सानो तर संवृद्ध : ज्वालामुखीमाथि हिमनदीको मुलुक आइसल्याण्ड  « Khabarhub

सानो तर संवृद्ध : ज्वालामुखीमाथि हिमनदीको मुलुक आइसल्याण्ड 



काठमाडौँ – मानिसलाई बसोबास गर्न योग्य मुलुकका सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू के के होलान् ? सर्वसुलभ शिक्षा, प्रभावकारी एवं सर्वव्यापी स्वास्थ्य उपचार, रोजगारी, लामो औसत आयु, न्यून भ्रष्टाचार, लैंगिक समानता, न्यून हिंसात्मक अपराध इत्यादि ।

जो कसैले कुनै मुलुकमा चाहने पनि यही कुरा न हुन् । अझ त्यसमाथि आफू हिँड्ने सडक चिल्ला होउन्, कानुनहरू खुकुला र प्रगतिशील होउन् ।

उच्च व्यक्तिगत स्वतन्त्रता पाइयोस्, पर्यावरणीय हिसाबमा स्वच्छ हावापानी होस्, सरकारले हरेक नागरिकको भलो चिताओस्, कतै फोहोर नदेखियोस्, गरिबी नहोस् । समाजमा यति भए हरेक मानिसको सर्वाङ्गिण विकास हुने निश्चित हुन्छ ।

आन्ध्र महासागरको उत्तरतिर एउटा सानो टापु छ । साढे तीन लाखभन्दा केही बढी जनसङ्ख्या रहेको । नाम हो आइसल्याण्ड । कुनै पनि समाज शत प्रतिशत दोषरहित हुँदैनन् तर मानिसले सहजतापूर्वक जीवनयापनका लागि अपेक्षा गर्ने प्रायः सबै कुरा आइसल्याण्डको समाजमा उपलब्ध छन् ।

त्यसैले आइसल्याण्ड हरेक अन्तर्राष्ट्रिय संस्थाहरुले निकाल्ने सूचकांकको शीर्ष स्थानमा आउँछ ।

यो मुलुकको इतिहास धेरै पुरानो भने छैन । नवौं शताब्दीतिर यो मुलुकमा मानिसहरु (प्रायः नोर्स भाइकिङ्गहरु) बसोबास गर्न आएका थिए । सन् ९३० मा आइसल्याण्डमा तत्कालीन नर्वेजियन राजालाई सल्लाह दिनका लागि अल्थीङ नामक संसद् निर्माण गरियो ।

अल्थिङलाई हालसम्म कायम रहेको संसारकै सबैभन्दा पुरानो संसद मानिन्छ । आइसल्याण्ड सन् ९३० देखि दोश्रो विश्वयुद्धसम्म नर्वेजियन र डेनिस अधिराज्यको अधिनमा रहेको आइसल्याण्डले सन् १९४४ मा आएर मात्र स्वतन्त्रता प्राप्त गर्‍यो ।

सक्रिय ज्वालामुखी, लाभा मैदान, हिमनदी र पहाडी भू–भाग रहेको यो मुलुक क्षेत्रफल र जनसङ्ख्याका आधारमा निकै सानो भए पनि लोभलाग्दो छ । आइसल्याण्डलाई ‘ल्याण्ड अफ फोर्स्ट एण्ड फायर’ त्यसै भनिएको होइन ।

भौगोलिक बनोट र विविध सुन्दर प्राकृतिक छटाका कारण मात्र नभई आर्कटिक वृत्तभन्दा केही बाहिर अवस्थित यो मुलुकले आफ्ना नागरिकको जीवन स्तर, लोककल्याणकारी व्यवस्थामा आधारित प्रणाली एवं सामाजिक गतिशीलताका क्षेत्रमा विश्वका लागि प्रेरणा बनेको छ । त्यहाँको सामाजिक व्यवस्था लोककल्याणकारी नर्डिक मोडेलको एउटा उत्कृष्ट नमुना हो भन्दा फरक पर्दैन ।

आखिर के छ, जसले आइसल्याण्डलाई अरुभन्दा फरक बनाउँछ ? त्यस्तो एउटा मात्र कारण छैन, जसले आइसल्याण्डलाई अरु देशभन्दा फरक बनाउँछ । त्यहाँको राजनीतिक, सामाजिक एवं आर्थिक प्रणाली नै त्यहाँका नागरिकको कल्याणका लागि एकदम सुहाउँदो छ ।

नवउदारवादी नीतिका कारण पश्चिमा पुँजीवादमा आर्थिक असमानता र असमानुपातिक विकास भइरहेका बेला सामाजिक लोकतन्त्रवादी व्यवस्था रहेको यो मुलुकमा यस्तो असमानता देखिन्न । त्यहाँको सरकारले मुलुकको हरेक क्षेत्रमा नागरिकको अधिकार र कल्याणलाई ध्यानमा राख्दै आएको छ ।

आइसल्याण्डमा शिक्षा सर्वव्यापी एवं निःशुल्क छ । स्वास्थ्य सेवा पनि सार्वजनिक स्वामित्वमा छन् । त्यहाँ निजी अस्पताल र निजी स्वास्थ्य बिमा सेवा छैनन् । सबै सरकारले हेरेको छ ।

सरकारी बजेटको सबैभन्दा ठूलो हिस्सा पनि स्वास्थ्य सेवामै खर्च हुन्छ । त्यहाँको श्रम बजारमा पनि सार्वजनिक क्षेत्रको ठूलो हिस्सा छ । करिब ३० प्रतिशत रोजगारी यस्तै सार्वजनिक क्षेत्रमा रहेका छन् ।

त्यहाँ युनियनहरु उत्तिकै मजबुत छन् । मजदुर युनियनहरुले सरकारी मध्यस्थतामा रोजगारदाताहरुको युनियनसँग सामूहिक छलफल गरी औद्योगिक नियमहरु बनाउने, भएका नियमहरुलाई समयअनुकूल परिमार्जन गर्ने गर्छन् ।

यस्तो अवस्थामा मजदुर र रोजगारदाता दुवै पक्षको हित सुरक्षित रहन्छ । सरकारी मध्यस्थताका कारण यस्ता युनियनबीचका छलफलले राष्ट्रिय अर्थतन्त्रमा धेरैभन्दा धेरै सहयोग पुग्ने निश्चित हुन्छ ।

दुवै पक्षको हितलाई केन्द्रमा राखी गरिने यस्ता सम्झौताका कारण त्यहाँ कुनै किसिमका कठोर नियम र कानुन नै स्थापित छैनन् । यस्तो अवस्थामा मजदुरको अधिकतम अधिकार र रोजगारदाताको अधिकतम लाभ दुवै सुरक्षित रहन्छन् । मजदुर र मालिक वर्गबीच अरु मुलुकमा देखिने ‘वर्ग संघर्ष’ आइसल्याण्डमा देख्न पाइँदैन ।

आइसल्याण्डको समाज अत्यन्त उदार लुथेरियन इसाई धर्मबाट धेरै नै प्रभावित रहेका कारण यहाँको समाज पनि उत्तिकै उदार एवं शिक्षित छ । त्यहाँ लैंगिक असमानता संसारमै सबैभन्दा कम छ भने सामाजिक उदारतामा पनि आइसल्याण्ड सबैभन्दा अघि छ ।

यसको एउटा उदाहरणका रुपमा संसारकै सबैभन्दा पहिलो समलिङ्गी प्रधानमन्त्रीका रुपमा सन् २००९ देखि सन् २०१३ सम्म त्यहाँ योहान्ना सिगुरदोरदोत्तिरले जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ११ : ०१ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट