राष्ट्रियस्तरको खेलकुदमा कञ्चनपुरले बढायो सुदूरपश्चिमको प्रतिष्ठा | Khabarhub Khabarhub

राष्ट्रियस्तरको खेलकुदमा कञ्चनपुरले बढायो सुदूरपश्चिमको प्रतिष्ठा


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि खेल गतिविधि भने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै सीमित छ । सात वटा पहाडी जिल्लामध्ये राष्ट्रिय खेलकुद परिषद्बाट केही जिल्लामा खेल प्रशिक्षकले प्रशिक्षण दिए पनि खेल गतिविधि भने बढाउने ध्यान दिइएको पाइँदैन । 

तराईका दुई जिल्लाबाट २०३५ को दशकयता सुदूरपश्चिमले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाएको इतिहास छ । सुदूरपश्चिमबाटै सन् १९८८ मा दक्षिण कोरियोको सिओलमा सम्पन्न ओलम्पिकमा कञ्चनपुरका बक्सर विष्णुबहादुर सिंह र डम्बरदत्त भट्टले सहभागिता जनाएका थिए । सो अवसरमा बक्सर सिंहले ओलम्पिकमा वाराग्वेका खेलाडीलाई पराजित गर्दै एउटा ‘बाउट’ जितेको इतिहास पनि छ । 

विगतदेखि नै विभिन्न सुरक्षा निकायका विभागीय टोलीलाई सुदूरपश्चिमबाट खेलाडी उत्पादन गरी हस्तान्तरण गर्नुपर्ने बाध्यता पनि छ । प्रदेशमा खेल पूर्वाधार र गतिविधि बढाउन प्रदेशस्तरीय खेलकुद परिषद् गठन भए पनि खेलकुदको विकासमा भने उल्लेख्य प्रगति हुन नसकेको कराँतेका एक प्रशिक्षकको भनाइ छ ।

‘यसपटक सबैभन्दा फितलो व्यवस्थापन सुदूरपश्चिमकै रह्यो’, उनले भने, ‘खेलाडी अलपत्र पर्नेदेखि पहिलो पटक प्रदेश स्तरमा बन्द प्रशिक्षण नगरी खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराइयो ।’ खेलाडी, अफिसियल र कर्मचारी गरी सात सयभन्दा बढीले यहाँबाट प्रतिनिधित्व गरेपनि व्यक्तिगत खेलमा सुदूरपश्चिमले दश स्वर्ण जित्दै राष्ट्रियस्तरमा सातौं स्थानमा आफूलाई सुरक्षित गरेको छ ।

‘सुदूरपश्चिमले राष्ट्रियस्तरको खेलमा पहिलो पटक दश स्वर्ण जितेको छ’, बक्सिङ्ग ओलम्पियन डम्बरदत्त भट्टले भने, ‘जसमध्ये कञ्चनपुरले आठ स्वर्ण जितेर इतिहास रच्यो ।’ उनले खेलाडीहरुको हौसला र वृद्धिविकासका लागि नियमित प्रशिक्षणसँगै सुविधामा पनि राज्यको ध्यान पुग्नुपर्ने भनाइ व्यक्त गरे ।  सुदूरपश्चिमले जितेको दश स्वर्णमा कञ्चनपुरका महिला कुस्ती खेलाडीले पाँच स्वर्णमाथि कब्जा जमाए । 

१४ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता पहिलो महिला खेलाडी संगीता धामीले नवौ राष्ट्रिय खेलकुदमा ५५ किलो तौल समूहमा स्वर्ण जित्नुभयो । त्यस्तै एक वर्षअघि मात्रै कुस्ती खेलमा भित्रिएकी कञ्चनपुरकी अर्की खेलाडी दमन्ती बोहराले डेब्युमै स्वर्ण पदक हात पारे । ५३ किलो तौल समूहमा मनिषा सिंहले स्वर्ण जित्दै राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजयको यात्रालाई निरन्तरता दिए । त्यसैगरी, ५९ किलो तौल समूहमा कोमल खत्रीले स्वर्ण जित्दा ७२ किलो तौल समूहमा हेमा भट्टले सुदूरपश्चिमलाई कुस्तीमा पाँचौ स्वर्ण दिलाए ।

कुस्तीमा राष्ट्रियस्तरमै अब्बल खेलाडी जन्माउनुको श्रेय प्रशिक्षक राजेन्द्र चन्दको ठूलो भूमिका छ । नवौँ राष्ट्रिय प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमले महिलातर्फ समान पाँच/पाँच स्वर्ण जितेका थिए । नेपाली सेनाका लागि स्वर्ण जित्ने निर्मला जाग्री र मिरा औजी पनि प्रशिक्षक चन्दकै उत्पादन हुन् ।

कुस्तीबाट सुदूरपश्चिमकै गौरव बढ्ने गरी खेलाडीहरूले स्वर्ण पदक दिलाए पनि खेलाडीले अझै प्रशिक्षणका लागि हल समेत नपाएको अवस्था छ । कुस्ती खेलाडीहरू लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयको साँघुरो हलमा प्रशिक्षण गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले यहाँ कुस्ती हल निर्माण थालेको भएपनि अहिले बजेट अभावका कारण निर्माण अलपत्र छ ।

‘कुस्ती सुदूरपश्चिमको अब्बल खेलाडी उत्पादनको थलो हो भनेर हामीले देशलाई चिनाइसक्यौं,’ कुस्ती प्रशिक्षक चन्दले भने, ‘हामीलाई खेल्ने हल र खेल सामग्री मात्रै सहुलियतमा उपलब्ध गराउने हो भने हाम्रा खेलाडीहरू अन्तर्राष्ट्रियस्तरमा मुलुकको नाम राख्न सक्छन् ।’

उनले खेलाडीहरूका नियमित प्रशिक्षक र कडा परिश्रमले नै कञ्चनपुर कुस्ती खेलाडीको उर्वरभूमि बनेको बताए। कुस्ती खेलपछि सुदूरपश्चिमलाई स्वर्ण दिने अर्को खेल हो भारोत्तोलन । भारोत्तलनमा पनि कञ्चनपुरकै खेलाडीले पहिलो पटक तीन स्वर्ण पदका जितेका छन् । भारोत्तोलनका प्रशिक्षक जीवन गौतमले कञ्चनपुरका ६७ किलो तौल समूहमा हेमन्त पाल, ८९ तौल समूहमा विकास भट्ट र १०९ तौल समूहमा सुवास उपाध्यायले सुदूरपश्चिमलाई स्वर्ण दिलाएको बताए।

‘यसपटक प्रदेशमा छनौट भइसकेका खेलाडीले उचित भोजन र खेल पोसाकलगायतका कुनै सुविधा पाएनन्’, उनले भने, ‘जितेर आएका खेलाडीहरूलाई पनि न कुनै सम्मान मिल्यो र कसैले पुरस्कृत गरेर मनोबल बढाए ।’

राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमका लागि कराँते विधाबाट आनन्द कामीले स्वर्ण दिलाए । कामीले स्वर्ण र अन्य सात कराँते खेलाडीहरूले सुदूरपश्चिमलाई कास्य पदक दिलाएका छन् । साथै फेन्सिङ खेलतर्फ जलेन्द्र शाहीले सुदूरपश्चिमलाई पहिलो स्वर्ण दिएका थिए । कैलाली फेन्सिङ संघका अध्यक्ष समेत रहेका शाहीले २० जनाले खेलाडी सुदूरबाट सहभागिता जनाएको बताए । 

‘समूहतर्फ दुई कास्य र व्यक्तिगतमा मैले स्वर्ण जिते’ उनले भने ‘सुदूरमा फेन्सिङ खेलको सम्भावना राम्रो छ ।’ यहाँको व्यवस्थापकीय पक्षमा ध्यान दिन सके सुदूरले धेरै स्वर्ण जित्नेमा आशावादी रहेको बताए।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १२ : १८ बजे

२२ अंकले घट्यो नेप्से, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको

स्पेन भ्रमणबारे प्रधानमन्त्रीले भने- अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भयो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउन आवश्यक समन्वय गरिने

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

विराटनगर– कोशी प्रदेशसभाबाट ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,