माहुरी र पुतली घट्दैछन्, झिंगा र लामखुट्टे बढदैछन् | Khabarhub Khabarhub

माहुरी र पुतली घट्दैछन्, झिंगा र लामखुट्टे बढदैछन्



काठमाडौं– पृथ्वीमा माहुरी, कमिला र गोब्रे किराहरू अन्य स्तनधारी जीव, पंक्षी र सरीसृपको तुलनामा आठ गुणा बढी तीव्रताका साथ लोप भइरहेका छन् । अर्कातिर किराहरूकै प्रजातिमा पर्ने माखा र साङ्गलाहरूको संख्या भने बढदै गएको छ ।

जलवायु परिवर्तन र कृषिमा व्यापक मात्रामा प्रयोग भइरहेको कीटनाशक औषधिका कारण यसरी किरा फ्टयाङ्ग्राहरूको संख्या घटन थालेको हो ।

धर्तीमा पाइने जीवहरूमा किराहरूको संख्या उल्लेख्य छ । जो मानिस र अन्य प्रजातिका लागि बहुआयामिक हिसाबले उपयोगी मानिन्छन् । यिनै किरा खाएर पंक्षी, चमेरा र साना स्तनधारी जीव बाँच्ने गरेका छन् ।

यिनै किराहरूमार्फत विश्वको ७५ प्रतिशत बालीमा पराग कण ओसारपसार हुने गर्छ । फूलको रस चुस्ने क्रममा किराहरूको मुखमा टाँसिने पराग कण अर्को फूलमा सरेपछि मात्र कुनै पनि वनस्पतिमा फल या अन्न लाग्छ ।

अतः हामीले खाने हरेक गासमा यिनै किराहरूको मुख्य योगदान छ, जसले पराग ओसारेनन् भने बालीमा दाना लाग्दैनन् । एकातिर यस्ता किराहरूले माटोलाई उर्वरा र ओसिलो बनाइरहेका हुन्छन् भने अर्कोतिर हानिकारक किराहरूको संख्या पनि नियन्त्रण गर्छन् । तर, ‘बायोलोजिकल कन्जर्भेसन’ नामक जर्नलमा प्रकाशित एक शोधपत्रका अनुसार विकसित मुलुकमा केही दशकयता माहुरीको संख्यामा उल्लेख्य कमी आएको छ ।

विश्वका विभिन्न भागमा गत १५ वर्षमा प्रकाशित शोधपत्रहरूको समष्टीगत समीक्षा गर्दै तयार गरिएको पछिल्लो शोधपत्रमा हरेक क्षेत्रमा किराहरूको संख्यामा कमी आएकाले आगामी केही दशकमै पृथ्वीबाट ४० प्रतिशत किराहरू लोप हुने दाबी गरिएको छ । किराहरूको एक तिहाइ प्रजाति खतरामा पर्ने पनि शोधपत्रको निश्कर्ष छ ।

कृषिमा अन्धाधुन्ध रासायनिक मल र कीटनाशकको प्रयोग, आधुनिक जिवनशैली, गगनचुम्बी भवन र टावरसहित बढदो शहरीकरण, ठूला बाँध र चौडा सडक, वनजङ्गल र वृक्षको विनास, बढ्दो जग्गा प्लटिङ अनि यसमा माफिया, कर्मचारीतन्त्र र सत्तासीनहरूको गठबन्धनका कारण भइरहेको पर्यावरणीय क्षतिको सबैभन्दा बढी मारमा सा–साना किराहरू नै परिरहेका छन् ।

शोधकर्ताहरूले जुनकिरीको संख्या घट्दै गएकोमा पनि चिन्ता व्यक्त गरेका छन्, जो वर्षाअघि टिमटिम गर्दै उडने गर्छन्। अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयमा आवद्ध मुख्य लेखक डा. फ्रान्सिस सेन्शेजका अनुसार जनसंख्या वृद्धिसँगै बढदो कृषि उत्पादन, शहरीकरण र वन जङ्गल फँडानीका कारण जैविक सन्तुलनका महत्वपूर्ण मानिने किराहरू यसरी लोप भइरहेका हुन् । माहुरी, कमिला मात्र हैन, जमीनमा फोहोर पदार्थलाई रिसाइकल गर्ने गोब्रे किरादेखि नदी र तलाउ छेउमा उड्ने घामकिरा (ड्रागनफ्लाइ)को भविष्य पनि संकटमा पर्र्दैछ ।

‘विश्वभर बालीनालीमा कीटनाशक र रासायनिक मलको अत्यधिक प्रयोग, विषालु रसायनसँगको सम्पर्क र जलवायु परिवर्तनका कारण किराहरूको धेरै प्रजाति लोप हुने अवस्थामा छन्’, सेन्शेजले भनेका छन् ।

शोधकर्ताहरूले जर्मनीमा उड्ने खालका किराहरूको संख्यामा हालै आएको गिरावटलाई उल्लेखनीय घटना मानेका छन् । पृथ्वीको अत्यधिक गर्मी हुने क्षेत्रमा यस खालका किराहरू संकटमा छन् ।

शोधमा संलग्न बेलायती समूह बगलाइफका अध्येता म्याट शार्डलोका अनुसार चिन्ता माहुरीहरूको विलोपीकरण मात्र हैन, यसबाट बालीनालीको परागसेचन र खाद्यान्न उत्पादनमा हुनसक्ने असर झन भयावह हुनसक्छ । शोधकर्ताका अनुसार किराहरूको संख्यामा कमी आउँदा यसले पृथ्वी ग्रहकै आहार श्रृंखलामा प्रभाव पारिरहेको छ । चराचुरुंगी, सरीसृप र माछाका कयौं प्रजाति किरामै निर्भर छन् । किराहरू लोप हुँदा चरा र माछाका प्रजातिको अस्ति त्वमा पनि स्वभाविक रुपमा संकट आउनेछ ।

बढ्दैछन् हानिकारक किराहरू

गहन शोधपछि प्रतिष्ठित वैज्ञानिक पत्रिका ‘बायोलोजिकल कन्जर्भेशन’मा प्रकाशित एक लेखमा वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम बढदै गएकाले हानिकारक किराहरू माखा, लामखुट्टे र साङ्गलाको संख्या चाहिँ अप्रत्याशित ढंगले बढदै गएको उल्लेख गरेका छन् । यस्ता किराहरूको प्रजनन क्षमता पनि बढेको छ ।
केही मुख्य किराहरू लोप हुने क्रममा छन् भने केही प्रजातिहरू यस्ता छन्, जसले आफूलाई परिस्थिति अनुसार ढाल्न सफलता पाएका छन् । ससेक्स विश्वविद्यालयका प्राध्यापक डेब गलसनका अनुसार तातो जलवायुका कारण तीव्र रफ्तारमा प्रजनन गर्ने किराहरूको संख्या चाहिँ बढनेछ, तर सुस्त प्रजनन गर्ने शुक्रकिट भएका किराहरू लोप हुनेछन् ।

‘हुनसक्छ यसबाट हानिकारक किटा फटयांग्राको सख्या बढनेछ । तर, माहुरी, पुतली र गोब्रे किराजस्ता उपयोगी किराहरू चाहिँ समाप्त हुनेछन् । फलस्वरुप झिंगा र साङ्लाजस्ता प्रजाति बढेछन्, किनकि यी किराहरूले स्वयंलाई परिवर्तित परिस्थिति अनुकुल ढाल्ने गर्छन् र कीटनाशक प्रतिरोधी क्षमता पनि तिनीहरूमा प्रचूर छ’, गलसनले भनेका छन् ।

किराहरूलाई जोगाउन के गर्न सकिन्छ त ? प्रोफेसर डेब गलसन भन्छन्, ‘हामी आफ्नो खेत र बगैँचालाई किराहरूको अनुकुल बनाऊँ, सकेसम्म कीटनाशकको प्रयोग नगरौं । अग्र्यानिक खाद्य पदार्थ र सामानको उपयोगबाट पनि हामी उपयोगी किराहरूलाई लोप हुनबाट बचाउन योगदान दिन सक्छौं ।’

मासिँदैछन् माहुरीहरू

संयुक्त राष्ट्र संघका अनुसार मानव उपभोगका लागि फल र बीउ पैदा गर्ने विश्वका करीब ७५ प्रतिशत बाली परागसेचनमा निर्भर छन् । यसमा कफी, कोको, बदाम र चेरीसमेत पर्छ । सन् २०१९ मा वैज्ञानिकले निकालेको निष्कर्ष अनुसार विश्वभर किटका कुल प्रजातिमध्ये आधा प्रजाति घटिरहेका छन् र यो शताब्दीको अन्त्यसम्म ती पूर्ण रुपमा लोप हुनेछन् ।

यसमा माहुरीका ६ प्रजातिमध्ये कुनै एक प्रजाति विश्वको कहीँ न कहीँबाट क्षेत्रीय रुपमै लोप भइसकेको छ । पराग कण ओसार्ने माहुरी लोप हुँदै जानुको कारण उनीहरूको बासस्थानमा क्षति पुग्नु र कीटनाशक उपयोग नै हो । ‘नेचर’ नामक पत्रिकामा प्रकाशित अध्ययनका अनुसार खेतीमा प्रयोग गरिने रसायनहरूको ककटेलले माहुरीको विनाश गरिरहेको छ।

अमेरिकाका दुई वैज्ञानिक स्टिभन बुकमन र ग्यारी नभानले पनि बाली नाली र फूलमा परागसेचन गर्ने उपयोगी किराहरूको घटदो संख्याको कारणमाथि अध्ययन गरिरहेका छन् । उनीहरूका अनुसार खास गरी माहुरीलाई सबैभन्दा बढी क्षति किटनाशक औषधि, वन जंगल विनाश र मोबाइल टावरबाट निस्कने विद्युत चुम्बकीय प्रदूषणबाट भइरहेको छ ।

अनि माहुरीका लागि अर्को खतरा हो, मोबाइल टावरहरूबाट निस्कने बिद्युत चुम्बकीय प्रदूषण । यसका कारण लाखौं माहुरीहरू फुलबाट चुसेको रस (नेक्टर) बोकेर आफ्नो घारसम्म फर्किन पाउँदैनन् र बीचमै मर्ने गरेका छन् ।

सन् २००८ मा अमेरिकामा यस्तो विद्युत चुम्बकीय प्रदूषणका कारण ३३ प्रतिशत माहुरीको घार नष्ट भएका थिए । फ्रान्समा विद्युत चुम्बकीय प्रदूषणबाट माहुरी सखाप हुने संख्या झन् धेरै छ । यसका साथै ‘कोलोनी कोल्याप्स डिसअर्डर’नामक रोगको शिकार भएर धेरै संख्यामा माहुरीको मृत्यु भइरहेको छ ।

विश्वभर असंख्य माहुरीहरूले फूलबाट रस चुस्ने क्रममा मानव जातिसहित समग्र पृथ्वीको शान्तिपूर्वक सेवा गर्दै आएका छन् । मानिसले खाद्यान्न प्राप्त गर्ने बालीनालीसहित पृथ्वीका ७५ प्रतिशत वनस्पतीमा परागकण ओसारपसार गरेर फूललाई फल या अन्नमा परिणत गर्ने माहुरीहरू लोप भएको खण्डमा पृथ्वीमा खाद्य उत्पादन आधा घटनेछ ।
माहुरीबाट हुने पराग ढुवानीबाट प्राप्त हुने आर्थिक लाभको अनुमानसमेत वैज्ञानिकहरूले गरेका छन् । जस अनुसार माहुरीबाट हुने परागकणबाट हुने आर्थिक लाभ २९० अरब डलर बराबर हुन्छ । यसमा पुतली, बारुला र भमराको योगदान जोड्ने हो भने यो आर्थिक लाभ दोब्बर हुन्छ ।

जिवजन्तुको आकार ठूलो हुँदैछ

पृथ्वीका उपयोगी किराहरू लोप भइरहेको बेला उता तातो रगत भएका जनावरको भने आकार बढ्दै गएको छ । पृथ्वी तातो हुँदै गएकाले तातो रगत भएका जनावरले अस्तित्व रक्षाका खातिर आफ्नो थुतुनो, खुट्टा र कानको आकार बढाइरहेको अर्को शोधबाट पत्ता लागेको छ ।

अस्ट्रेलियाको डिकिन विश्वविद्यालयका शोधकर्ता सारा राइडिङले भनेका छन्, ‘जलवायु परिवर्तन एउटा जटिल र बहुआयामिक घटना हो, जुन दिनहुँ घटिरहेको छ । यसैले यसको सम्बन्ध केवल जनावरहरूको आकार बदलिनुमा मात्र सीमित छैन । यो परिवर्तन व्यापक भौगोलिक क्षेत्र र विविध प्रजातिमा भइरहेको छ ।

आकार बदलिने क्रम चराचुरुंगीमा बढ्दो रहेको पाइएको छ । अस्ट्रेलियाको सुगाकै कुरा गरौं । तिनका कयौं प्रजातिमा सन् १८७१ यता मुखका चुच्चोको आकार दश प्रतिशत बढेको छ, यसलाई तापमान वृद्धिकै कारण बताइएको छ । यसैगरी उत्तरी अमेरिकामा पाइने डार्क आइड जंकोस नामक चराको थुतुनोको आकार पनि बढेको पाइयो ।

स्तनधारी प्रजातिमा पनि आकार परिवर्तनको तथ्य पत्ता लागेको छ । शोधकर्ताले ‘वुड र्याट’ नामक मुसाको पुच्छरको लम्बाई बढेको पत्ता लगाएका छन् । राइडिङका अनुसार केही जीवको आकारमा अहिलेसम्मको वृद्धि निकै कम अर्थात १० प्रतिशतभन्दा कम छ । यसर्थ यस्तो परिवर्तनमा तत्काल ध्यान जाँदैन, तर कानजस्ता मुख्य अंगमा भने वृद्धि भइरहेको अनुमान गरिएको छ ।

अस्ट्रेलियाको थिंडी स्क्यानिङ संग्राहलयमा बितेका एक सय वर्षमा संग्रहित पंक्षीको नमूनामार्फत पहिलो पटक चराहरूको आकार परिवर्तनबारे अनुसन्धान भइरहेको छ । जलवायु परिवर्तनका कुन–कुन चराहरूको आकार किन बदलिइरहेको छ भन्नेबारे अध्ययन भइरहेको छ ।

(विभिन्न एजेन्सीका सामग्रीमा आधारित)

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ६ : ४० बजे

वाफ वुमन्स च्याम्पियनसिप : प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं। साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) वुमन्स

कल बाइपास सञ्चालन गर्ने दुई पक्राउ

काठमाडौं । प्रहरीले अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी)

मारेर गाडेको अवस्थामा भेटियो पाटे बाघ

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर

कला संस्कृतिको जगेर्ना जरुरी : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कला संस्कृतिको

लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित

तुलसीपुर – लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन