विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित ) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित )


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज असोज १० २०७९, अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अडियो सुन्नुहोस्-

रुसको विद्यालयमा गोली चल्दा १३ जनाको मृत्यु

रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

रुसी अनुसन्धान निकायलाई उद्धृत गर्दै रुसी समाचार संस्था तासले जनाएअनुसार मध्यपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै अवस्थित विद्यालयमा भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । घटनामा १४ बालबालिका र अन्य सात जना घाइते भएका छन् ।

यसअघि स्थानीय प्रशासनले दिएको जानकारीमा गोली लागी नौ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको बताइएको थियो ।

आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिन्ह अङ्कित कालो टि–सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जनाएको छ ।

आक्रमणकारीसँग कुनै कागजात नभएकाले पहिचान अस्पष्ट रहेको तासले जनाएको छ ।

आक्रमण भएको विद्यालयमा ९८२ विद्यार्थी र ८० शिक्षक रहेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै उदमुर्त गणतन्त्रको प्रशासनले सोमबारदेखि तीन दिने शोकको घोषणा गरेको छ ।

रुसले आणविक हतियार प्रयोग गरे निर्णायक जवाफ दिने अमेरिकाको चेतावनी

अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्नुपर्ने चेतावनी दिएका छन् । ‘यदि रुसले यो रेखा पार गर्यो भने, रूसको लागि विनाशकारी परिणाम हुनेछ । संयुक्त राज्यले निर्णायक जवाफ दिनेछ,’ जेक सुलिभानले भने ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हमलाको चेतावनी दिइरहेका बेला अमेरिकी सुरक्षा सल्लाहकारको प्रतिकृया आएको हो । बुधबार एक सम्बोधनमा पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलो पटक रुसमा आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए । जसअन्तर्गत ३ लाख रुसीलाई युद्धमा खटाइने छ । पुटिनको घोषणाको विरोधमा देशमा तीब्र विरोध प्रदर्शन भएको छ ।

प्रदर्शनकारीलाई सरकारले नियन्त्रणमा लिएको छ भने केहीलाई प्रहरी हिरासतबाटै जबरजस्ती भर्ती केन्द्रमा पठाइएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद्को मृत्यु

रुसी नियन्त्रणमा रहेको युक्रेनी सहर खेरसनको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको रुस समर्थक अधिकारीहरुले बताएका छन् ।

आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मारिएका रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन् । युक्रेनी सशस्त्र सेनाले आइतबार प्ले होटलमा मिसाइल प्रहार गरेको थियो । आक्रमणबारे युक्रेनी पक्षले कुनै प्रतिकृया दिएको छैन ।

सो आक्रमण युक्रेनको प्रायोजित अतिवादी कार्य भएको टेलिग्राममा पोस्ट गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ । आक्रमणमको समयमा सो होटलमा रुसी पत्रकारहरु पनि रहेको प्राप्त विवरणहरुमा जनाइएको छ। तर, घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

बङ्गलादेशमा डुङ्गा डुब्यो

बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर टाढा रहेको पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ ।

बङ्गलादेशका स्थानीय सञ्चार माध्यमहरुले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए । “आइतबार राति सम्ममा १२ जना महिला, आठ जना बालबालिका र चार पुरुषको शव निकालिएको छ’’ पञ्चगढ जिल्लाका प्रहरी प्रमुख एस एम सिराजुल हुडाले जानकारी दिएका छन् ।

उनले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको हालसम्म २४ जनाको शव भेटिएको जानकारी दिएका हुन् । सो डुङ्गामा एक सय जनाजति यात्रु रहेका बताइएको छ । अहिले पनि डुङ्गामा रहेका अरु १० देखि १२ जना जति यात्रु हराइरहेका पनि प्रहरी प्रमुख हुडाले जानकारी दिए ।

उद्धारका लागि प्रहरी परिचालन गरिएको र हराइरहेका व्यक्तिको खोजीका काम जारी राखिएको उनले बताए । डुङ्गामा क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको समाचारमा जनाइएको छ ।

इटालीमा संसदीय निर्वाचन

इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरुले धेरै सिट ल्याउने प्रक्षेपण गरिएको छ ।

इटलीका विभिन्न सञ्चारमाध्यम र निकायहरुले गरेको सर्वेक्षणमा उग्र दक्षिणपन्थी नेता जोर्जा मलोनी नेतृत्वको गठबन्धनका उम्मेदवारहरुले धेरै सिट जित्ने देखाएका हुन् । उनको गठबन्धन विजयी भएमा उनी नै प्रधानमन्त्री बन्ने निश्चित भइसकेको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएमा मलोनीले इटलीको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् । दक्षिणपन्थीको जीत भएमा इटलीमा दोस्रो विश्वयुद्ध पछि पहिलो पटक अतिदक्षिणपन्थीहरुको सरकार बन्नेछ ।

युरोपेली मुलुक इटलीमा हुने सत्ता परिवर्तनले युरोपलाई नै प्रभावित पार्ने आँकलन गरिएको छ । युरोपेली देशहरु मध्ये तेस्रो ठूलो अर्थतन्त्र भएको इटलीमा बन्ने सरकार र त्यसले गर्ने कामले अन्य देशहरुलाई असर पार्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको टिप्पणी छ ।

मतदानपछि प्रतिक्रिया दिदै मलोनीले आफ्नो पार्टी ब्रदर्श अफ इटलीले सबैलाई समान व्यवहार गर्ने र जनताको विश्वास अनुसार काम गर्ने अठोट व्यक्त गरिन् । उनको पार्टीले २४.७ प्रतिशत मत प्राप्त गरी सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपणमा देखाइएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

देशको तल्लो सदनका सदस्य चयनका लागि आइतबार मतदान भएको हो । निकै काम मतदाता मात्रै यस पटकको निर्वाचनमा सहभागी भएका थिए । निर्वाचन आयोगका अनुसार कूल मतदातामध्ये ६३.८२ प्रतिशतले मतदान गरेका छन् । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा भने योभन्दा झण्डै १० प्रतिशत बढी मत खसेको थियो ।

भारतीय कांग्रेसको अध्यक्षमा शशी थरुरले उम्मेदवारी दिने

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थरुरले उम्मेदवारी दर्ता गर्ने भएका छन् । संघीय संसदमा सांसद समेत रहेका थरुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् ।

उनले भने, “कांग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”

उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उनले जानकारी दिए । उनी अध्यक्षमा निर्वाचित भएको खण्डमा भारतीय राष्ट्रिय कांग्रेसमा २५ वर्षपछि मात्रै गान्धि परिवार बाहिरको व्यक्ति अध्यक्ष हुनेछ ।

यसअघि कांग्रेसको अध्यक्षका रुपमा सन् १९९६ मा सीताराम केसरी गान्धी परिवारभन्दा बाहिरको नेता निर्वाचित भएका थिए । उनले शरद पवार र राजेश पिलोटलाई पराजित गरेका थिए । त्यसपछिको निर्वाचनमा भने सन् १९९८ मा जितेन्द्र प्रसादलाई सोनिया गान्धीले अध्यक्षमा पराजित गरेकी थिइन् ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष मधुसुदन मिस्त्रीले पार्टी केन्द्रीय कार्यालयमै उम्मेदवारी दर्ता फाराम उपलब्ध हुने जानकारी दिए । भारतीय राष्ट्रिय कांग्रेस अहिले अन्तरिम अध्यक्षको नेतृत्वमा चलिरहेको छ ।

गत आम निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए ।

उनको राजीनामा लामो समयसम्म अस्विकृत गर्दै उनलाई नै अध्यक्षको जिम्मेवारी सम्हाल्न आग्रह गरिएको थियो । तर, उनले बारम्बार उक्त आग्रह अस्वीकार गर्दै आएका थिए । उनले अस्वीकार गरेसँगै उनकै आमा तथा पूर्वअध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ ।

अब हुने महाधिवेशनबाट पनि राहुल गान्धीलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षका नेताहरुको सङ्ख्या धेरै रहेको बताइन्छ । तर उनीबारे स्पष्ट निर्णय भइनसकेको बेला थरुरले उम्मेदवारी दिने तयारी गरेका हुन् ।

पार्टीभित्रको आन्तरिक विवाद र अन्यौलताका बीच लामो समयपछि भारतीय कांग्रेसले नयाँ नेतृत्व पाउने भएको छ ।

कतार एयरवेजलाई अवार्ड

अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संगठन स्काइट्रेक्सद्वारा कतार एयरवेजलाई ‘एयरलाइन अफ दि इयर’ घोषणा गरेको छ । सन् २०२२ मा एयरलाइन्सले आफ्नो २५ औं वार्षिकोत्सव मनाइरहेको बेला अन्तर्राष्ट्रिय हवाई यातायात रेटिङ संस्था स्काईट्रेक्सले सातौं पटक एयरलाइन अफ द इयर को उपाधि दिएको हो ।

यसका साथै एयरलाइनले विश्वकै उत्कृष्ट बिजनेस क्लास, विश्वकै उत्कृष्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि जितेको छ ।

लण्डनमा आयोजित एक भव्य समारोहमा विश्वकै उत्कृष्ट बिजनेस क्लास, वर्ल्ड्स बेस्ट बिजनेस क्लास लाउन्ज डाइनिङ र बेस्ट एयरलाइन इन मिडल इस्ट गरी थप तीन वटा अवार्ड पनि जितेको छ । कतार एयरवेजले सन् २०११, २०१२, २०१५, २०१७, २०१९, २०२१ र अहिले २०२२ मा एयरलाइन अफ द इयर को उपाधि जितेको छ ।

कतार एयरवेजको घरेलु विमानस्थल र हब हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई हालै विश्वको सर्वश्रेष्ठ विमानस्थल २०२२ को रूपमा चयन गरिएको थियो । यसले लगातार दोस्रो वर्षको लागि पुरस्कार प्राप्त गरेको थियो ।

इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्काएको तालिबानको भनाइ

अफगानिस्तानमा शासन गरिरहेको तालिबानले गत महिनामात्रै इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्काएको जनाएको छ ।

तालिबान सरकारको शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले गत महिनामात्रै इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्काएको जनाएको हो ।

अफगान टेलिभिजन च्यानल टोलो न्युजको अनलाइन संस्करणले जनाएअनुसार तालिबानले इरानसँग शरणार्थी समस्याका विषयमा निरन्तर छलफल गरिरहेको छ ।

यसबाहेक तालिबान अधिकारीहरुले इरानले फर्काएका अफगान नागरिकलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न अफगानिस्तानका लागि इरानी राजदूत बहादुर अमिनइनसमक्ष आग्रह गरेको समेत टोलो न्युजले जनाएको छ ।

राजदूत अमिनइनले हाल हरेक दिन ३ हजारको संख्यामा अफगानिस्तानबाट गैर कानूनी रुपमा शरणार्थीहरु इरान प्रवेश गरिरहेको जनाएका छन् । उनले गैर कानूनी हिसाबमा इरान प्रवेश गर्ने अफगान शरणार्थीहरु सेवा सुविधाबाट बञ्चित हुने र मानव तस्करको जोखिममा पर्ने चेतावनी समेत दिएका छन् ।

‘हाइब्रिड युद्ध’ का लागि तयार रहनुपर्ने भारतीय वायुसेना प्रमुखको भनाइ

भारतीय वायुसेनाका प्रमुख मार्शल भीआर चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने बताएका छन् ।

मुलुकको छिमेकमा सुरक्षा अवस्था राम्रो नरहेको भन्दै वायुसेना प्रमुख चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने जनाएका हुन् ।

‘हाम्रो छिमेकमा सुरक्षा अवस्था राम्रो छैन । त्यसैले हामीले हाम्रो आर्थिक विकाससँगै घरेलु सैनिक क्षमता पनि बढाउनुपर्ने आवश्यकता छ ।’ चौधरीलाई उद्धृत गर्दै ट्रिब्युन इन्डियाले जनाएको छ ।

यसका लागि भारतीय वायुसेनाको परम्परागत र गैर परम्परागत युद्ध लड्ने क्षमता पनि बढाउनु पर्ने उनको तर्क छ । अहिले भारतले धेरै खतराको सामना गरिरहेको बताउँदै उनले हाइब्रिड युद्धले अझ ठूलो चुनौति थप्ने बताए ।

उनले आफ्नै मुलुकमा सैन्य उपकरण निर्माणका लागि अध्ययन र विकासको कार्य हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : १४ बजे

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरण दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय