काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :
१. राष्ट्रिय सभा बैठकमा नागरिकता विधेयक
राष्ट्रिय सभाको बैठकमा आज विभिन्न विधेयकमाथि छलफल हुँदै छ । आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराउने कार्यसूची छ । अहिले १ बजे सुरु हुने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।
२. कार्यकारिणी अधिकार प्रयोग गरेको हो : बालेन शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गैरकानुनी कार्य रोक्न आफूले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् । महानगरपालिकाभित्रका अनधिकृत संरचनामा डोजर चलाउनु प्रक्रियागत नभएको भन्ने प्रश्न उठेपछि मेयर साहले कार्यकारिणी अधिकार प्रयोग गरेर काम गरेको बताएका हुन् ।
३. अनधिकृत संरचना हटाउने कार्यमै छु : उपमेयर डंगोल
काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक रहेको बताएको छन् । उपमेयर डंगोलले काठमाडौं महानगरपालिकाले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी हुन्। उनले सामाजिक सञ्जालमा एक अपिल सार्वजनिक गर्दै यो अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताइन् ।
४. त्रिविद्वारा शान्ति सुरक्षाको माग
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ । त्रिविले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो । विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको उल्लेख छ ।
५. गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
६. झापामा आगलागीबाट १५ लाखको क्षति
झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गर्नुभएको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
७. बस्ती बसेको २० वर्षपछि बिजुली
कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो । दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन् । खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन् । २० वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएकामा अहिले बिजुली बत्ती बलेपछि टोलमा खुसीयाली छाएको मातादेवी नेपालीले बताए।
८. सिन्धुपाल्चोकमा बाढीले सडक अवरुद्ध
गए रातिदेखि परिरहेको वर्षाले सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा क्षति पुर्याएको छ । भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन् । बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक अवरुद्ध भएका छन् । हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको र ठाउँ–ठाउँमा सडकबाट खोला बगिरहेको छ । सडकमा बाढी पसेपछि यातायातका साधन बाटोमै अलपत्र परेका छन् ।
९.पाकिस्तानमा बाढीले तनाव
पाकिस्तानमा वर्षा पछि आएको बाढीले देशैभर ठुलो जनधनको विनाश गरेपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरेको छ । अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्सलगायतका देशलाई पाकिस्तानले सहयोगका लागि अपिल गरेको हो । पाकिस्तानको सरकारले जनतालाई मद्दत गर्न आफ्नो शक्तिमा सबै प्रयोग गरिरहेको पनि जनाएको छ । बाढीका कारण हालसम्म १ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने दशौँ लाख मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
१०. बीबीएल को १२ औं संस्करणको खेलाडी ड्राफ्ट आज हुँदै
अष्ट्रेलियाको फ्रेन्चाईज क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल) को १२ औं संस्करणको खेलाडी ड्राफ्ट आज हुँदैछ । बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट नेपाली समयअनुसार दिउँसो सवा २ बजे मा हुनेछ । बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल रहेका छन् । कप्तान लामिछानेले पछिल्ला चार संस्करण बीबीएलमा बिताएका छन् । उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् ।
प्रतिक्रिया