मुस्ताङमा च्याङ्ग्राको भुवा संकलन केन्द्र « Khabarhub

मुस्ताङमा च्याङ्ग्राको भुवा संकलन केन्द्र


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पश्मिना बनाउने कच्चा पदार्थ च्याङ्ग्राको भुवा संकलन केन्द्र स्थापना गरिएको छ । केन्द्रमा तीन हजार किलो भुवा भण्डारणसमेत गर्न सकिनेछ । 

नेपाल लाइभस्टक सेक्टर इनोभेसन परियोजना (एनएलएसआइपी) र नेपाल फाइबर प्रोसेसिङ उद्योग प्रालिको ५०/५० प्रतिशत लागत साझेदारीमा च्याङ्ग्राको शरीरमा उत्पादन हुने भुवा संकलन गर्न भवन निर्माण भएको हो । कूल रु ३२ लाखमा निर्माण भएको तीन हजार किलोग्राम भुवा भण्डारण गर्न सकिने तापक्रमलाई सन्तुलित बनाउने तीन कोठे प्रिफेक प्रविधिको भवनको आज गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । 

 कृषकले च्याङ्ग्राको शरीरबाट निकाल्ने भुवालाई सुरक्षित भण्डारण गरेर उद्योगसम्म पुर्‍याउने उद्देश्यले संकलन केन्द्र निर्माण गरिएको कम्पनीका अध्यक्ष धनप्रसाद लामिछानेले बताए । “मंगमेलया र चीनबाट ल्याइने भुवाको विकल्पमा नेपालकै भुवाबाट पस्मिना बनाउन काठमाडौँमा प्रशोधन उद्योग स्थापनाको तयारी गरेका छौँ”, उनले भने, “कृषकले उत्पादन गरेको भुवाको खरिद गर्न संकलन केन्द्र बनाएका हौँ ।”

यसअघि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा अस्थायी संकलन केन्द्र स्थापना गरेर डोल्पाको गरी करिब एक करोड ५० लाख मूल्य बराबरको तीन हजार ५०० किलोग्राम भुवा खरिद गरिसकेको कम्पनीले जनाएको छ । कम्पनीका सञ्चालक तथा कार्यक्रम संयोजक भीमप्रसाद शेरचनले स्थानीय तहसँग समन्वय गरेर च्याङ्ग्रा तथा पश्मिना कृषक सङ्घ गठन गर्दै भुवा निकाल्ने आधुनिक काइयो वितरण र सीप सिकाउन ताजिकिस्तानबाट प्रशिक्षक ल्याएर कृषकहरूलाई तालिम दिइएको जानकारी दिए । 

कृषक छिरिङ वाङ्दी गुरुङ र आङगेल गुरुङले प्रविधि, सीप र बजार अभावमा च्याङ्ग्राको शरीरबाट जंगलमा झरेर खेर गइरहेको भुवा संकलन गरी कृषकहरूले लाभ लिने वातावरण बनेको बताए । मुस्ताङ च्याङ्ग्रा तथा पश्मिना कृषक संघका अध्यक्ष करन गुरुङले सीप, प्रविधि र बजार पाएपछि कृषकले भुवा संकलन गर्न थालेका बताए । 

संकलन केन्द्रको भवन उद्घाटन गर्दै प्रदेश सांसद विष्टले स्वादिष्ट मासुका लागि प्रसिद्ध मुस्ताङको च्याङ्ग्राको भुवाबाट कृषकलाई अतिरिक्त लाभ हुने बताए । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फाल विष्टले च्याङ्ग्राको सङ्ख्या बढाउन कृषकलाई व्यवसायिक च्याङ्ग्रा पालनप्रति प्रोत्साहन गरिने बताए । नेपाल लाइभस्टक सेक्टर परियोजनाका पशु चिकित्सक डा प्रकाश अधिकारीले मासु र पसिनासम्बन्धी कार्यक्रमका लागि परियोजनाले रु २० करोड लगानी गरेको बताए । 

नेपालबाट विदेश निर्यात हुने प्रमुख बस्तु पश्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरेर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पश्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पश्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको संघका उपाध्यक्षसमेत रहेका लामिछानेले बताए ।

६५ हजार च्याङ्ग्रा पालिएको मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घटाउन सकिने संघले जनाएको छ । वैशाख–जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । मासुका लागि प्रसिद्ध हिमाली च्याङ्ग्राको छाला र मल पनि बिक्री हुन्छ ।

मुस्ताङमा च्याङ्ग्रापालन र भुवा संकलनलाई आधुनिक र व्यवस्थित बनाएर गुणस्तर बढाउन जोड दिइएको विश्व व्यापार संगठनका परामर्शदाता सिचन श्रेष्ठले बताए । यहाँका कृषकलाई च्याङ्ग्राको भुवा निकाल्ने करिब एक हजार आधुनिक काइयो वितरण गरिएको छ ।

-रासस 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १ : ५३ बजे

हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं.

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम