नारीका वेदना गीतको माध्यमबाट पोख्ने पर्व तीजले लय छोड्दै « Khabarhub

नारीका वेदना गीतको माध्यमबाट पोख्ने पर्व तीजले लय छोड्दै


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– वर्षभरिका नारीका वेदनालाई गीतको माध्यमबाट पोख्ने पर्व तीजले अहिले लय छोड्दै गएको छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ । समाजलाई सही बाटोमा हिँडाउने गीतहरू भद्दा र मजाकका वस्तुजस्तै बनेका छन् । ‘भाइरल’ र चर्चित बन्ने नाउँमा गीतलाई अपभ्रम गराइएको छ । लय, ताल र सुरमा तीजको कुनै छनक नै पाइँदैन ।

भरतपुर महानगरपालिका–१० सिर्जनाचोक निवासी ८६ वर्षीया विष्णुमाया गौतमलाई  उहिलेको तीजबारे सोध्दा गुनगुनाइन् ,
‘घ्यू भरेर राखे आमा फूल भरेको टिनमा
बाँचे आमा भेटौँला वर्ष दिनमा’

गुनगुनाउँदै कुराकानी सुरु गरेकी उनले  पुराना गीतका अरु टुक्का समेत गाउँदै अहिले निस्किएका गीत भने आफूले सम्झनै नसक्ने बताइन् । विष्णुमायाले भनिन्, ‘अहिलेका गीतमा मलाई खासै रुचि छैन । यी तीजका गीतजस्ता पनि छैनन् ।’

अहिलेका गीतहरू सुन्दा दिक्क मान्नुहुने उनी आफूहरूले पहिला-पहिला गाएका गीतहरू सम्झँदै पहिलाको जस्तो रमाइलो अहिलेका तीजमा हुन छाडेको बताइन् । विष्णुमायाले भनिन्, ‘दिनभरि काम र  साँझपखको घरधन्दा सकेर गाउँका दिदीबहीनी जम्मा भइ तीज मनाउन गीत गाउने गरिन्थ्यो ।’ अहिले तीज भड्किलो बन्दै गएको उल्लेख गर्दै उनले भनिन्, ‘घरको आँगनीबाट अहिलेको तीज पार्टीप्यालेस र होटलमा सरेका छन् ।’

गाउँका घरघरमा पालैपालो गीत गाउने गरेको सम्झँदै विष्णुमायाँले गाउँका भाका र पुरानो सभ्यता हराउँदै गएकामा चिन्ता पनि व्यक्त गरिन्। उनले आफ्ना पालामा गाइने गीतका टुक्का सुनाइन् ।

‘सयपत्री फूल फुल्यो बारीमा
टिपम् क्यारे सुनको थालीमा
भगवान्को सेवा गरे स्वर्गमा जान पाइन्छ
नभुलौ स्वामीराजै जन्म जालैमा’

यस्ता गीतहरू अहिले बजारमा सुन्न नपाउँदा तीज मनाउने चलन नै फेरिएको महसुस भएको विष्णुमायाले बताइन् । पहिला तीजमा दर खाने दिन मात्रै माइत जाने गरेको सम्झँदै उनले भनिन्, ‘माइतबाट लिन नआए जान पाइँदैनथ्यो । बाटो टाढा हुन्थ्यो । आमाले दाइभाइलाई लिन पठाउनुहुन्थ्यो ।’

अहिले तीजभन्दा अगाडि नै दर खाने चलन बढ्दै गएको र तीजमा पहिलाको जस्तो रौनकता पनि नरहेको भरतपुर महानगरपालिका–१०  निवासी ७६ वर्षीया मनकला पन्थीले बताइन् । ‘समयअनुसार चाडपर्व मनाउने परिपाटी पनि परिवर्तन भएको हुनसक्छ ।’ उन भनिन्,  ‘पहिले–पहिले गाउँघरमा बसेर तीज मनाउने गरेको भए पनि अहिले त पार्टी प्यालेसमा गए दर खाए आए । गीतहरूमा समेत विकृति भित्रन थालेको छ।’ 

गीत गाउँदा पहिला दिदीबहिनी भेला भएर सुख दुःखका कुरा र  सासुले दिएका पीडालगायत विषयमा गाउने गरेको भए पनि अहिले कसको श्रीमानले कति कमाउँछ भन्नेमा मात्रै केन्द्रित भएको उनको भनाइ थियो ।भरतपुर महानगरगरपालिका–८ निवासी ६५ वर्षीया विष्णुकुमारी रेग्मीले अहिले तीज मनाउने चलनमा धेरै परिवर्तन आएको छ भनिन् ।  एक महिनाअघिदेखि दर खाने कार्यक्रम नभएको उल्लेख गर्दै उनले भनिन्, ‘अहिले समयले सिकाएको होला ।’ पहिला–पहिला दर खाने दिन माइतमा गएर दर खाने गरेको स्मरण गर्दै विष्णुकुमारीले थपिन्, ‘राति आमाले पकाएर दिएको दर र  गाउँभरिका दिदी–बहिनी जम्मा भएर गीत गाउने अगाडि अहिलेको पार्टी प्यालेसमा गरिने कार्यक्रमको के रौनक ।’

भरतपुर महानगरपालिका–१० रिजाल चोककी ६५ वर्षीया अम्बिका धितालले पहिला/पहिला तीजमा दुःख बाँडेर मनाउने गरिएकामा  अहिले रमाइलोका लागि मनाउने परिपाटी बसेको बताइन् । अहिले तीज सबै मिलेर पार्टी प्यालेसमा मनाउने गरेको, भड्किलो पनि बनेको र पुराना चलन हराउँदै गएको उनको भनाइ थियो । दाजुभाइ/दिदीबहीनी जम्मा भएर रमाइलो गर्ने गरेको सम्झँदै उनले भनिन्, ‘तीजको मौलिकता हराउँदै गयो । यसलाई बचाउनेतर्फ ध्यान कसैको जान सकेन ।’

तीजको दिन पानी पनि नखाई व्रत बस्नुपर्ने भएकाले अघिल्लो साँझ अबेर दरिलो हुने गरी खाने खानालाई दर भन्ने चलन छ । व्रत बस्नु २४ घण्टा अघिदेखि माछा, मासुजस्ता ‘जुठो’ वस्तु खान नहुने हुनाले घ्यू-भात, दूध, दहीजस्ता आडिला र दरिला खाना खाएर भोलिपल्ट व्रत बस्नु तीजको परम्परा रहेको छ ।

–नारायण अधिकारी रासस

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  २ : ३४ बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु