दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू(अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू(अडियोसहित)


१३ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको ओलीको टिप्पणी, दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने, लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन, गठबन्धनभित्र प्रतिनिधिसभाका लागि सिट बाँडफाँटमा सहमति जुट्यो, काठमाडौं महानगरले फुटपाथमा व्यापर गर्न दिने लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको ओलीको टिप्पणी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको बताएका छन। बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर चलेको बताएका हुन।

उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी निर्वाचन निकै महत्वपूर्ण हुने धारणा राखे । अध्यक्ष ओलीले मुलुकको बिकासको गातिलाई अघि बढाउन र शान्ति शुव्यवस्था कायम गर्न एमाले बाहेक कसैले पनि नसक्ने भएकाले अब एमालेको सरकार बन्नुपर्ने उल्लेख गरे ।

उनले देशमा लोकतान्त्री प्रणालीलाई सुदृढ गर्ने, भष्टचार नियन्त्रण गरेर शुसासन कायम गर्ने र राष्ट्रियतालाई सुदृढ गर्ने लगाएतका प्रयासमा एमाले लागिरहेको बताए ।

व्यक्तिगत स्वार्थका कारण नेताहरुमा असन्तुष्टि बढ्यो : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अवसर नपाए पार्टी र नेताहरुलाई गाली गर्ने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताएका छन ।

बिहीबार  अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफुलाई अवसर दिए उचित र अरुलाई अवसर दिदा नकारात्मक रुपमा लिने प्रवृति आफ्नो पार्टीभित्र पनि देखापरेको बताए ।

त्यस्तै अध्यक्ष नेपालले अन्य दलमा अवसर पाए हामफालीहाल्ने काम पनि नेपाली राजनीतिमा देखिएको जिकिर गरे । उनले बिधि र मापदण्ड तय गरेर संगठनहरुलाई अघि बढाउनुपर्ने धारणा राखे ।

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादसैंको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुसार विजया दशमीका दिन १९ असोजमा दिउँसो २ देखि अपरान्ह ३ बजेसम्म उच्च पदस्थ व्यक्तिहरुलाई र सोही दिन अपरान्ह ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई बडादसैंको टीका लगाइदिने कार्यक्रम तय गरिएको छ ।

टीका ग्रहण गर्ने जानेलाई मर्यादित पोशाक लगाउनुपर्ने र राष्ट्रपति कार्यालयको प्रवेशद्वार नम्बर १ बाट प्रवेश गर्न भनिएको छ ।

लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन
लोकसेवा आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाएको छ । संविधानमा ब्यवस्था भए अनुरूप लोकसेवा आयोगले २०१६ सालदेखि हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेश गर्दै आएको छ ।

आयोगबाट प्रस्तुत भएको यो ६३औं वार्षिक प्रतिवेदन हो । आयोगका तर्फवाट प्रतिवेदन पेश गर्दै अध्यक्ष माधव प्रसाद रेग्मीले प्रतिवेदनमा समावेश भएका विषयका वारेमा विवरण प्रस्तुत गरेका थिए ।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताको आस्था र विश्वासको धरोहरका रुपमा रहेको लोक सेवा आयोगले गरेका कामको प्रशंसा गर्दै सार्वजनिक प्रशासनलाई स्वच्छ र समावेशी वनाउन आयोग सफल हुनेमा विश्वास व्यक्त गरेकी थिइन् । पेश भएको प्रतिवेदनमा दिईएका सुझावलाई समयमा नै सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनेसमेत उनले बताएकी थिइन् ।

गठबन्धनभित्र प्रतिनिधिसभाका लागि सिट बाँडफाँटमा सहमति जुट्यो
सत्ता गठबन्धनमा सहभागी दलहरुबीच प्रतिनिधि सभा सिट बाँडफाँटमा लगभग सहमति जुटेको छ । गए रातिसम्म भएको छलफलले एकाध सिटबाहेक सबै क्षेत्र टुंगाएको हो ।

हालसम्म नेपाली कांग्रेसले ८३ सिट, नेकपा माओवादी केन्द्रले ३६ सिट, नेकपा एकीकृत समाजवादीले १४ सिट, जनता समाजवादी पार्टीले १३ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति भएको जनाइएको छ ।

केही क्षेत्रमा नेता व्यवस्थापन गर्नुपर्ने भएकाले सहमति हुन सकेको छैन । अहिले १७ क्षेत्रमा दोहोरो तेहरो दाबी कायमै छ । ती क्षेत्रमासमेत सहमति नजिक भएकोले छलफल गरेर अन्तिम टुंगोमा पुग्ने नेताहरुले बताएका छन ।

नेपाली आकाश सुरक्षितः पर्यटनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन ।

क्यानडाको मड्रियल सहरमा जारी महासभामा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझावअनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताएका हुन ।

पर्यटनमन्त्री श्रेष्ठले आइकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेकाले नेपाली आकाश सुरक्षित रहेको उल्लेख गरे ।

डेंगु संक्रमण फैलिँदै
पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ । बितेको चौबिस घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ ।

योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिंदै आएका छन् । यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी डेंगुका बिरामी बामगती प्रदेशमा भेटिएका छन् । बागमती प्रदेशमा २१ हजार ९७५ जना डेंगुका बिरामी भेटिसकेका छन् । गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८२९, मधेश प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ६७७, लुम्बिनी प्रदेशमा ३ हजार १२५, कर्णाली प्रदेशमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं महानगरले दशैभर फुटपाथमा व्यापर गर्न दिने
काठमाडौं महानगरपालिकाले दशैभर फुटपाथ व्यापारीमाथि कडाइ नगर्ने भएको छ । महानगरले विजया दशमीको टीकाको अघिल्लो दिनसम्म खुला बजार, सडक किनार तथा फुटपाथमा व्यापार गर्न अवरोध नगर्ने जनाएको हो ।

महानगरले दशैलाई लक्षित गर्दै आजदेखि नै सडक व्यापारीलाई अवरोध नगर्ने जनाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले यस्ता स्थानमा पाइने सामान सस्तो र सहज हुने भएकाले महानगरले क्षणिक समयका लागि फुटपाथ व्यापारीहरूमाथि कारबाही नगर्ने तयारी जानकारी दिए ।

मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायको जोड
मुगुमा नियमित उडान भर्न सरोकारवाला निकायले जोड गरेका छन् । कर्णालीका हिमाली जिल्लामा उडान छाडेर निजी कम्पनीका जहाजहरू पर्यटक बोक्न पूर्वतिर लागेपछि मुगुसहित अन्य जिल्लाका यात्रु अलपत्र परेका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मुगुमा बसेको राजनीतिक दलका प्रतिनिधि र जहाजका कर्मचारीबीचको छलफलले आगामी दिनमा नियमित उडान भर्ने सहमति भएको छ ।

मुगुमा तारा, समिट, सीता एयरलाइन्सका जहाजहरू दसैंको बेला पर्यटक ओसार्न पूर्व तिर जोमसोम, पोखरा गएपछि मुगु , जुम्ला, डोल्पा, हुम्ला जिल्लाका यात्रु अलपत्र परेका हुन् ।

विद्युतीय बसको यान्त्रिक परीक्षण शुरु
लुम्बिनी बिकास कोषले एशियाली विकास बैंकबाट अनुदानमा प्राप्त गरेको विद्युतीय बसको यान्त्रिक परीक्षण शुरु गरेको छ । १४ वटा विद्युतीय भ्यान र पाँच वटा बस तीन वर्षसम्म थन्किएर बसेका थिए ।

आज लुम्बिनीबाट बुद्धसँग सम्बन्धित देवदह, रामग्राम, कपिलवस्तुसहितका पाँच वटा रुटमा पाँच वटा बस संचालनमा आएका हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार  ८ : ४६ बजे

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना