दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

मतदान केन्द्र रहेका विद्यालय तीन दिन बन्द गर्न सिफारिस 
निर्वाचन आयोगले २८ वैशाखदेखि ३० वैशाखसम्म तीन दिन मतदान केन्द्र रहने विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । मतदान केन्द्र रहेका विद्यालयहरूको भौतिक उपस्थिति नगराई वैकल्पिक विधिबाट पठनपाठन गर्ने व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । स्थानीय तह निर्वाचनको लागि मतदान केन्द्र रहेका विद्यालयहरूमा सुरक्षा व्यवस्था, मतदान केन्द्रको व्यवस्थापन लगायतका कार्यको लागि तीन विद्यालय बन्द गर्नुपर्ने देखिएको उनले बताए । यसैबीच निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाण पार्टीको आन्तरिक विवाद मिलाउन सक्रिय रहेको विषय ‘नोटिस’ मा रहेको जनाएको छ ।

चालु आर्थिक वर्षको वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण 
केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । आज काठमाडौंमा आर्थिक वर्ष २०७८÷७९ को राष्ट्रिय लेखा तथ्याङ्कका विषयमा पत्रकार सम्मेलन गर्दै विभागले चालू आर्थिक वर्षको ६ देखि ९ महिनासम्मका तथ्यांकको आधारमा नेपालको आर्थिक वृद्धिदर गत आवको भन्दा बढी हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा सोहि समयमा ३.८३ प्रतिशतको आर्थिक वृद्धि भएको थियो  । आधार मूल्यका आधारमा अहिले नेपालको अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ र उपभोक्ता मूल्यका आधारमा ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ रहेको राष्ट्रिय योजना आयोगका सदस्य डा राम कुमार फुयालले जानकारी दिए । 

कांग्रेस पार्टी कार्यालयमा तोडफोड, २४ जना पक्राउ
गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका हुन् । उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन् । तोडफोडमा उत्रिएको भन्दै कास्की प्रहरीले २३ जनालाई पक्राउ गरेको छ । कांग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई माथिको निर्देशन भन्दै फिर्ता लिन आग्रह गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन् । आफैले तोडफोड गरेको स्वीकारेका कारण उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् । 

मेयरकी उम्मेदवार सिंहले सार्वजनिक गरिन् ७ संकल्प 
काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिनुभएका कांग्रेस नेतृ सिर्जना सिंहले महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक गरेकी छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सिंहले सेवा सुशासन, स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति सम्पदा सभ्यता, सबल समुन्नत पूर्वाधार र सबल युवा स्वावलम्बी महिला सृजनशील महानगरवासी समेटिएको सङ्कल्पपत्र सार्वजनिक गरेकी हुन् । उपत्यकालाई महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिंडडुल गर्न सक्ने सहरको निर्माण गरिने उनले बताइन् । 

पार्टी कारबाहीपछि कर्ण मल्लले गरे प्रदेश सांसदबाट राजीनामा घोषणा
नेपाली कांग्रेसले साधारण सदस्यबाट निष्कासन गरेपछि डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् । आज डडेलधुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् । आफूलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले नदिने भन्दै आफू प्रदेशसभा सांसद नरहेको घोषणा गरे । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौँ जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रुष्ट रहेका थिए । 

गृहमन्त्रीलाई भरतपुरका बागी नेताको जवाफ
भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन् । उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठसँग पौडेलले चितवनका कांग्रेसका मान मर्यादा र भविष्यसँग जोडिएको कुरा भएकाले आफू एक्लैले उम्मेदवारी फिर्ता लिन नसक्ने जवाफ दिएका हुन् । उम्मेदवारी दिने बेलामै बयोवृद्ध नेता कृष्णलाल सापकोटालगायतको भेलामा पछि पार्टी शीर्ष नेतृत्वको दबाबमा उम्मेदवारी फिर्ता लिन पाइँदैन भनेर वचनबद्धतासमेत अघि बढेकाले अहिले आएर कार्यकर्तालाई धोखा दिन नसक्ने पौडेलले बताए । 

बागी उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी तथा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आज एक वक्तव्य जारी गर्दै देउवाले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न, लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन गरेको विज्ञप्तिमा भनिएको छ । 

सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरूले गरेका हौँ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरूले नै गरेको बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले बुद्ध भत्ता, अपाङ्गता, एकल महिला लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात केपी ओलीले भनाई मनमोहन र आफूले गरको बताए । उनले यसअघिको ओली सरकारले ओम्नी र यती समूहसँग मिलेर भ्रष्टाचारको काम गरेको र आफूहरूले जनताको लागी काम गरेको दावी गरे । अध्यक्ष नेपालले इमान्दारिता र निष्ठाको राजनीतिका साथ जनताप्रति समर्पित हुँदै अघि बढ्ने जिकिर गरेका छन् । 

चीनसँग सीमा सुरक्षासम्बन्धी समस्या छैन : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उत्तरी छिमेकी चीनसँग कुनै प्रकारको सीमा सुरक्षासम्बन्धी समस्या नरहेको बताएकी छन् । आज आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले चीन गृह सचिवस्तरीय बोर्डर टास्कफोर्सको बैठक सम्पन्न भएको जानकारी दिँदै चीनसँग कुनै प्रकारको सीमा सुरक्षासम्बन्धी समस्या नभएको बताइन् । यस्तै परराष्ट्र मन्त्रालयले नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ औँ वर्ष गाँठको अवसरमा द्विपक्षीय भ्रमण आदानप्रदान बढेको जानकारी दिएको छ ।

तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना, एक जनाको मृत्यु, २८ जना घाइते
तीर्थ यात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना हुँदा स्कुटरमा सवार एकजनाको मृत्यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । 

केशव स्थापित विवादमा तानिए
काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयरको उम्मेद्वार बनेका केशव स्थापित फेरी विवादमा तानिएका छन् । आज काठमाडौँमा मेयरमा उठेका प्रमुख तथा उपप्रमुखहरूसँगको अन्तरक्रियामा एक सहभागीले सोधेको प्रश्नको जवाफमा स्थापित विवादमा तानिएका हुन् । कार्यक्रममा एक सहभागीले स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधेका थिए । उनले आफूले कुनै दुर्व्यवहार नगरेको दावी गरे । उनले प्रश्न सोध्नेप्रति नै टिप्पणी गरेका थिए ।

पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि 
पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८ सय ८२ पीसीआर परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १८ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ सय ४९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले छाडे पार्टी 
राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले बुधबार राजीनामा पत्र बुझाएका हुन् । पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा पनि रहेका थिए । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्यूँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए । थापाले पौडेललाई गत १८ फागुनमा उपाध्यक्ष मनोनीत गरेका थिए । 

५० मिटर अग्लो पर्खालबाट आमाछोराले हामफाले, आमाको घटनास्थलमै मृत्यु
भक्तपुरको मध्यपुर थिमिमा पर्खालबाट हामफाल्दामा एक वृद्धाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका–५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको हो । उनीसँगै हाम फालेका ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् । गएराति साढे १० बजेतिर आमाछोराले पर्खालमा चढेर हामफालेका थिए । मनमायाको घटनास्थलमै मृत्यु भएको हो । छोरा मातुरामको भने मध्यपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

रातो मच्छिन्द्रनाथको रथ यात्राका लागि रथ निर्माण हुँदै
वैशाख २१ गतेदेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथ यात्राका लागि रथ निर्माण भइरहेको छ । वैशाख कृष्ण प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथको महास्नान गरेपछि रथ बनाउने काम भइरहेको हो । वैशाख शुक्ल प्रतिपदामा मच्छिन्द्रनाथलाई रथारोहण गर्नुपर्ने भएकाले रथ बनाउने कामलाई तिव्रता दिएको गुठी संस्थानले जनाएको छ । रथ विभिन्न किसिमका काठ तथा बेतको सहायताले बनाउने गरिन्छ । काठकै चुकुल राखी बेतको डोरीले बाँधेर रथ निर्माण गर्ने परम्परा छ । पाटनको तःबहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै पुल्चोकमा निर्मित ३२ हात अग्लो रथमा आरोहण गराइने चलन छ । 

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज सफल अवतरण
मुलुककै दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल रहेको गौतमबुद्ध विमानस्थलमा पहिलो पटक वाइडबडी जहाजले परीक्षण उडान गरेको छ । आज साँझवाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको हो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज साँझ ५ः५५ बजे अवतरण गरेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चारकर्मी, पर्यटन व्यवसायीसमेत उडान भरेर आएको उक्त विमान काठमाडौंबाट भैरहवामा ५० मिनेटमै अवतरण गरेको हो ।वैशाख १ गते नैं वाइडबडी जहाजले उडान गर्ने भनिएपनि प्राविधिक कारणले केही ढिलाई भएको थियो ।

नेपाल पर्यटन बोर्ड र एफएनसीसीआई बीच, पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न सहमति
मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी पछि दुवै संस्थाहरू पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन् । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले आज महासंघ सचिवालयमा हस्ताक्षर गरेका हुन्।

आज सेयर बजारका सबै सूचक घटे 
साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । शेयर बजार परिसूचक नेप्से २० अंकले घटेको छ । हिजोको तुलनामा आज कारोबार रकम भने केही बढेको छ । आज कुल १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार हिँजो १ अर्ब ८ करोडको कारोबार भएको थियो । ७ कम्पनीको मूल्य स्थिर रहँदा कुल २५ कम्पनीको मूल्य बढ्यो भने १६३ को घट्यो । बैंकिङ ६, ब्यापार ३२, होटल तथा पर्यटन २६, विकास बैंक ७५, जलविद्युत् २३, फाइनान्स ३०, निर्जीबन बीमा ४१, उत्पादन ७५, अन्य २६, माइक्रोफाइनान्स ३८ र जीवन बीमा उपसमूहको सूचक १५० अंकले घटे । जल्पा सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो भने अरु बढेकाको ५ प्रतिशतमुनि सीमित रह्यो । 

गाँजा खेतीलाई कानुनी मान्यता दिन व्यवसायीको माग
नेपाल चेम्बर अफ कमर्सले गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग आग्रह गरेको छ । अर्थमन्त्री जनार्दन शर्मासँग भएको भेटमा चेम्बरका पदाधिकारीले गाँजाबाट औषधि र कपडा पनि बनाएर निर्यात गर्न सकिने बताएका हुन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले गाँजा खेतीलाई व्यापार घाटा कम गर्ने विकल्पका रुपमा लिनुपर्ने बताए । भेटमा पछिल्लो आर्थिक अवस्था, नयाँ बजेट गृहकार्य लगायतका विषयमा छलफल भएको थियो । चेम्बरका अध्यक्ष मल्लले मुलुकको भुक्तानी सन्तुलनलाई असर नगर्ने गरी आयत व्यवस्थित गर्नुपर्ने बताए । 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १० : ३५ बजे

एनसेल खरिदबिक्री प्रकरणमा नेतृत्वको स्वार्थ जोडिएको छ : उपेन्द्र यादव

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेल खरिदबिक्रीबारे

महानगरभित्र प्लास्टिकका फूल र रुख राख्न निषेध

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट

ठगी गरेको आरोपमा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

कास्की – पोखरामा ठगीसम्बन्धी मुद्दामा वडा सदस्यसहित चार जना पक्राउ

शाहरुखले तोडे प्रभासको कीर्तिमान

नयाँ दिल्ली – शाहरुख खानको फिल्म डंकीको ट्रेलर ५ डिसेम्बरमा

आन्तरिक राजस्व विभागले भन्यो– ‘स्वदेशी आलु र प्याजमा भ्याट लाग्दैन’

काठमाडौं – आन्तरिक राजस्व विभागले स्देशमै उत्पादन भएका आलु, प्याजलगायत