायम गरेकी उनले फाइनलमा १२.०६ सेकेन्डको नयाँ विश्व कीर्तिमान त कायम गरेकी थिइन्। तथापि विन्ड गजका कारण विश्व कीर्तिमानलाई भने वैध मानिएन। तर, पनि सेमिफाइनलको १२.०६ सेकेन्ड समयको उनको कीर्तिमान कायम नै छ।

सो स्पर्धामा जमैकाकी ब्रेटनी एन्डरसन र ओलम्पिक स्वर्ण पदक विजेता प्युरेटीकाकी जस्मिन कमाचोले समान १२.२३ सेकेन्डमा रेस पुरा गरे। तथापि फोटो फिनीसको आधारमा ब्रेटनी दोस्रो भइन्।

अन्तिम सिजनका अर्का नायक भने स्विडेनका मोन्डो डु प्लान्टीस भए। पछिल्ला वर्षमा पोलभोल्टमा एकल पकड राखेका डु प्लान्टिसले यस पटक ६.२१ मिटरको नयाँ विश्व कीर्तिमान कायम गरे। यसअघि मार्चमा सर्बीयाको बेलग्रेडमा भएको विश्व इनडोर च्याम्पियनसिपमा ६.२० मिटरको विश्व कीर्तिमान कायम गरेका थिए।

६ मिटरको उचाइ पार गरेर स्वर्ण पदक पक्का गरेका उनले त्यसपछि २१ सेन्टिमिटर बढीका लागि प्रयास गरेका थिए। उनले पाँचौँ पटक विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

सन् २०१७ को फेब्रुअरीमा टुरिनमा भएको प्रतियोगितामा उनले ६.१७ मिटरको विश्व कीर्तिमान राखेका थिए। डु प्लान्टिस जन्मनु भन्दा अगाडि पाँच वर्ष सर्जी बुक्काले सन् १९९४ मा राखेको ६.१४ मिटरको कीर्तिमानलाई उनले भङ्ग गरेका हुन्।

आइतबारको यो सफलता पछि सबै भन्दा बढी पटक ६ मिटरको उचाइ पार गर्ने बुक्काको कीर्तिमानलाई पनि डु प्लेन्टिसले पार गरेका छन्। डु प्लान्टिसले ४८ पटक यो सफलता पाएका छन् भने बुक्काले ४६ पटक पार गरेका थिए।

५.९४ मिटर उचाइका साथ अमेरिकाका कृश नेल्सनले रजत तथा समान उचाइका साथ फिलिपिन्सका अर्नेस्ट जोन्स ओबेनाले कास्य पदक पाए। यो ओबेनाको एसियाली कीर्तिमान समेत हो।

अन्तिम दिन भएको ५ हजार मिटर दौडमा नर्वेका ज्याकोब इन्गेब्रीस्टनले स्वर्ण, केन्याका ज्याकोब क्रबले रजत तथा युगान्डाका ओस्कार चेलेमोले कास्य पदक जिते।

३५ किलो हिँडाइमा इटालीका मासिमो स्टानले स्वर्ण जापानका मासातारो कावानोले रजत तथा स्विडेनका प्रेसस कार्ल स्ट्रोमले कास्य पदक जिते।

डेकाथलनमा फ्रान्सका केभिन मायरले स्वर्ण पदक जिते। क्यानडाका पियर्सले पाजले रजत तथा अमेरिकाका जाचारी जेरमीकले कास्य पदक जिते। महिला लङ जम्पमा जर्मनीकी मालाइको मिहाइबोले उपाधि जितिन्।

यस विश्व च्याम्पियनसिपमार्फत संसारका धेरै देशमा एथलेटिक्सको प्रभाव बढेको प्रस्ट भएको छ। १ सय ७९ देशका १ हजार ७ सय भन्दा खेलाडी यस बृहत् खेल महोत्सवमा सहभागी थिए। यस विश्व च्याम्पियनसिपमा सबै भन्दा धेरै देशका खेलाडी फाइनलमा प्रवेश गरेका थिए। यस अगाडिको दोहा विश्व च्याम्पियनसिपमा ७६ देशका खेलाडी फाइनलमा प्रवेश गरेका थिए भने यस पटक ८१ देशका खेलाडी फाइनल प्रवेश गरेका थिए।

लाइबेरिया, नाइजर, पाकिस्तान, समाओ, फिलिपिन्स र ग्वाटेमालाका खेलाडी कुनै पनि स्पर्धामा विश्व च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो।

संसारमै ट्र्याक एन्ड फिल्डको प्रभाव फैलँदो रहेको कुरा यी तथ्याङ्कले नै पुष्टि गरेका छन्। काजकिस्तान र पेरुले पहिलो पटक विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जिते। भारत र बुर्कीना फोसोले पनि रजत पदक जितेको यो पहिलो पटक हो।

२९ देशले यस पटक स्वर्ण पदक जिते। दोहामा यस भन्दा अगाडि भएको विश्व च्याम्पियनसिपमा २६ देशले स्वर्ण पदक जितेका छन्।

यो विश्व च्याम्पियनसिपबाट अमेरिकाले एकै संस्करणमा पटक सबै भन्दा बढी पदक जित्ने कीर्तिमान कायम गरेको हो।

अमेरिका कुल ३३ पदक जित्न सफल भयो। यस सफलतामा १३ स्वर्ण पदक छन्। अमेरिकाले पुरुष १ सय र २ सय मिटर दौडका साथै पुरुष सटमा क्लीन स्वीप गरेको हो। त्यसो त जमैकाले पनि महिला १ सय मिटर दौडमा स्वीप गरेको थियो।

महिला हर्डल्समा अमेरिकाकी सिड्नी म्याकगाउलीनले ५०.६८ सेकेन्डको नयाँ विश्व कीर्तिमान कायम गर्नु यस विश्व च्याम्पियनसिपमा थप उल्लेखनीय विषय बनेको छ।

रिलेका पाँच स्पर्धामा अमेरिकाले तीनमा सफलता पायो। अन्तिम दिन महिला र पुरुष दुवैको ४ गुणा ४ सय मिटरमा अमेरिकाले स्वर्ण पदक जितेको हो। यी दुवै स्पर्धामा अमेरिकालाई सफलता पाउन खासै कठिनाइ परेन। एक दिन अगाडि भएको चार गुणा १ सय मिटर रिलेको महिला स्पर्धामा जमैकालाई आश्चर्यमा पार्दे स्वर्ण पदक जितेको अमेरिका पुरुषमा भने असफल भयो। तेस्रो लेगबाट चौंथो लेगमा ब्याटन दिन अलमलिए पछि क्यानडाले अमेरिकालाई हराउँदै स्वर्ण पदक जितेको हो। यसै गरी, च्याम्पियनसिपको पहिलो दिन भएको चार गुणा ४ सय मिटर मिश्रित रिलेमा डोमेनीक गणतन्त्रले स्वर्ण र नेदल्यान्ड्सले रजत पदक जिते। अमेरिकाले अन्तिम २० मिटर अग्रता जोगाउन सकेको थिएन।

बेइजिङ ओलम्पिकदेखि स्टारको रूपमा उदाएकी अमेरिकी स्टार एथिङ मूले अन्तिम दिन महिला आठ सय मिटरमा स्वर्ण पदक त जितिन्। तर, त्यत्ति सहज भने भएन। उनले १ मिनेट ५६.३० सेकेन्डमा दौड पुरा गर्दै पहिलो भइन्। बेलायतकी केली होडगीन्गसटनलाई हराउन उनलाई धेरै कठिन भएको थियो। सो स्पर्धाकी केन्याकी मेरी मोराले १ मिनेट ५६.७१ सेकेन्डमा रेस पुरा गरिन्।

अमेरिकाले चार गुणा चार सय मिटर रिलेको स्वर्ण पनि अन्तिम दिन जितेको थियो। तर, यस पटकको महिला टोली गत वर्ष टोकियो ओलम्पिकको फाइनलमा दौडने चार मध्यकी म्याकगाउलिन मात्र थिइन्।

अमेरिकाले यस अगाडिको च्याम्पियनसिपमा हर्डल्स धाविका डालिया मोहमुदलाई रिलेको फाइनलमा दौडाउने गरेको भए पनि यस पटक उनी पूर्ण फिट नभएकी कारण रिलेको फाइनलमा प्रयोग गरिएन। लामो समय अमेरिकी रिलेको एउटा मुख्य पात्र भएकी एलीसन फेलिक्सले यस पटक हिट चरणमा मात्र दौडिएकी थिइन्। यस अगाडि मिश्रित रिलेमा दौडिएकी उनी यस स्पर्धाको हिटमा दौडिएको कारण स्वर्ण पदकको खातामा एक स्वर्ण थपिएको छ। यो सफलतासँगै खेल जीवनको अन्त्य गरेकी फेलिक्सको विश्व च्याम्पियनसिपमा पदक सङ्ख्या २० पुगेको छ।

यसै च्याम्पियनसिपमा महिला १ सय मिटरमा क्लीन स्वीप गर्ने जमैकाकी धाविकाको कथा भने फरक छ। १ सय मिटरमा स्वर्ण पदक जितेकी सानी एल फ्राजियरले यस संस्करणमा पाँचौँ पटक उपाधि जितेकी हुन्। यस भन्दा अगाडि यसैगरी १ सय मिटरमा रजत पदक जितेकी सारिका ज्याक्सनले महिला २ सय मिटरमा स्वर्ण पदक जित्नु अगाडि विभिन्न संस्करणमा गरेर पाँच पटक व्यक्तिगत स्वर्ण पदक जितेकी थिइन्। यस पटकको उनको सफलता अद्वितीय नै थियो। उनले दुरी तय गर्न लगाएको समय २१.४५ इतिहासकै दोस्रो उत्कृष्ट समय हो। यस अगाडि उनी लामो समय चार सय मिटर रेसमा केन्द्रित भएकी थिइन्।

पुरुष दुई सय मिटर दौडमा सफलता पाएका नोह लायसले १९.३१ सेकेन्डको समयमा दुई सय मिटर रेस पुरा गरेर संसारलाई अचम्ममा पारेका थिए। यो समय हालसम्मको तेस्रो उत्कृष्ट समय थियो। युसेन बोल्टको नाममा १९.१९ सेकेन्डको विश्व कीर्तिमान छ भने उनलाई पछ्याउने काम योहान ब्लेकले गरेका थिए। कुनै दिन बोल्टको कीर्तिमान लायसले नै त भङ्ग गर्ने होइनन् भन्ने अनुमान समेत हुन थालेको छ। त्यस स्पर्धामा अमेरिकाका केडी बडनारेकले रजत तथा एरिक निङटनले कास्य पदक जिते। सबै भन्दा कम उमेरमा विश्व च्याम्पियनसिपमा पदक जित्ने निङटनलाई भविष्यको स्टार खेलाडीको रूपमा इङ्गित गरिएको छ।

त्यसो त महत्त्वपूर्ण प्रतियोगितामा असफल हुने गरेका अमेरिकी म्याग्नस नोर्मानले यस पटक चार सय मिटर दौडको उपाधि जिते। बहमासकी साउन मिलर उल्बोले पहिलो पटक विश्व च्याम्पियनसिपको उपाधि जितेकी छन्। चार सय मिटरकी यी धाविकाले यस अगाडि ओलम्पिक स्वर्ण पदकसहित प्राय संसारका सबै च्याम्पियनसिपको उपाधि जिती सकेकी थिइन्।

१० दिन चलेको यी च्याम्पियनसिपमा विभिन्न कथा लेखिए। यी मध्यको सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेको शक्ति राष्ट्रलाई धेरैपछि छाड्दै इथियोपियाले पाएको दोस्रो स्थान प्रमुख हो। अमेरिका १३ स्वर्ण, ९ रजत र ११ कास्य सहित ३३ पदक पाएर पहिलो भयो भने इथियोपिया ४ स्वर्ण, ४ र ४ कास्य पदकसहित दोस्रो भयो। जमैका २ स्वर्ण, ७ रजत तथा १ कास्य सहित तेस्रो भयो। स्रोत : वर्ल्ड एथलेटिक्स

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ८ : २१ बजे

अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने

अमेरिका – प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा

आज २०८१ साल असोज ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ८ गते मंगलबार तदनुसार

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा