रुसविरुद्ध ‘हाइब्रिड युद्ध’ को तयारीस्वरुप पोल्याण्डले सीमा क्षेत्रमा पर्खाल बनाउने « Khabarhub

रुसविरुद्ध ‘हाइब्रिड युद्ध’ को तयारीस्वरुप पोल्याण्डले सीमा क्षेत्रमा पर्खाल बनाउने


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली मुलुक पोल्याण्डले आफ्नो सीमानामा पर्खाल बनाउने भएको छ । रुसले आफ्नो मुलुकतर्फ पठाउने सम्भावित आप्रवासीलाई मुलुक प्रवेश गर्न नदिन भन्दै पोल्याण्डले १२५ माइल लामो पर्खाल बनाउन लागेको बेलायतको स्काई न्युजले जनाएको छ ।

पोल्याण्डको दक्षिणपन्थी सत्तारुढ कानून एवम् न्याय पार्टीका महासचिव क्रिस्टोफ सोबोलेव्स्कीले रुसको कालिनिन्ग्राद क्षेत्रसँग जोडिएको सीमानामा पर्खाल लगाउने विषयमा छलफल भइरहेको जनाएका छन् । उनले पोल्याण्डको पोल्स्की १ रेडियोसँग कुराकानी गर्दै यस्तो खुलासा गरेका हुन् ।

पर्खालमा गतिसूचक यन्त्र एवम् क्यामेराहरु समेत जडान गरिने बताइएको छ । सन् २०२१ मा जस्तै रुसले एसियाली, अफ्रिकी र मध्यपूर्वका आप्रवासीलाई पठाउनसक्ने सम्भावनाबीच पोल्याण्डमा पर्खाल निर्माणबारे विमर्श भइरहेको बताइएको छ ।

छिमेकी देश युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला रुसले आप्रवासीहरुलाई ‘हाइब्रिड युद्ध’ मा प्रयोग गर्नसक्ने देखिएकाले पर्खाल लगाउन लागिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२१ मा रुसको नजिकको साझेदार मानिने बेलारुसको सीमाक्षेत्रबाट अफ्रिका र मध्यपूर्वका हजारौँ आप्रवासीले पोल्याण्ड प्रवेश गर्ने प्रयास गरेका थिए ।

बेलारुसमाथि त्यसबेला मध्यपूर्वी एवम् अफ्रिकी मुलुकबाट हजारौँ आप्रवासीलाई युरोप प्रवेशको प्रलोभन देखाएर सीमा क्षेत्रमा ल्याइपुर्‍याएको आरोप लागेको थियो ।

त्यसबेला बेलारुसले आफ्नो मुलुकले कुनै किसिमको आप्रवासी संकट उत्पन्न नगरेको दाबी गरेको थियो । बेलारुसले त्यसबेला पोल्याण्ड र युरोपेली युनियनमाथि नै आप्रवासी संकट सिर्जना गरेको आरोप लगाएको थियो । पछि पोल्याण्डले बेलारुसको सीमामा छेकबार निर्माण गरेको थियो ।

‘सीमा क्षेत्रमा हामीले हाम्रो शक्तिलाई अझ सुदृढ गर्नुपर्छ । र पोल्याण्ड र बेलारुसको सीमामाजस्तै पर्खाल लगाउनेबारे सोच्नुपर्छ ।’ महासचिव सोबोलेव्स्कीले पोल्स्की १ रेडियोलाई भने ।

पोल्याण्डको सीमारक्षक बलले आगामी नोभेम्बर महिनाको अन्त्यसम्म पर्खाल निर्माण गर्नका लागि कम्पनीको छनौट गरिने जनाएको छ ।

रुसी सञ्चारमाध्यमले यसअघि कालिनिन्ग्राद क्षेत्रले मध्यपूर्व र एसियाली आप्रवासीलाई ‘पर्यटन’ का लागि आकर्षित गर्न भन्दै हवाई क्षेत्र खुला गरेको जनाएका थिए ।

यता रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने सीमा क्षेत्रमा पर्खाल लगाउने पोल्याण्डको योजनालाई ‘मूर्खता’ को संज्ञा दिएका छन् ।

राजधानी मस्कोमा आयोजित सम्मेलनमा उनले भने– ‘इतिहासले हरेक पटक पर्खाल निर्माणको निर्णयलाई मूर्खता प्रमाणित गरेको छ, किनभने वर्ष वा दशकपछि सबै पर्खाल भत्किन्छन् ।’ पेस्कोभलाई उद्धृत गर्दै स्काई न्युजले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : ३८ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका