विश्वभर आज: के-के भयो दिनभर ? | Khabarhub Khabarhub

विश्वभर आज: के-के भयो दिनभर ?


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस र युक्रेनबीच वार्ता सुरु
रुसले युक्रेनमाथि आक्रमण गरेको पाचौँ दिन दुई देशबीच वार्ता सुरु भएको छ । बेलारुस र युक्रेनबीचको सीमाक्षेत्रस्थित एक गाउँमा दुई मुलुकका प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको हो । युद्ध अन्त्य गर्ने विषयमा वार्ता सुरु हुनुअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनालाई हतियार बिसाउन आग्रह गरेका थिए ।

वार्ताका क्रममा युक्रेनले दुई माग राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनुपर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने शर्त राखेको हो ।

युक्रेनले शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने संभावना कम रहेको अधिकारीहरूले जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताएका थिए । उनले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको प्रतिक्रिया दिएका थिए ।

हामीलाई तत्काल ईयूको सदस्यता देऊ– युक्रेनी राष्ट्रपति

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन पुनः माग गरेका हुन् ।

नयाँ भिडियो सन्देशमा जेलेन्स्कीले युरोपेली संघका अन्य देश र आफ्नो देशको भावना मिल्ने भएकाले संघको सदस्यता पाउनुपर्ने बताएका हुन् । रुसले आक्रमण गरेको पाँचौ दिनमा रुससँग लड्नका लागि र सहयोग लिन पनि सजिलो हुने भएकाले सदस्य बन्न चाहेको बताए ।

जेलेन्स्कीले भिडियो सन्देशमा भनेका छन्, ‘अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनु र मिल्ने सम्मको सबै सहयोग गर्नू, हामीलाई सहयोगको खाँचो छ ।’
अहिले सबै कुराको छलफल गर्न सम्भव नभएको र आफूहरू निकै अप्ठेरो अवस्थामा रहेको पनि जेलिन्स्कीको भनाइ छ । सबै युरोपेली देशहरूसँग आफू मिलेर काम गर्न र सँगसँगै रहन चाहेको जेलेन्स्कीको भनाइ छ ।

पुटिन बाठा, अमेरिकी नेताहरू लाटा ट्रम्प

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ‘स्मार्ट’ र अमेरिकी नेताहरूलाई लाटा भनेका छन् ।

रुसी सेनाले युक्रेनमाथिको हमला तीव्र पारिरहेका बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । युक्रेनी हमलाको अमेरिका र उसको पश्चिमा गठबन्धनले विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् ।
‘हिजो मलाई सञ्चारकर्मीहरूले राष्ट्रपति पुटिन स्मार्ट हुन त भनेर सोधेका थिए । मैले उनी निश्चय नै स्मार्ट हुन् भनेर जबाफ दिए,’ फ्लोरिडामा कन्जरभेटिभ पोलटिकल एक्सन कन्फरेन्स (सीपीएसी) मा एउटा भेलालाई सम्बोधन गर्दै उनले भने ।

उनले अगाडि थपे, ‘समस्या यो होइन कि पुटिन स्मार्ट छन्, जो पक्कै पनि स्मार्ट छन्, तर वास्तविक समस्या यो हो कि हाम्रा नेताहरू मूर्ख छन् ।’

युक्रेनले तैनाथ गर्‍यो १ लाख सैनिक

रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तिमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ । रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको छ । त्यस्तै आइतबार राति पनि रुसी स्थल सेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेका थिए ।

युक्रेनी सेना प्रमुख भेलरी जालुज्नीले जनाएअनुसार किभ आसपास भीडन्त जारी छ । फेसबुकमार्फत् सेना प्रमुख जालुज्नीले दिएको जानकारीअनुसार रुसी आक्रमणको प्रतिरोधका लागि युक्रेनले १ लाखभन्दा बढी सैनिक परिचालन गरेको छ र तीमध्ये अधिकांश सीमा सुरक्षा क्षेत्रमा कार्यरत सेना रहेका छन् । अहिले पनि रुसको सेनाले युक्रेनको राजधानी किभ सहरलाई घेरा हालेका छन् । रुसले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले जनाएका छन् ।

यसअघि युक्रेनले पूर्ण रुपमा सेना परिचालन गरेको बताएको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । युक्रेनका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ ।

युक्रेनमा रुसलाई बेलारुसले सघाउने

युक्रेनमाथि आक्रमण जारी राखेको रुसी सेनालाई सघाउन बेलारुसले पनि युक्रेनमा आफ्नो सेना पठाउने तयारी गरेको छ ।
द किएभ इन्डिपेन्डेन्टले विभिन्न स्रोतलाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारअनुसार यसअघि देखि नै रुसी सेनालाई सहयोग गरिरहेको बेलारुसले युक्रेनमा आफ्नो सैनिक नै रुसी सेनाको सहयोगमा परिचालन गर्ने तयारी थालेको हो ।

बेलारुस शीतयुद्धको अन्त्यपछि रुसको साझेदार देश हो र रुसी सेनाले बेलारुसबाटै युक्रेनमाथि उत्तरी सीमाबाट आक्रमण जारी राख्दै आएका छन् ।
आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुसी राष्ट्रपति एलेक्सेन्डर लुकाशेन्कोसँग टेलिफोन वार्ता गर्दा बेलारुसले युक्रेन आक्रमणमा आफ्ना सैनिक परिचालन नगर्ने प्रतिबद्धता जनाएको समाचारहरू आएका थिए ।

युक्रेनको बेर्डियान्स्क नगर रुसी फौजको कब्जामा
युक्रेनमाथि आक्रमण जारी राखेका रुसी सेनाले युक्रेनको दक्षिणको तटीय नगर बेर्डियान्स्क नियन्त्रणमा लिएका छन् ।

ब्ल्याक सीको छेउमा रहेको बेर्डियान्स्क नगर गएराति ८ बजेतिर रुसी सैनिकको नियन्त्रणमा पुगेको स्थानीय अधिकारीलाई उल्लेख गर्दै बीबीसीले जनाएका छ ।

करिब एक लाख जनसंख्या रहेको बेर्डियान्स्कमा युक्रेनी सेनाको नौसैनिक अखडा रहेको थियो । रुसी सेनाले चार दिनदेखि युक्रेनमाथि लगातार आक्रमण गरिरहे पनि अहिलेसम्म कुनै पनि ठूला शहरहरु कब्जा गर्न सकेको छैन ।

रुसले युक्रेनमा सैन्य हमलाबाट अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको विज्ञहरूले बताउँदै आएका छन् । रुसी आक्रमण असफल बनाउन युक्रेनमा सैनिकहरूसँगै आम नागरिकहरूले समेत हतियारसहित सडकमा उत्रेका छन् ।

४३०० रुसी सैनिक मारिएको युक्रेनी दाबी
युक्रेनले आफ्नो देशमाथि आक्रमणमा संलग्न ४,३०० रुसी सैनिक मारिदिएको दाबी गरेको छ । युक्रेनी सहायक रक्षामन्त्री हाना मलायरले युद्धमा रुसको क्षतिको आँकडा फेसबुकमार्फत् सार्वजनिक गर्दै युद्धको पहिलो तीन दिनको तथ्याङ्क भन्दै ४,३०० सैनिक मारिदिएको दाबी गरेकी हुन् ।

उनले सार्वजनिक गरेको क्षतिको विवरणअनुसार ४,३०० रुसी सैनिक मारिएको, २७ रुसी विमान खसालिएको, २६ हेलिकप्टर खसालिएको, १ सय ४६ ट्याङ्क ध्वस्त पारिएको, ७ सय ६ सशस्त्र सवारीसाधनमा क्षति पुराइएको, ४९ वटा रुसी तोप नष्ट पारिएको, एउटा हवाई रक्षा प्रणाली ध्वस्त पारिएको, ४ वटा रकेट प्रहार गर्नसक्ने प्रणाली नष्ट गरिएको दाबी गरिएको छ ।
त्यस्तै ३० वटा सवारीसाधन, ६० वटा रुसी ट्याङ्कर, २ वटा ड्रोन र २ वटा डुङ्गा नष्ट पारिएको सहायक युक्रेनी रक्षामन्त्रीको भनाइ छ ।

रुसी सञ्चारमाध्यममाथि युरोपमा प्रतिबन्ध
रुसले युक्रेनमाथि गरिरहेको सैनिक कारवाहीको विरोधमा युरोपेली युनियनले रुसविरुद्धको नयाँ प्रतिबन्धहरू घोषणा गर्दा रुसी सरकारी मिडियाहरूको प्रसारणमा रोक लगाउने भएको छ ।
रेडियो फ्रि युरोपका अनुसार रुसी सरकारी समर्थक मिडियाहरू रसिया टुडे टेलिभिजन, रुसी सरकारी समाचार एजेन्सी स्पुतनिक लगायत मिडियाहरूले युरोपमा भ्रम सृजना गरिरहेको भन्दै त्यस्तो विकृतिलाई हटाउन ईयूले प्रतिबन्ध लगाउन लागेको हो ।

युरोपेली संघले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै औचित्य बिना युक्रेनमा युद्ध गरी युरोपेली देशहरूबीच विभाजन रोप्ने र झुट फैलाउन मिडियाको व्यापक प्रयोग गरिरहेको भन्दै अन्य क्षेत्रमा जस्तै रुसी मिडियाहरूमा समेत प्रतिबन्ध लगाउन लागिएको हो ।

रुसी जहाज युरोपको आकासमा उड्न नपाउने
युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरूमाथि प्रतिबन्ध लगाएको छ ।

यूरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लाइनका अनुसार रुसका सबै प्रकारका उडानहरुलाई युरोपियन युनियनका सदस्य राष्ट्रका आकाशमा उड्न बन्देज लगाइएको हो । ‘हामीले रुसका सबै प्रकारका उडानहरू, रुसी एयरलाइन्सका जहाजहरू र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियनको आकाशमा बन्द गराएका छौँ ।’ भोन डेर लाइनको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ ।
युक्रेनी नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका ट्यांकहरू युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ । युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरूप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएका हुन् ।

भाडाका सैनिक परिचालन गरी युक्रेनी राष्ट्रपतिको हत्या गर्ने रुसी षड्यन्त्र
भाडाका सैनिक परिचालन गरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्र पर्दाफास भएको छ ।

रुस सरकारले जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रप नामक निजी सैनिक कम्पनीका मर्सिनरी लडाकु परिचालन गरेको बेलायतको द टाइम्स पत्रिकाले जनाएको छ ।

ग्रुपका ४ सय लडाकु अहिले जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्रका लागि किभ परिचालन भएको द टाइम्सले जनाएको छ । उक्त पत्रिकाका अनुसार ती लडाकु पाँच साताअघि अफ्रिकी देशहरूबाट युक्रेन पुगेका थिए ।

जेलेन्स्कीको हत्या गरी युक्रेनको सरकार ढलेको अवस्थामा यस समूहलाई ठूलो रकम दिन रुस सरकारले बाचा गरेको जनाइएको छ ।

यसबारे युक्रेन सरकारलाई शनिबारमात्रै थाहा भएको बुझिएको छ । राजधानी किभमा कफ्र्यु लागेको बेला फेला परेका रुसी जासुस र सादा पोसाकमा रहेका रुसी लडाकुलाई केरकार गर्दा नयाँ षड्यन्त्र पर्दाफास भएको हो ।

पोल्याण्ड युक्रेन सीमामा अलपत्र भारतीय विद्यार्थीमाथि कुटपिट
रुसले युक्रेनमा आक्रमण थालेपछि पोल्यान्डको सीमा पुगेका भारतीय विद्यार्थीहरूमाथि कुटपिट भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले विद्यार्थीहरूमाथि निर्घात कुटपिट गरेको देख्न सकिन्छ ।
सीमामा फसेका भारतीय विद्यार्थीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुरक्षाकर्मीले सीमा क्षेत्रमा फसेका भारतीय तथा अफ्रिकीमूलका विद्यार्थीलाई पोल्याण्ड प्रवेश गर्न दिइरहेका छैनन् ।

सुरक्षाकर्मीले हवाई फायर गरी विद्यार्थीलाई युक्रेन फर्काउने प्रयास गरिरहेको जनाइएको छ । यद्यपि कुटपिट गर्ने सुरक्षाकर्मी कुन मुलुकका हुन् भन्ने स्पष्ट नभएको बुझिएको छ ।
युक्रेनमा जारी युद्धबाट ज्यान बचाएर अहिले लाखौँ युक्रेनी र विदेशी नागरिक छिमेकी पोल्याण्ड रोमानिया, हंगेरी, स्लोभाकिया मोल्दोभाजस्ता देशमा शरण लिन पुगिरहेका छन् ।
जासुसी भू उपग्रहको क्यामेरा परीक्षण गरेको उत्तर कोरियाली दाबी

उत्तर कोरियाले जासुसी भू उपग्रहका लागि क्यामेरा परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाए अनुसार आइतबार उक्त क्यामेराको परीक्षण गरिएको हो ।

आइतबार अमेरिकी, जापानी तथा दक्षिण कोरियाली सैनिक अधिकारीहरुले उत्तर कोरियाले ब्यालेष्टिक क्षेप्यास्त्रजस्तो हतियार परीक्षण गरेको जनाएका थिए । सन् २०२२ पहिलो दुई महिनामा मात्रै उत्तर कोरियाको यो आठौँ क्षेप्यास्त्र परीक्षण हो ।

केसीएनएले नयाँ परीक्षणबाट अन्तरिक्षमा आफ्नो जासुसी भू उपग्रह स्थापना गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल भएको दाबी गरेको छ । नयाँ प्रविधिबाट पृथ्वीको कुनै विशेष स्थानको लम्ब र तेर्सो फोटो खिच्न सकिने उत्तर कोरियाली दाबी छ ।

उत्तर कोरियाले यस किसिमको क्यामेराबाट कोरियाली प्रायद्विपको तस्वीर खिचेको दाबी समेत गरेको छ । केसीएनएले सार्वजनिक गरेको तस्वीरमा पृथ्वीजस्तो आकृतिमा कोरियाली प्रायद्विपलाई ठूलो पारेर देखाइएको छ ।
दक्षिण कोरियाली अधिकारीहरुले भने उत्तर कोरियाले हाइ रिजोलुसनमा तस्बीर सार्वजनिक नगरेका कारण नयाँ प्रविधिको गुणस्तर स्वतन्त्र रुपमा यकिन हुन बाँकी रहेको जनाएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ८ : ३० बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता