बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युतका भरमा | Khabarhub Khabarhub

बागलुङको ग्रामीण क्षेत्र लघु जलविद्युतका भरमा


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रका नागरिक अहिले पनि लघु जलविद्युतको भरमा छन् । भौगोलिक विकटताका कारण यहाँका कैयौँ बस्तीमा केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन । अघिल्लो वर्ष मात्रै विद्युत् प्राधिकणले बुर्तिबाङ बजारसम्म केन्द्रीय लाइन पुर्‍याएको छ । यहाँका लघु जलविद्युत बर्खाका समयमा भने बन्द हुन्छन् । कहिले पहिराले नहर त कहिले बाढीले मुहान बगाउँदा यहाँका बस्ती अध्याँरोमा पर्दछन् ।

यसले गर्दा वर्षातको दुई-तीन महिना यस क्षेत्रका स्थानीय अन्धकारमा बस्न बाध्य हुन्छन् । पश्चिम बागलुङ मात्रै नभई जिल्ला सदरमुकामसँग जोडिएका केही गाउँमा पनि अवस्था उस्तै छ । लघु जलविद्युतको खपत बढ्दै जाँदा घरेलु तथा साना उद्योगहरु पनि सञ्चालनमा समस्या आउने गरेको छ । ग्रामीण क्षेत्रका लघु जलविद्युतहरुको क्षमता ८० देखि १५० किलोवाटसम्म मात्र छ । जसले गाउँमा साना उद्योग सञ्चालनमा समस्या हुने गरेको हो ।

गत असोजको अन्तिम साता पहिरोले विद्युत गृहमा क्षति पुर्‍याएपछि निसीखोला लघु जलविद्युत आयोजना १० गतेसम्म बन्द भयो । झण्डै तीन महिना विद्युत बन्द हुँदा यहाँका घरेलु उद्योग सञ्चालकहरू समस्यामा परेको स्थानीय लिलाबहादुर घर्ती मगरले बताए। उनले यहाँ स्थानीयहरुले विद्युतीय मेसिनबाट उनको कपडा बुन्दै आएको भन्दै तीन महिनादेखि विद्युत अवरुद्ध हुँदा आफूहरूले लाखौँको नोक्सानी बेहोर्नु परेको बताए ।

‘दसैँ अगाडिदेखि बन्द भएको बिजुली बल्ल आएको छ, यतिका महिनासम्म अन्धकारमा बस्यौँ, सानो उद्योग सञ्चालन गरेका थियौँ, यतिका बेलासम्म बिजुली बन्द हुँदा उद्योग सञ्चालन भएन, लाखौँका सामानको माग आएको थियो, कच्चा पदार्थ जम्मा गरेर काम्लो, हापदुला बनाउने तयारीमा थियौँ, लाइन गएपछि काम सबै रोकियो, माग गरेकाहरूले पनि अन्तैबाट किनेछन्, त्यसले गर्दा हामीलाई घाटा लाग्यो ।’

उनले बर्खाको समयमा धेरै पटक अन्धकारमा बस्नु पर्ने बाध्यता रहेको भन्दै दीर्घकालीन समाधानका लागि केन्द्रीय प्रसारण लाइननै आउनुपर्ने बताउनुहुन्छ । केन्द्रीय लाइन विस्तार नभएसम्म अन्धकारमा बस्नुपर्ने नियति दोहोरिइरहने घर्ती मगरको भनाइ छ । सरोकारवाला निकायलाई पटक-पटक केन्द्रीय लाइन विस्तारका लागि आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेको उहाँले गुनासो गरे।

ढोरपाटन नगरपालिका-९ का कुलबहादुर विकले आफूहरु वर्षौँदेखि अन्धकारमा बस्दै आएको बताए। बर्खामा ढोरपाटन र हिउँदमा बोबाङ बस्ने विकले ढोरपाटनमा बस्दा दियालो र टुकीको भरमा रात कटाउनु पर्ने बताउँछन्। अहिलेसम्म ढोरपाटनमा विद्युत नपुग्दा सञ्चारको पहुँचबाट टाढा हुनु परेको विकको भनाई छ । सरकारले अहिले बल्ल ढोरपाटनमा केन्द्रीय विद्युत विस्तारका लागि पोल व्यवस्थापन गर्न थालेको विकले बताउँछन्।

‘अहिलेको युग सूचना र प्रविधिको युग हो, बोबाङमा बस्दा त मोबाइल सामाजिक सञ्जाल चलाउन पाइन्छ, रेडियो, टेलिभिजनबाट देश विदेशका सूचना समाचारहरु सुन्न र हेर्न पाइन्छ, ढोरपाटनमा बस्दा अन्धकारमा गुमनाम जस्तै भइन्छ,’ विकले भने– ‘ढोरपाटनका केही ठाउँमा त बिजुली बलेको छ, तर हामी बस्ने ठाउँमा अहिलेसम्म त्यो सुविधा पुगेको छैन, दुई÷चार वर्षमा पुग्ने आशा गरेका छौँ ।’

तमानखोला गाउँपालिका-४ का पूर्ण सिर्पालीले लघु जलविद्युत आयोजनाले गाउँमा बत्ती बाल्न बाहेक अरु काम गर्न नसकिने बताए । यहाँ सञ्चालित विद्युतको कम क्षमताको हुँदा कुटानी पिसानीका लागि मिल सञ्चालन गर्न समस्या भएको सिर्पालीको भनाई छ । उनले खाना पकाउन र साना उद्योगका लागि गाउँमा सञ्चालित विद्युतले थेग्न नसक्ने भन्दै केन्द्रीय लाइनको आवश्यकता परेको बताए ।

‘गाउँ ठूलो छ, बिजुली प्रयोग गर्ने जनसङ्ख्या पनि धेरै छ, तर विद्युत् उत्पादनको क्षमता कम छ, त्यसले गर्दा यहाँ भएको बिजुलीबाट बत्ति बाल्नेबाहेक धेरै काम गर्न सक्ने अवस्था छैन, राइस कुकरमा भात पकाउन पनि सकिँदैन,’ सिर्पालीले भने, ‘अब केन्द्रीय लाइन नआएसम्म यहाँ साना उद्योग सञ्चालन गर्न पनि गाह्रो देखिन्छ, गाउँमा दिदीबहिनीले ढाका उद्योग सञ्चालन गर्नुभएको छ, विद्युतको कारण रातीमा काम गर्न समस्या छ ।’

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जिल्लाको १० वटै पालिकामा विद्युत पुर्‍याउने गरी काम गरेको बताए। उनले केन्द्रीय लाइनले अहिलेसम्म नजोडिएको पालिका तमानखोला रहेको भन्दै तमानखोलाको केन्द्र बोङ्गादोभानसम्म तत्काल  पुर्‍याउने गरी लाइन विस्तार गर्न थालिएको बताए । बुर्तिबाङ बजारदेखि नजिकै रहेका निसीखोलातमानखोलामा केन्द्रीय प्रसारण लाइन तीव्र गतिमा विस्तार भइरहेको मरासेनीको भनाइ छ ।

जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिका केही वर्ष पहिलेनै केन्द्रीय प्रशारण लाइनले जोडिए पनि ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिकाको केही गाउँहरुमा गत वर्ष मात्रै केन्द्रीय लाइन पुगेको थियो । यसवर्ष निसीखोला गाउँपालिका–७ को भाँजा र चोलाङमा लाइन पुर्‍याएको प्रमुख मरासेनीले बताए ।

‘बागलुङका केही ठाउँमा अहिलेसम्म केन्द्रीय लाइन पुगेको छैन, तर ती ठाउँमा स्थानीय हाइड्रो मार्फत विद्युत सेवा लिएका छन्, भौगोलिक विकटता र सीमित बजेटका कारण सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन’ केन्द्र प्रमुख मरासेनीले भने, ‘यो वर्ष धेरै ठाउँमा काम गर्न थालेका छौँ, पश्चिम बागलुङका गाउँहरूमा केन्द्रीय लाइन बल्ने छ, केही बजेटका लागि केन्द्रमा पहल थालेका छौँ ।’

उनले बागलुङ सदरमुकाम नजिकका अधिकांश गाउँमा केन्द्रीय लाइन पुगिसकेको दाबी गरे। पश्चिम बागलुङका लागि गलकोटमा सव स्टेशन निर्माण गरेर पुनः सञ्चालन गरेको भन्दै बुर्तिबाङमा पनि १३२ केभीको सव स्टेशन निर्माण गरिने बताए । यसवर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पुर्‍याउने गरी काम तीव्र रुपमा भएको उनको भनाई छ ।

मरासेनी भन्छन् ‘दूर दराजका गाउँसम्म विद्युतीकरणका लागि हामीहरू तीव्र रुपमा लागेका छौँ, कतिपय ठाउँमा अब केही समयमै बत्ती बल्छ भने यो आर्थिक वर्ष सकिने बेलासम्म ढोरपाटनमा पनि केन्द्रीय लाइन पुग्ने छ, अहिले त्यसका लागि पोल गाड्ने, लाइन तान्ने काम भएका छन्, यता जैमिनी र बरेङ गाउँपालिकाका केही गाउँमा लाइन पुगेको छैन, ती गाउँमा पनि यसै वर्ष पुग्छ ।’

मरासेनीका अनुसार बागलुङका ९८ प्रतिशत नागरिकले विद्युत प्रयोग गर्न पाएको बताउँछन्। जिल्लामा ९८ वटा लघु जलविद्युत् रहेको उनको भनाइ छ । जिल्लाको निसीखोला गाउँपालिका-६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् तथा केन्द्रीय प्रशासन लाइन कुनै पनि पुग्न सकेको छैन । यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । 

–डम्मर बुढा मगर रासस

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ३ : ५२ बजे

सौराहामा एकसिङ्गे गैँडा (तस्बिरहरू)

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी

अरुण बराललाई जवाफ : आलु जोख्ने यन्त्रले हावा जोख्दैन

केही समयअघि सार्वजनिक भएको यस पंक्तिकारको पुस्तक ‘जैविक दर्शन’माथि मित्र

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर