दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन « Khabarhub

दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले छानबिनको माग सहित विरोध प्रदर्शन गरेको छ । दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने माग सहित आफन्तले शनिबार जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका छन् । 

मृतकका आफन्त ‘मणिरामलाई न्याय दे, मोबाइल सार्वजनिक गर, घटनास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रशासन पुगेका हुन् । शवको जिल्ला अस्पतालमा पोस्टमार्टम गरिए पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै नारा जुलुसमा उत्रिएका थिए । 

दाहाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालय रहेको घरको आफ्नै कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सरजमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् । घटनाको प्रकृति ‘मृत्यु नभै हत्या भएको’ छोरा नवराज दाहालले बताए । 

दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए । शव कोठामा खाटमा नभै भुईँमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो । मुखबाट रगत निस्किएको, आँखामा नीलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए । दाहाल बस्दैआएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र र्‍याल चुहिएको पाइएको छ । घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्म ढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ । 

दाहालको रहस्यमय मृत्यु भएको विषयमा प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा अनुसन्धान समिति गठन गरिएको छ । जुलुस प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त प्रशासन, प्रहरी लगायतको वार्ताले पाँच सदस्यीय अनुसन्धान समिति बनाएको हो ।
समितिको सदस्यमा प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्री, प्रहरी सहायक निरीक्षक कुमार विष्ट, प्रहरी हवलदार विपिन योगी, प्रहरी हवलदार कैलाश लिम्बू र प्रहरी जवान सोमप्रसाद पहाडी राखिएका छन् ।
छलफलमा समितिमार्फत यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने निर्णय भएको छ । अनुसन्धान समिति बनाउने निर्णयसँगै मृतकका आफन्त शव बुझ्न तयार भएको वडाध्यक्ष खगेन्द्र राईले बताए । 

मृतक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक संयोजक थिए । उनी क्षितिज बहुउद्देश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए । 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ८ : ०१ बजे

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट

संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसद्‍मा लोकतान्त्रिक प्रणालीलाई

कञ्चनपुर-कमला सडक विस्तारमा ढिलासुस्ती

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति