जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल | Khabarhub Khabarhub

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन्। विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन्।

कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन्। ती स्थलको उजागर हुन सकेको छैन।

कर्णालीको जुम्ला प्राकृतिकरूपले पर्यटनको अत्यन्तै सम्भावनायुक्त ठाउँ मानिन्छ। जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूला, जुम्ला तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला (वीरयोद्धा), मार्सी धान सुरुआत गरिएको गुरुफोक्टो, चन्दननाथ भैरवनाथ मन्दिर, मष्टो प्रथा, गुठीचौर भेडा अनुसन्धान केन्द्र, तिला त्रिवेणीलगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र अध्ययन, अनुसन्धान र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिन्छन्।

जुम्लाको गुठीचौर गाउँपालिका–१ मा हालै चौँरी गोठालाहरुले आकाशे ताल पत्ता लगाएका छन्।

वडा नम्बर १ मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार ७०० मिटरको उचाइमा उक्त आकाशे ताल गोठालाले पत्ता लगाएका हुन्। सात वर्षअघि चौँरीपालक गोठालाले नै चार हजार ३०० मिटरको उचाइमा हिउल्सा ताल र चार हजार मिटर उचाइमा रहेको दूध कुण्डली तालसमेत पत्ता लगाएका थिए।

ती सबै तालको केही दिनअघि वडाध्यक्ष अर्जुनकुमार महतारासहितको टोली अवलोकन गरेर फर्केको छ। मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको उक्त आकाशे तालमा पहिलोपटक वडाध्यक्षको टोली पुगेको हो। “चौँरी गोठाला मुस्किलले त्यहाँ पुगेका रहेछन्”, वडाध्यक्ष महताराले भने, “चौँरी हराउँदा खोज्दै जाने क्रममा ताल भेटिएको रहेछ।”

स्थानीय साङ्गे गुरुङका अनुसार चौँरी खोज्दै जाने क्रममा गोठाला तालमा पुगेका हुन्। “सहजै नपुग्न सकिन्न, त्यसैले तालको महत्वबारे कोहीलाई थाहा भएन”, उनले भने। गुरुङका अनुसार तिब्बती भाषामा आकाशे ताललाई म्हाङ्ग्वो युञ्जो भन्ने गरिन्छ। आकाश जस्तो रङ भएकाले त्यसलाई आकाशे ताल भनिएको उनको भनाइ छ।

तालको शिरमा दूध कुण्डली हिमाल अवस्थित छ। शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ।

निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घण्टाको समय लाग्ने वडाध्यक्ष महतारा बताउँछन्। उक्त तालका माध्यमबाट भविष्यमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ छ। रासस

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ७ : १७ बजे

वर्षाका कारण देशभरका यी ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौं– मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११

त्रिलोकेश्वर महादेव मन्दिरमा सोमबारदेखि एक महिने श्रावणी महोत्सव हुने

भक्तपुर– चाँगुनारायण नगरपालिका-७ बागेश्वरीस्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने

तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल-खावा खण्ड स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक– तीन वर्षदेखि निर्माण रोकिएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्ड स्तरोन्नति

मेची राजमार्गसहित अधिकांश सडक अवरुद्ध

पाँचथर– अविरल वर्षापछि आएको बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग,

चन्द्र ढकालको आईएमई समूहले अन्तर्राष्ट्रिय ऋण लिएको दाबी, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने पहिचानवादीको तयारी

काठमाडौं- ताप्लेजुङको पाथीभारा (मुक्कुम्लुङ) मा केबलकार निर्माणको विरोध गर्दै आएका