विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज जेठ १५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे २९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

नाइजेरियाको चर्चमा भागदौड हुँदा ३१ जनाको मृत्यु

दक्षिणी नाइजेरियामा एउटा भीडभाडयुक्त चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिणी रिभर्स स्टेटको पोर्ट हार्कोर्ट सहरमा भएको भागदौडमा उनीहरूको मृत्यु भएको हो । घटनापछि मानिसका शव, जुत्ता तथा चप्पलहरू भुइँमा छरिएका प्रहरी र प्रत्यक्षदर्शीहरूले जनाएका छन् । पोर्ट हार्कोर्ट पोलो क्लबमा एक स्थानीय किंग्स एसेम्बली चर्च संगठनले गरिबहरूका लागि खाना र उपहारहरू प्रदान गर्दा भिड नियन्त्रणबाहिर गएको थियो ।

“प्रहरीले कम्तीमा ३१ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने अन्य केही घाइते भएका छन्,” स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज कोकाले भने । ‘दुर्भाग्यवश, भीड उथलपुथल र अनियन्त्रित भयो र आयोजकहरूले विवेक अपनाउन गरेका सबै प्रयास विफल भए’, प्रहरीले एक विज्ञप्तिमा भनेको छ । प्रवेशद्वारमा छिर्न खोजिरहेका मानिसहरूलाई जबरजस्ती फिर्ता गराउँदा एक अर्कालाई कुल्चिएका थिए ।

घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको बताइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदायबीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामीण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् ।

बाढीमा परेर ब्राजिलमा ३७ जनाको मृत्यु

भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षाले ती नागरिकको ज्यान गएको यहाँका अधिकारीहरूले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो । निरन्तरको वर्षाले ३७ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । ब्राजिलको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । सो राज्यमा २ जनाको वर्षाका कारण ज्यान गएको बताइएको छ । रेसिफे सहरको नजिकै गएको पहिरोमा परेर शनिबार मात्र २० जनाको शनिबार ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । सो सहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनाउन भनिएको समाचारमा जनाइएको छ ।

आफूलाई देश छाड्न रोक लगाइएको युक्रेनका पूर्व राष्ट्रपतिको भनाइ

युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । उनले रुसी आक्रमणयता युक्रेनमा अपनाइएको ‘राजनीतिक युद्धविराम’ सरकारले तोडेको आरोप समेत लगाएका छन् ।

सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्कोले युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक पटक सार्वजनिक हुने गरेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारुढ दलपछि ठूलो उनको युरोपियन सोलिडारिटी पार्टी युक्रेनको संसद्मा दोस्रो ठूलो दल हो ।   रूसले आक्रमण गरेपछि युक्रेनको संसद्ले धेरै रूसी समर्थक दलहरूमा प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि ‘राजनैतिक युद्धविराम’ को सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको जनाइएको छ । यसले सबै युक्रेनी दलहरूले युद्धविरूद्ध एकजुट हुन घरेलु राजनैतिक असहमतिहरू पन्छाएर अघि बढ्न सहयोग पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पोरोशेन्कोको कार्यालयले सरकारले रूसविरूद्ध ऐक्यवद्धता जनाउन भएको आन्तरिक युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै उनलाई ‘युक्रेनी सीमा पार गर्न दिन अस्वीकार गरिएको’ बताएको छ । “यो निर्णयबाट अधिकारीहरूले युद्धकालमा लागू रहेको राजनीतिक युद्धविराम भङ्ग गर्ने खतरा भएको छ ।’ उनको कार्यालयले जनाएको छ ‘‘रूसी आक्रमणको सामना गर्नुपर्दा राष्ट्रिय एकताको एउटा बलियो आधार रूसविरूद्ध युद्धमा घरेलु ऐक्यवद्धता थियो तर सरकारबाट यो भङ्ग गरिएको छ ।’’ पोरोशेन्कोले युक्रेनी प्रतिनिधिमण्डल नेतृत्व गर्दै लिथुआनियामा भएको नेटो संसदीय सभाको बैठकमा सहभागिता जनाउन जानुपर्ने कार्यक्रम रहेको थियो र सरकारबाट यसअघि यात्रा गर्ने अनुमति प्राप्त गरेका थिए ।

यद्यपि पछिल्लो कदमले उनलाई त्यहाँ सहभागिता हुने सम्भावनालाई अन्त्य गरिदिएको बताइएको छ ।  उनले लिथुआनियाका राष्ट्रपति गितानास नौसिदा र युरोपेली संसदका एक समूहसँग लिथुआनियन राजधानी भिल्नसमा भेटवार्ता गर्न लागेका थिए । त्यसपछि उनले युरोपेली राजनीतिक दलका नेतृत्वलाई एक ठाउँमा भेला गर्ने शिखर सम्मेलनका लागि नेदरल्याण्ड्सको रोटरड्याम जाने कार्यक्रम रहेको थियो ।

जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनसमक्ष म्याक्रोँ र सोल्जको आग्रह

जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गरेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मनीका चान्सलर ओलाफ सोल्जले राष्ट्रपति पुटिनसँग गरेको ८० मिनेट लामो टेलिफोन वार्तामा यस्तो आग्रह गरेका हुन् । वार्ताका क्रममा युरोपेली युनियन इयुका शक्तिशाली दुई नेताहरूले ‘तुरुन्तै युद्धविराम गर्न र रूसी सेनालाई युक्रेनबाट हटाउन’ दबाब दिएको जर्मन चान्सलर सोल्जको कार्यालयले जनाएको छ ।

म्याक्रोँ र सोल्जले पुटिनलाई ‘युक्रेनी राष्ट्रपतिसँग गम्भीर तथा प्रत्यक्ष वार्ता गर्न र यस द्वन्द्वको कूटनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।’ चान्सलरको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार तीन नेताहरूबीच टेलिफोनमार्फत् कुराकानी भएपछि ‘फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरले अजोभ्स्टलमा युक्रेनी सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि रूसको नियन्त्रणमा रहेका करिब दुई हजार ५०० जनालाई मुक्त गर्न पनि आग्रह गरेका थिए ।

क्रेमलिनका अनुसार पुटिनले युक्रेनसँग पुनः वार्ता सुरु गर्न मस्को तयार रहेको बताए । तर, पुटिन र जेलेन्स्कीबीचको प्रत्यक्ष वार्ताको सम्भावनाबारे भने कार्यलयले केही उल्लेख गरेको छैन् ।

ब्रिक्सको विस्तारलाई चीनले समर्थन गर्ने

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलत मुलुकहरुको समूह ब्रिक्सको विस्तार प्रक्रिया सुरु हुने भएको चिनिया सरकारी स्रोतले जानकारी गराएको छ । नयाँ विकासशील मुलुकका सदस्यलाई समावेश गर्न ब्रिक्सको विस्तार प्रक्रिया थालिने भएको चीनको विदेश मन्त्रालयले जनाएको हो । 

‘ब्रिक्सको विस्तारलाई बेइजिङले सक्रियतापूर्वक बढावा दिनेछ र यस समूहमा सामेल हुन धेरै विश्वव्यापी साझेदारहरूलाई स्वागत गर्नेछ’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले ब्रिक्स विस्तार गर्ने सम्बन्धमा सञ्चारकर्मीको प्रश्नको जवाफमा भने ।  उनले भने– ‘ब्रिक्स विस्तारका विषयमा गहन छलफल जारी राख्न र त्यसका लागि सहमतिका आधारमा मापदण्ड र प्रक्रिया निर्धारण गर्न चीनले ब्रिक्स सदस्यहरूसँग काम गर्नेछ । हामी ब्रिक्सको ठूलो परिवारमा सामेल हुने समान विचार भएका साझेदारहरूको प्रतीक्षामा छौं ।’ 

ब्रिक्स एक बहुपक्षीय मञ्च हो जसमा विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र भएका मुलुकहरू, ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । हालै सम्पन्न ब्रिक्स विदेशमन्त्रीहरुको बैठकका क्रममा ‘ब्रिक्स प्लस’ परामर्श पनि आयोजना गरिएको बेला यस पहलको विस्तारलाई पनि समर्थन गरिएको वाङले बताए । रिपोर्टअनुसार मे २३ मा युएई, साउदी अरब, इजिप्ट, कजाकस्तान, इन्डोनेसिया, अर्जेन्टिना, नाइजेरिया, सेनेगल र थाइल्याण्डलगायत देशका मन्त्रीहरुसँगको मुख्य बैठकका क्रममा ब्रिक्स प्लस भर्चुअल सम्मेलन आयोजना गरिएको थियो । चीनले ब्रिक्स विस्तार प्रक्रियाको सुरुआतलाई सक्रिय समर्थन गर्ने र ‘ब्रिक्स प्लस’ लाई विस्तार गर्न चाहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

बेलायतको तालपारी सुपरयाटमा आगलागी
बेलायतको डेभोन बन्दरगाहमा रहेको सुपरयाटमा ठूलो आगो लागेको छ । सो सुविधासम्पन्न याटले ८ हजार लिटर इन्धन बोकेको बताइएको छ । आपतकालीन सेवाहरूले हाल आगो निभाइरहेको डेभनकर्नवाल प्रहरीले जानकारी दिएको छ ।

आगोको धूवाँबाट बच्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । ‘हामी मानिसहरूलाई सो क्षेत्रबाट जोगिन र धुवाँका कारण ढोका-झ्यालहरू बन्द गर्न आग्रह गरिरहेका छौं’, प्रहरीले ट्वीटमा भनेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिर तथा भिडियोमा आगोको धूवाँको कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । आगलागीमा कोही पनि घाइते नभएको प्रहरीले विज्ञप्तिमा जनाएको छ । आगलागीबाट याटमा क्षति भएको जनाइएको छ ।

जापानद्वारा ९८ देशका पर्यटकका लागि सीमा खुला

दुई वर्षदेखि पर्यटकका लागि बन्द रहेको जापानले ९८ देश र क्षेत्रका पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । तर, केही प्रतिबन्ध भने अझै जारी राखिएको छ । जापानले कोभिड भाइरस नियन्त्रणका लागि विभिन्न कदम चालेको थियो । सन् २०२० मा सम्पन्न टोकियो ओलम्पिक खेलमासमेत विदेशी आगन्तुकहरूलाई प्रतिबन्ध लगाएको थियो । विदेशी बासिन्दा र व्यावसायिक यात्रुहरूका लागि यात्रा प्रतिबन्धहरू पहिले नै खुकुलो पारिएको थियो र सरकारले १ जुनदेखि दैनिक विदेशी आगमनको सीमा २०,००० पुर्‍याएको छ ।

मार्चको मध्यदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि प्रवेश अनुमति दिइएको छ । १० जुनदेखि टुर समूहहरूलाई देश प्रवेश गर्न अनुमति दिइनेछ । तर, एक सय देश र क्षेत्रलाई रातो, पहेलो र निलो गरी तीनओटा जोखिम समूहमा विभाजन गरिएको छ । विदेश मन्त्रालयका अनुसार जोखिम समूह मूल्यांकन गरेर ती देशबाट आउने आगन्तुकहरूलाई क्वारेन्टिनमा राख्ने वा नराख्ने भन्ने बारेमा निर्धारण गरिनेछ । पयर्टन जापानको अर्थतन्त्रको एउटा मुख्य हिस्सा हो । सन् २०२० मा पर्यटक आगमन ९०% भन्दा बढी घटेको थियो । तर, विदेशी पर्यटकहरुका लागि सिमाना खुला गरेसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

‘लगभग दुई वर्षदेखि जापानको सीमा बन्द भए पनि हामी जापान भ्रमणमा धेरैले रुचि जनाएको देखिरहेका छौं । सीमा पूर्ण रूपमा खुला हुने बित्तिकै बुकिङमा भिड हुनेछ’, इन्टरपिड ट्राभलकी प्रबन्ध निर्देशक जिना बेन्चेखले भनिन् ।

आफ्नो मुलुकले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गर्नेमा आफू विश्वस्त नरहेको बेलायतका लागि रुसी राजदूतको भनाइ

बेलायतका लागि रुसी राजदूतले आफ्नो देशले युक्रेन विरुद्धको युद्धमा रणनीतिक आणविक हतियार प्रयोग गर्नेमा विश्वास नगर्ने बताएका छन् । राजदूत आन्द्रेई केलिनले रुसी सैन्य नियमअनुसार यस्ता हतियारहरू द्वन्द्वमा प्रयोग नहुने बताए । राज्यको अस्तित्व खतरामा आए मात्र त्यस्ता हतियार प्रयोग गर्न सकिने  उनले  बताए । ‘आणविक हतियारको हालको कारबाहीसँग कुनै सरोकार छैन’, उनले आइतबार बिहान भनेका छन् ।

भ्लादिमिर पुटिनले आक्रमण लगत्तै फेब्रुअरीको अन्तमा आफ्ना आणविक सेनाहरूलाई उच्च सतर्कतामा रहन आदेश दिएका थिए । पुटिनले यसको दोष नेटो र पश्चिमा देशहरूको आक्रमक व्यवहारलाई दिएका थिए । तर, पुटिनको अभिव्यक्तिलाई बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनमा भइरहेको गलत क्रियाकलापबाट मानिसहरूलाई अन्यत्र ध्यान मोड्ने प्रयास बताएका थिए । यसैबीच रुसी सेनाले पूर्वी युक्रेनमा आफ्नो हमला केन्द्रित गरेको छ ।

छोरी बेच्न नदिएको झोकमा श्रीमतीको हत्या

पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् ।पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् ।

श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भान्जी हुमेरालाई रु एक लाखमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन् ।

यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन् । बबली जिस्कानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो । हत्याको छानबिन शीघ्र शुरु हुने प्रहरीले जनाएको छ ।स्थानीय अस्पतालमा पोस्टमार्टमपछि बबली जसकानीको शव आफन्तलाई बुझाइएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ८ : २८ बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा