आकांक्षी बढी भएपछि दलको नेता छान्न सकस | Khabarhub Khabarhub

आकांक्षी बढी भएपछि दलको नेता छान्न सकस


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरूलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब डेढ महिना बित्न लाग्दा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले आफ्नो संसदीय दलको नेता चयन गर्न सकेका छैनन् । 

मधेस प्रदेशसभामा नयाँ र पुराना गरी विभिन्न १० राजनीतिक दलको प्रतिनिधित्व छ । संसदीय दलको नेता बन्न थुप्रै आकांक्षी भएकाले संसदीय दलको नेता छान्न समस्या भएको नेताहरूले बताए। मधेस प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) मा आकांक्षी बढेकाले दलको नेता छनोट गर्न समस्या भएको नेताहरूले जानकारी दिए। 

एमालेका नेता तथा प्रदेशसभा सदस्य राजकुमार लेखीले पार्टीभित्र तीन-चारजना आकांक्षी भएकाले दलको नेता कसलाई बनाउनेमा सहमति हुन नसकेको बताए । उनले अबको एक-दुई दिनभित्रै संसदीय दलको नेता छान्ने गरी पार्टीमा गृहकार्य भइरहेको बताए । 

कूल एक सय सात सदस्यीय मधेस प्रदेशसभामा २३ सिट जितेर पहिलो पार्टी बनेको एमालेमा संसदीय दलको नेता बन्न नेता लेखीसहित रामचन्द्र मण्डल, सरोज कुमार यादवलगायत आकांक्षी छन्। सहमतिमा संसदीय दलको नेता छान्न सकस भएपछि नेपाली कांग्रेसले निर्वाचन प्रक्रिया थालेको छ ।

निर्वाचन प्रक्रियाबाट दलको नेता छान्न नेपाली कांग्रेसले मधेस प्रदेशका पार्टी उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

कांग्रेसको प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार गठन भएको निर्वाचन समितिले संसदीय दलको नेता छान्ने प्रक्रिया सुरु गरेको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णकुमार यादवले जानकारी दिए। 

निर्वाचन समितिले सर्वसम्मतिबाट दलको नेता चयन पहल थालेको र सहमति नभए अन्तिममा निर्वाचन प्रक्रियाबाटै चयन गर्ने अध्यक्ष यादवको भनाइ छ । संसदीय दलको नेताका लागि कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णकुमार, यादव, सिंह र जनार्दन क्षेत्री आकांक्षी छन् । 

मधेस प्रदेशसभाका १६ सिटसहित तेस्रो ठूलो दल बनेको जनता समाजवादी पार्टी ९जसपा० लाई पनि संसदीय दलको नेता चयन गर्न सकस छ । केन्द्रीय समीकरणअनुसार मधेस प्रदेशको मुख्यमन्त्री पाउने सम्भावना रहेको जसपाभित्र संसदीय दलको नेता बन्न दौडधूप बढेको छ । 

‘अहिलेसम्म दलको नेता चयन गर्ने प्रक्रिया सुरु भइसकेको छैन्’, जसपाका नेता तथा प्रदेशसभा सदस्य रामअशिष यादवले भने , ‘अहिलेसम्म दलको नेता छान्ने कुनै प्रक्रिया सुरु भइसकेको छैन्, कुराकानी जारी रहेकाले हेरौँ एक-दुई दिनमा हुन्छ ।’ बिहीबार विजयीहरुका लागि सम्मानको कार्यक्रम रहेको र त्यसमा पनि संसदीय दलको नेता छान्ने कुरा उठ्न सक्ने उनको भनाइ छ ।

जसपामा संसदीय दलको नेता बन्न मधेस प्रदेशका वर्तमान मुख्यमन्त्री लालबाबु राउत, सरोजकुमार यादव, रामअशिष यादव, मनिषकुमार सुमन लगायतका नेता आकांक्षी देखिएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले शपथपछि मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्ने भएको छ । मधेस प्रदेशसभा सचिवालयले यही पुस १५ गते अपराह्न २ बजे शपथ कार्यक्रम तय गरेको छ । 

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले प्रदेशसभा सदस्यलाई शपथ गराउने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। 

माओवादी केन्द्रका नेता एवं मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शपथपश्चात शनिबार वा आइतबार संसदीय दलको नेता चयन गरिने जानकारी दिए । ‘संसदीय दलको नेता चयनका लागि अहिलेसम्म मिति र समय तय भइसकेको छैन्’, माओवादी केन्द्रका निवर्तमान संसदीय दलका नेतासमेत रहेका साहले भने , ‘शपथग्रहण सकिएपछि हामी संसदीय दलको नेता चयन गर्छौ ।’ 

पार्टीभित्र संसदीय दलको नेतामा बन्न खासै कुनै विवाद वा धेरै आंकाक्षी नरहेकाले सहमतिमै दलको नेता चयन हुने उनको भनाइ छ । प्रदेशसभामा माओवादी केन्द्र आठ सिट जितेर छैँटौ दल बनेको छ । यस्तै प्रदेशसभामा सात सिट जितेर सातौँ दल बनेको एकीकृत समाजवादीले पनि प्रदेशसभाको शपथपछि मात्र संसदीय दलको नेता चयन गर्ने जनाएको छ । 

सो पार्टीका नेता तथा प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले शुक्रबारको शपथपश्चात पार्टी संसदीय दलको नेता तय हुने जानकारी दिए। प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कूल एक सय सात सिट रहेको मधेस प्रदेशसभामा एमाले २३, कांग्रेस २२, जनता जसपा १६, जनमत पार्टी १३, लोकतान्त्रिक समाजवादी पार्टी नौ, माओवादी केन्द्र आठ र एकीकृत समाजवादी सात तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक-एक सिट छ । प्रत्यक्षमा छ जना स्वतन्त्र उम्मेदवार पनि जितेका छन् ।मधेस प्रदेशसभामा पहिलो पटक प्रवेश गर्न लागेको जनमत पार्टीले संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ । 

सो पार्टीको जनकपुरधाममा बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई दिने निर्णय गरिएको थियो । मधेस प्रदेशसभामा १३ सिटसहित बनेको जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, बसन्त कुशवाहा, सतिश सिंह, महेश कुमार यादव लगायतका नेता आकांक्षी छन् ।

– राजु विश्वकर्मा रासस

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ५ : ३८ बजे

एआई इन्जिनियर अतुल प्रकरण : श्रीमती र सासू उत्तरप्रेदशबाट पक्राउ

बैंगलुरू- एआई इन्जिनियर अतुल सुभाषले बेंगलुरुमा आत्महत्या गरेपछि भारतभर अहिले

र्‍यान्डममा बुद्धको जीवनीमा आधारित ‘अर्हत्’ को चर्चा

पोखरा– उपन्यासकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ को शनिवार पोखरामा चर्चा

निराशाजनक विकास खर्च : ५ महिनामा १२ प्रतिशत पनि पुगेन

काठमाडौं– असार ३० गते गठित दुईतिहाइ नजिकको शक्तिशाली सरकार पनि

महेश बस्नेतसँग विवादमा जोडिएकी शोभा पाठक पक्राउ

काठमाडौं- नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई यौन शोषण

‘कानुन व्यवसायलाई व्यवस्थित बनाउन ऐन परिमार्जन जरुरी’

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले कानुन