‘चाडबाड आओस् कि चुनाव, हाम्रो पीडा कसैले सुन्दैनन्’ « Khabarhub

‘चाडबाड आओस् कि चुनाव, हाम्रो पीडा कसैले सुन्दैनन्’


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– चुनाव नजिकिँदै गएसँगै नेताका पुराना रटानहरू पुनरावृत्ति भइरहेका छन् । उनीहरूको भाषणलाई मात्रै मान्ने हो भने त  नेपाल स्वीटजरल्याण्ड बनिसक्यो । जनताले अब आधारभुत आवश्यकताका त कुरै गर्न छाडिसके । केही नेता विकासका नक्कली फेहरिस्ता देखाएर भोट माग्न मतदाताको घर आँगनमा देखिन थालिसकेका छन् । नयाँ नेता र दलहरू भने तिनै पुराना नेतालाई गाली गरेर सहानुभूति बटुलिरहेका छन् । तर, न चरित्र बदलिएको छ न त परिवेश नै ।

यथास्थितिलाई नै मलजल गरिरहेका नेताहरू परिवर्तनको ढोङ फुक्छन् र जनतालाई बन्दी बनाइ रहेका छन् । जसका ज्वलन्त कथाहरू तराइका गल्ली र ग्रामीण बस्तीमा बग्रेल्ती पाइन्छन् । यस्तै, प्रतिनिधि उदाहरण हुन् महोत्तरी गौशालाका १२ वर्षीय अभिषेक मुखिया र १४ वर्षीय अर्जुन मण्डल । बर्दिबास नगरपालिकाको चोक र मुख्य बजारमा खाली प्लाष्टिकका बोतल खोज्दै भौँतारिने यी दुवै किशोरको साझा समस्या गरिबी हो । तर, परिवेश भने फरक छ ।

गौशाला नगरपालिकास्थित जिरो माइलमा बस्ने यी बालकहरूको दैनिकी फोहोरमा फ्याँकिएको बोतलबाट सुरु हुन्छ । उनीहरू दिनभरी बर्दिबासमा बोतल टिप्छन् र बेलुका गाडी चढेर गौशाला फर्कन्छन् । अभिषेककुमार मुखियाका बाबु उमेशकुमार मुखियाको एउटा हात चल्दैन । आमा शान्ति मुखियाले उमेशलाई छाडेर अर्कैसँग बिहे गरिन् । त्यसपछि अभिषेक नै परिवारको पोषणकर्ता बने । 

अभिषेकको घरमा बिरामी बुबा मात्रै छैनन् । उनको आफ्नै पनि खुट्टाभरी घाउ छ । औँलाहरू सुन्निएका छन् । कपडा पुराना भएर च्यातिएका छन् । तर यी हातखुट्टा चलुन्जेल अभिषेकलाई आराम गर्ने छुट छैन । आफ्ना चाहना र रहर मारेर बिरामी बुबाको पालनपोषण गरिरहेका छन् । 

औसत बालबालिकाको जस्तै अभिषेकको पनि विद्यालय गएर पढ्ने मन छ । खेल्ने रहर छ । काम गर्नै नपरोस् भन्ने चाहना छ । तर, गरिबी उनको लागि पहाड बनेका उभिएको छ । ‘पढ्न मन त छ तर के गर्ने ? बुबालाई पाल्नु पर्यो,’ उनले भने ।

पढ्ने रहर छ ? भनेर सोध्दा उनी निक्कै निन्याउरो अनुहार लगाएर बसिरहे । प्लाष्टिक थुपारेको ठूलो धोक्रामाथि अडेस लागेर रोइ मात्रै राखे । यो दृश्य देखेपछि नेताहरूका ‘बकम्फुसे’ भाषणको स्मरण गर्यौ । उनीहरूले झुटको खेती गरेर जनताको गरिबीलाई मजाक बनाइरहेको झलझली सम्झियौँ । 

अभिषेकले दिनभरी १० देखि १२ केजी प्लाष्टिकका बोतल बटुल्छन् । एक केजीको २५ रुपैयाँ आउँछ । यसबाट उनी तीन सय रुपैयाँ जति कमाउँछन् । त्यही पैसाबाट उनको परिवार चल्छ । अभिषेकले आँशु पुछेर फेरि भने, ‘बुबालाई सरकारले अलिकति पैसाको ब्यवस्था गरिदिए म विद्यालय जान पाउँथेँ की ।’

अर्जुन मण्डलको व्यथा पनि उस्तै छ । अर्जुनको बुबाआमा दुवै छन् । तर, पढाउन सक्ने क्षमता छैन । सामान्य बनिबुतो गरेर बिहान बेलुकीको छाक टार्ने मण्डल परिवारले अर्जुनलाई विद्यालय पठाउन सक्दैन । यद्यपि, अभिषेकको बिरामी बुबाको उपचार र के खुवाउने भन्ने पीर अर्जुनलाई छैन । दुवै जना विद्यालय जान नपाएका कारण एकअर्काका सहयात्री बनेका छन् । उनीहरूको हाँस्ने, खेल्ने वा रमाइलो गर्न कुनै समूह छैन । नत साथीसङ्गीको जमात नै छ । तर यी दुई जना एक अर्कोका लागी सबैथोक बनेका छन् ।

दशैँ नजिकै आएको छ । बजारको चहलपहल बढेको छ, मान्छेहरूको भीडभाड थेगिनसक्नुको छ । आफन्त तथा टाढा भएकाहरू एकै ठाउँमा जमघट हुँदैछन् । तर, अभिषेक र अर्जुनको दुनियाँ फरक छ ।

चाहे दसैँ होस या चाहे छठ होस । पर्व उनीहरूको लागी आउँछ जान्छ । अर्जुन र अभिषेकले अहिलेसम्म कुनै पनि पर्वको महसुस नै नगरेको बताए । आफ्ना पीडा सुनाएर उनीहरू पुनः गन्तव्यतर्फ लागे ।

विशाल बस्नेत

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ५६ बजे

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु