प्रहरी नायब महानिरीक्षक (डीआईजी) मीरा चौधरी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा पुग्दा केही सुधारका संकेत देखिएका छन्। महिला प्रहरी नेतृत्वको जिम्मेवारीमा उपत्यका ट्राफिक कार्यालय अगाडि बढ्दा आम सर्वसाधारणलेसमेत परिवर्तन महसुस गरेका छन्। काठमाडौँ उपत्यकाको सवारी आवागमन र ट्राफिक व्यवस्थापनमा विभिन्न पक्षको भूमिका उत्तिकै हुन्छ। के एउटा ट्राफिक कार्यालयको मात्र काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन गर्न सक्छ ? दिनानुदिन बढिरहेको सवारी साधनको उपस्थिति र बढ्दो जनघनत्वको व्यवस्थापन कसरी भइराखेको छ ? यी र यस्तै विषयमा डीआईजी मीरा चौधरीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :
नेतृत्वमा महिला पुगेपछि परिवर्तन हुन्छ भन्छन्। साँच्चै तपाईं उपत्यकाको ट्राफिक प्रमुख हुँदा के परिवर्तन भइराखेको छ ?
पहिलाको भन्दा सुधार भएको छ। प्रहरी कार्यालयमा महिला र पुरुष भन्दा पनि प्रहरी अफिसर भनेर चिनिनु पर्दछ। जुन अपेक्षा मान्छेको छ त्यो पूरा गर्न हामी लागि परेका छौँ। यसमा सबै बसेर वा एक भएर पूरा गर्नु पर्दछ।
समग्रमा हेर्दा उपत्यकामा केले समस्या पारेको छ ?
सडकको संरचनालाई हेर्ने हो भने धेरै समस्या छ। हाम्रोमा सडक भन्दा सवारी धेरै भए। सडक सानो छ र सवारी साधन त्यसको तीन गुणा बढी छन्। त्यो समस्या प्रहरीले समाधान गर्न सक्दैन।
कोटेश्वर, बानेश्वर, थापाथली र माहाराजगञ्जका चोकमा हेर्दा थापाथली चोकको ट्राफिक लाइट राम्रो प्रयोग भएको पाइएको छ, ट्राफिक लाइटले त्यहाँ काम गर्ने अन्य ठाउँमा नगर्ने किन हुन्छ ?
ट्राफिक लाइटले कताको चाप कसरी व्यवस्थापन गर्ने भन्ने कुरा निर्देशन गर्दैन। कोटेश्वर चोकमा बिहान काठमाडौं प्रवेश गर्ने र साँझ भक्तपुर वा ललितपुर प्रवेश गर्ने सवारी साधनको चाप बढी हुन्छ। एक मिनेट ८० सेकेन्डले नभ्याउने भएकाले हात हल्लाउनुपर्ने बाध्यता हुन्छ। सामाजिक सञ्जालमा हेर्नु र फिल्डमा ट्राफिक व्यवस्थापन गर्नु फरक हुन्छ। अवस्था हेरेर ट्राफिक प्रहरीले चोकचोमा सवारी चपलाई व्यवस्थापन गरेका हुन्छन्।
ट्राफिक व्यवस्थापनमा कसरी काम भइराखेको छ ?
जुन ठाउँमा खाली देखिन्छ त्यसको कनेक्सन अन्य ठाउँमा प्याक हुनसक्छ। विभिन्न ठाउँमा सडक निर्माण गर्ने र केही समस्या भएको कारणले कुनै अर्को ठाउँमा सडक खाली र कतै जाम धेरै हुनसक्छ। यसलाई व्यवस्थापन आवश्यक छ।
अहिले ट्राफिक प्रहरीमा कस्ता चुनौती छन् ?
केही कानुनी निकायको समस्या, समन्वय गर्ने निकायसँगको पनि समस्या देखिन्छ। ट्राफिक प्रहरी कार्यालय कारबाहीमा जुटेको छ। तर व्यवस्थापनमा चुकेको छ। अहिले ध्वनि प्रदूषणको कुरा पनि आएको छ। सवारी साधनको बनोट भन्दा बाहिरबाट बनाइएका वा चलाइएका सवारी साधनमा पनि समस्या छ। सवारी साधनको नम्बर नराख्दा दुर्घटना भयो भने नराम्रो प्रभाव पर्ने देखिन्छ। यो विषयमा हामीले सुरु गरेको अभियानमा अहिले २५ सय जरिवाना राखेका छौँ। तर अहिलेसम्म कारबाही गरेको छैन। हिजोको डेटामा करिब २२३ जना मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका थिए। त्यसमा कारबाही भइराखेको छ त्यो पनि एउटा सचेतना हो। ट्राफिक कारबाही भनेको पैसा उठाउने मात्र होइन त्यो एउटा सचेतना हो।
कारबाहीमा परिरहेको र जरिवाना तिरिरहेको तर पनि यो किन नघटेको ?
यसमा सचेतनको नै कमी हो। जरिवाना पनि कम भएको हो। यो एउटा दुर्घटना हुनबाट बचाउने अभियान हो। यसबाट सबैले धेरै कुरा सिक्नुपर्छ।
सुरुसुरुमा गल्ती भए माफी दिने काम हुन्थ्यो अहिले किन आक्रामक भएर जरिवाना गर्नुहुन्छ ?
कसैबाट गलत भएको छ भने त्यो सुधार्ने काम प्रहरीको हो। जरिवानाको कुरामा त्यो रकम नेपाल सरकारको खातामा राजस्वमा जाने हो। त्यसको केही प्रतिशत ट्राफिक प्रहरीले पाउँछ। त्यो पनि यो वर्ष साउनबाट चाहिँ आएको छैन। एउटा सवारीले नियम उलङ्घन गर्दा पाँच सय तोकिएको जरिवाना १५०० बनाएका छौँ। त्यो पनि यातायात विभागबाट नै आएको हो। मादक पदार्थ सेवन गरेर सवारी चलाएको, रातो बत्ती कटेको, लाइन कटेको र मङ्सिर तीव्र गतिमा सवारी साधन चलाएकोलाई सचेतना कक्षमा बोलाएको छौँ। काठमाडौँ उपत्यकाको अधिकांश दुर्घटना तीव्र गति र चालकको लापरबाहीले नै भएको देखिन्छ। हामीले मङ्सिरमा ६० वटा लाइसेन्स ६ महिनाको लागि निलम्बनमा पठाएका छौँ। १५०० जरिवाना मात्र होइन सवारी तथा यातायात ऐनले पाँच पटक बढी नियम उलङ्घन गरेमा ६ महिना लाइसेन्स निलम्बनमा जान्छ भनेर उल्लेख गरेको छ। जरिवाना मात्र होइन। हामीले यो कारबाही प्रक्रिया पनि सुरु गरेको छौँ।
जनशक्ति र प्रविधिको हिसाबले हाम्रो ट्राफिक प्रहरीको अवस्था कस्तो छ ?
काठमाडौँ उपत्यकामा ५६ वटा ट्राफिक चोक रहेका छन्। त्यसमा आधा बिग्रिएका छन्। त्यसको मर्मत हामीले गर्दैछौँ। सडकका हरेक कुराहरू सडक विभागको हो। काठमाडौँ उपत्यकामा केही ठाउँमा सीसी क्यामेरा राखिएको छ। त्यसको निगरानी ट्राफिक प्रहरीले गर्दछ। जनशक्तिको हिसाबले १७५० जना मान्छे कार्यरत छौँ।
ट्राफिक प्रहरीले कसरी काम गरेका छन्, उनीहरूको मनोभाव के छ ?
ट्राफिक प्रहरीको टिम भित्र छिर्न हामीले हरेक वर्ष तामिल दिन्छौँ। त्यो तालिममा आउनेको उत्सुकता हेर्दा आकर्षण धेरै पाइएको छ। हामीले पटक पटक आलोचना खेपेका छौँ। असम्भव काम हामीले गर्दै आएका छौँ। यसमा सबैको साथ आवश्यक पर्ने देखिन्छ।
पुराना गाडीले दुर्घटना बढाइरहेको हो ?
फिटनेसको कुरामा हामीले यान्त्रिक परीक्षण सुरु गर्दा पहिलो चरणमा काठमाडौँबाट हेटौंडा जाने सुमोको चेक जाँच गर्दा २२ वटा गाडीमा ह्यान्डिक्याप थिएन। अहिले पनि यान्त्रिक परीक्षण फिट नभएका गाडी पाउँछौँ। ती सवारी साधनका धनीलाई पहिलो चरणमा सम्झाउने र सुधार नभए कारबाही गर्दै आएका छौँ।
सवारी साधनको कर तिरेको फोटो, ब्लुबुकको फोटो किन मानिँदैन ?
हामीले त्यो मानेको छैनौँ। त्यो फोटो धेरैमा जाने हुनसक्छ। कानुन पालना व्यवहारिक रूपमा हुँदैन। कुनै सवारी साधनले धेरै धुँवा फाल्यो भने हामीले त्यसलाई कारबाहीमा लान्छौँ।
ठूलो बाटोमा पनि जाम देखिन्छ यसलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?
सबै भन्दा पहिला मानसिकतासँग जोडिएर आउँछ। सबैलाई हतार हुने, सबै अगाडि जानु पार्ने, अगाडि कोही व्यक्तिको पसल छ र त्यहाँ रोक्न दियो भने त्यसको असर पछाडि गर्नसक्छ। कतिपय सडकमा नै पार्किङ गरेको पाइन्छ। त्यो गर्नु भएन। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तरवार्ता
प्रस्तुति : पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया