रुसविरुद्ध ‘हाइब्रिड युद्ध’ को तयारीस्वरुप पोल्याण्डले सीमा क्षेत्रमा पर्खाल बनाउने | Khabarhub Khabarhub

रुसविरुद्ध ‘हाइब्रिड युद्ध’ को तयारीस्वरुप पोल्याण्डले सीमा क्षेत्रमा पर्खाल बनाउने


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली मुलुक पोल्याण्डले आफ्नो सीमानामा पर्खाल बनाउने भएको छ । रुसले आफ्नो मुलुकतर्फ पठाउने सम्भावित आप्रवासीलाई मुलुक प्रवेश गर्न नदिन भन्दै पोल्याण्डले १२५ माइल लामो पर्खाल बनाउन लागेको बेलायतको स्काई न्युजले जनाएको छ ।

पोल्याण्डको दक्षिणपन्थी सत्तारुढ कानून एवम् न्याय पार्टीका महासचिव क्रिस्टोफ सोबोलेव्स्कीले रुसको कालिनिन्ग्राद क्षेत्रसँग जोडिएको सीमानामा पर्खाल लगाउने विषयमा छलफल भइरहेको जनाएका छन् । उनले पोल्याण्डको पोल्स्की १ रेडियोसँग कुराकानी गर्दै यस्तो खुलासा गरेका हुन् ।

पर्खालमा गतिसूचक यन्त्र एवम् क्यामेराहरु समेत जडान गरिने बताइएको छ । सन् २०२१ मा जस्तै रुसले एसियाली, अफ्रिकी र मध्यपूर्वका आप्रवासीलाई पठाउनसक्ने सम्भावनाबीच पोल्याण्डमा पर्खाल निर्माणबारे विमर्श भइरहेको बताइएको छ ।

छिमेकी देश युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला रुसले आप्रवासीहरुलाई ‘हाइब्रिड युद्ध’ मा प्रयोग गर्नसक्ने देखिएकाले पर्खाल लगाउन लागिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२१ मा रुसको नजिकको साझेदार मानिने बेलारुसको सीमाक्षेत्रबाट अफ्रिका र मध्यपूर्वका हजारौँ आप्रवासीले पोल्याण्ड प्रवेश गर्ने प्रयास गरेका थिए ।

बेलारुसमाथि त्यसबेला मध्यपूर्वी एवम् अफ्रिकी मुलुकबाट हजारौँ आप्रवासीलाई युरोप प्रवेशको प्रलोभन देखाएर सीमा क्षेत्रमा ल्याइपुर्‍याएको आरोप लागेको थियो ।

त्यसबेला बेलारुसले आफ्नो मुलुकले कुनै किसिमको आप्रवासी संकट उत्पन्न नगरेको दाबी गरेको थियो । बेलारुसले त्यसबेला पोल्याण्ड र युरोपेली युनियनमाथि नै आप्रवासी संकट सिर्जना गरेको आरोप लगाएको थियो । पछि पोल्याण्डले बेलारुसको सीमामा छेकबार निर्माण गरेको थियो ।

‘सीमा क्षेत्रमा हामीले हाम्रो शक्तिलाई अझ सुदृढ गर्नुपर्छ । र पोल्याण्ड र बेलारुसको सीमामाजस्तै पर्खाल लगाउनेबारे सोच्नुपर्छ ।’ महासचिव सोबोलेव्स्कीले पोल्स्की १ रेडियोलाई भने ।

पोल्याण्डको सीमारक्षक बलले आगामी नोभेम्बर महिनाको अन्त्यसम्म पर्खाल निर्माण गर्नका लागि कम्पनीको छनौट गरिने जनाएको छ ।

रुसी सञ्चारमाध्यमले यसअघि कालिनिन्ग्राद क्षेत्रले मध्यपूर्व र एसियाली आप्रवासीलाई ‘पर्यटन’ का लागि आकर्षित गर्न भन्दै हवाई क्षेत्र खुला गरेको जनाएका थिए ।

यता रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने सीमा क्षेत्रमा पर्खाल लगाउने पोल्याण्डको योजनालाई ‘मूर्खता’ को संज्ञा दिएका छन् ।

राजधानी मस्कोमा आयोजित सम्मेलनमा उनले भने– ‘इतिहासले हरेक पटक पर्खाल निर्माणको निर्णयलाई मूर्खता प्रमाणित गरेको छ, किनभने वर्ष वा दशकपछि सबै पर्खाल भत्किन्छन् ।’ पेस्कोभलाई उद्धृत गर्दै स्काई न्युजले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : ३८ बजे

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्

कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु

जनकपुरधाम– कारकाे ठक्करबाट पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

बागमती प्रदेशसभामा विषयगत समितिको सभापति चयन गरिँदै

हेटौँडा– बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम चयन गरिँदै छ