बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. राष्ट्रियसभा बैठकमा नागरिकता विधेयक पेश गरिँदै
राष्ट्रियसभाको बैठकमा आज विभिन्न विधेयक टेबुल हुने भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे सुरु हुने बैठकको सुरुमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

२. मतदाता नामावली अद्यावधिक आजदेखि
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आयोगका अनुसार आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भोलिदेखि ३ दिनसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने पनि आयोगले जनाएको छ ।

३. सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

४.  एमाले निर्वाचन परिचालन कमिटीको बैठक बस्दै
नेकपा एमालेको निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा केन्द्रित हुने पार्टी कार्यालय सचिव डाक्टर भिष्म अधिकारीले जनाकारी दिए । बैठकले निर्वाचनबारे थप रणनीति तय गर्ने जनाइएको छ ।

५. भिजिट भिसामा खाडी जान लागेका १९७ जनालाई फर्काइयो
प्रहरीले एक साताको अवधिमा भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई कागजपत्र संकासपद रहेको भन्दै फर्काएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनिहरुलाई फर्काएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । कार्यालयले गत बुधबार देखि हालसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ ।

६. धादिङमा खानेतेल बोकेको ट्रक दुर्घटना
धादिङको गजुरीमा खानेतेल बोकेको ट्रक दुर्घटना भएको छ । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउँदै गरेको ना ५ ख ५९५५ नंको ट्रक आज बिहान पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको हो । सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडि पट्टि भागमा आगलागी भएको जनाइएको छ ।

७. थारू समुदायको अटवारी पर्व  
थारू समुदायले आज दोस्रो ठूलो पर्व अटवारी मनाइँदै छन् । दाङ सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत थारू समुदायको बसोबास रहेका जिल्लाका थारू समुदायमा कुशे औँशी पछिको पहिलो आइतबार यो पर्व मनाइन्छ । सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरूको कल्याण भएको मान्यता अनुसार सूर्यको पूजा आराधना गरी यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ । यो पर्वमा पुरुषहरू मात्र व्रत बस्ने चलन छ ।

८. काठमाडौँका विभिन्न स्थान डुबानमा
गएरातिदेखि परेको भारी वर्षाका कारण काठमाडौँका विभिन्न स्थान डुबानमा परेका छन् । अहिले नदीहरुमा बाढी आएको छ । बाग्मती तथा विष्णुमती जलाधार क्षेत्रमा रातिदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । यस्तै विष्णुमती र बल्खु खोलामा जल सतह खतराको तहमा पुगेको भन्दै सूचना केन्द्रले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

९.भारतमा विरोध प्रदर्शन  
सामूहिक बलात्कारमा दोषी ठहर भई जेल सजाय काटेका ११ जनाको राजनीतिक निर्णयबाट गरिएको रिहाइपछि भारतका विभिन्न शहरमा प्रदर्शन चर्किएको छ । मुस्लिम महिला बिलकिस बानोमाथि बलात्कार गर्ने ११ जनालाई भारतको गुजरात सरकारले हालै रिहा गरेको थियो । त्यसपछि विरोधमा प्रदर्शन हुँदै आएको छ । सन् २००२ मा भएको धार्मिक दंगामा उनको परिवारका १४ जनाको हत्या भएको थियो । पाँच महिनाकी गर्भवती रहेकी उनीमाथि सामूहिक बलात्कारमा दोषी ठहर भएका ११ जनालाई १५ वर्षको जेल सजायपछि राज्य सरकारले स्वतन्त्रता दिवसको अवसरमा रिहा गरिएको थियो ।

१०. नेपाल र केन्याबीचको तेस्रो खेल 
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली केन्यासँग तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । केन्या पनि नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ । पाँच खेलको सिरिजमा नेपाल र केन्या १–१ को अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ०० बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध