काठमाडौँ – स्वस्तिमा गौतम, गाउँ भरि नै परिचित नाम हो। तनहुँको व्यास तीनमा। सबैको आँखाको नानी जस्तै बनेकी स्वस्तिमाले आफैले मन पराएर तनहुँकै पारिवारिक चिनजानको व्यक्तिसँग बिहे गरिन्।
आफन्तले घरमा कुरा लिएर आएका थिए। अरूले यस्तोसँग के गर्ने होला देख्दा नि जोडी मिल्ने हुनुपर्छ भने तर उनले अरूको कुरा सुनिनन्। कुरा गर्दै जाँदा दुनियाँकै बुझ्ने मान्छे जस्तो लाग्यो। कुराकानी हुन थालेको एक महिनामा नै उनको बिहे पक्का भयो।
दुई हप्तामै समय राखेर इन्गेजमेन्ट पनि भयो। तर उनको साथीले बिहे हुन लागेको केटा त आफ्नो प्रेमी भएकाले त्यो बिहे क्यान्सिल गर्न धेरै आग्रह गरिन्। उनी त्यसपछि छाँगाबाट खसे जस्तै भइन्। बिहे गर्न एक हप्ता मात्रै समय छ, उनले कुनै निर्णय लिन सकिनन्।
आखिर कसैको कुरा नसुनेरै त्यो बिहे भयो। बिहेको एक हप्तामा बल्ल श्रीमानको मोबाइल उनले हेर्न पाइन्। उनको मनले ठाउँ छोडेको जस्तै भयो। बिहे स्वस्तिमासँगै भए पनि दैनिक भेटघाट त अरुसँगै हुने रैछ।
उनले सबै कुरा थाहा नपाए जस्तै गरिन्। शंकाको दायरा दिन प्रतिदिन बढ्न थाल्यो। उनले एक पछि अर्काे प्रमाण देख्न थालिन्। संसारकै बुझ्ने मान्छे लागेको मान्छे उनको नजरमा दुनियाँकै खराब बन्न थाल्यो।
‘घरकाले केटा राम्रो छैन, त्योसँग बिहे हुँदैन भन्दा पनि मैले नै हुन्छ भनेर गरेको आजको अवस्था कसलाई देखाऊ ?’ उनिले गहभरि आँसु पार्दै सुनाइन्, ‘आफ्नै साथीसँगको हिमचिम कसरी कसलाई भनूँ, बाँच्नै नसक्ने भा छु। न त नयाँ घरकालाई सबै कुरा सुनाउन सक्छु, न त जन्म घरकालाई भन्न सक्छु ? अब त मेरो जीवनको औचित्य नै सकिएको महसुस भइरहेको छ।’ उनी यो पीडा खप्न नसकेर मनोविद्कहाँ पुगिन्। तर उनको पीडा कम भएको छैन।
यी घटना त केवल प्रतिनिधि पात्र मात्रै हुन। पहिला विशेषमा चर्चा पाएको सम्बन्ध विच्छेदको घट्नाले अहिले नेपालमा आँधी हुरी नै ल्याएको छ भन्दा फरक नपर्ला।
यस्तै, आउने मंसिरकोे अन्तिम साता विवाहको तयारीमा जुटेका एक आफन्त अहिलेदेखि नै निकै तनावमा देखिन्छन्। उनी परिवारमा एक्लो छोरा हुन्। बुढा बाआमा पाल्ने जिम्मा उनकै हो।‘यत्रो वर्ष बाआमाको काखमा हुर्किएँ, कुनै दिन बाआमाले आफ्नो मन दुखाएनन्, कुनै कुराको अभाव हुन दिएनन्’ उनले भने, ‘नयाँ सदस्यको रुपमा बेहुली बनेर भित्रेकी हुनेवाला श्रीमतीले केही नराम्रो गर्ने पो हो कि ? बाआमाको चित्त दुख्यो भने मैले कसको पक्ष लिने ? दश जना भान्जा भान्जी छन्, चार वटी दिदीका। उनीहरू माइत–मावली आएको बेलामा अहिले बाआमाले गर्ने जस्तो व्यवहार भएन भने के सोच्लान् ? समाजमा आफ्नो इज्जत भोलिका दिनमा पनि अहिलेको जस्तै होला कि नहोला ?’
यै कुराले होला सायद उनको अनुहारमा अहिले खुसी हराइसकेको छ। उनको मात्रै होइन यस्तो तनाव सायद अधिकांश पुरुषमा हुने गर्छ। छोरा मात्रै होइन बाआमा पनि उतिकै तनावमा छन्। छोरो आफ्नो भन्ने त विवाहको अघिल्लो दिनसम्म मात्र हो।
सबैभन्दा ठूलो कुरा परिवारका आफन्तलाई राम्रो व्यवहार गर्न सक्नु नै सर्वोत्तम हितकर मानिन्छ। विगतको र वर्तमानको व्यवहारलाई भविष्यसम्म उही रुपले निरन्तरता दिने हो भने सायद कसैको परिवारमा यस्ता आफन्तको जस्तो बेचैनी र छटपटाहट देखिँदैन होला। तर पछिल्लो समय यस्तो हुन सकेको छैन।
दार्चुलाकी १९ वर्षकी सुना ठगुन्ना १० कक्षा पढ्दै गर्दा गाउँकै केटासँग प्रेममा परिन्। वर्ष दिन नपुग्दै नपुग्दै बिदेसिएका श्रीमानले दिन प्रतिदिन बेवास्ता गर्न थाले। एक वर्षसम्म पनि बाटो हेरिन्। तर कुनै सुधार नआएपछि कानुनी रुपमै सम्बन्ध विच्छेद भयो।
काठमाडौँमा बस्दै आएका पाल्पाका रुविनको पनि त्यस्तै छ, समस्या। २८ वबर्षका रुविनले ४ वर्षअघि नै पाल्पाकी केटीसँग बिहे गरे। बिहे दर्ता पनि भयो। तर, सम्पत्तिकै कारण उनले निहुँ खोजेर सम्बन्ध विच्छेद गरिन्।
यी घटना त केवल प्रतिनिधि पात्र मात्रै हुन। पहिला विशेषमा चर्चा पाएको सम्बन्ध विच्छेदको घट्नाले अहिले नेपालमा आँधी हुरी नै ल्याएको छ भन्दा फरक नपर्ला।
सम्बन्ध जोड्न हतार नगरौँ, जोडिएपछि जीवनभर साथ दिन सक्ने बनाऔँ।
काठमाडौँ जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन्। सम्बन्ध विच्छेदका मुख्य कारणहरुमा परस्त्रीगमन, कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक असमझदारी–वैदेशिक रोजगार गएका श्रीमान् वा श्रीमतीबीच बढ्दो समस्या लगायतका छन्।
यस्तै अनमेल–महिलाहरु डिपेन्डेन्ट भिसामा उच्च शिक्षा हासिल गर्न विदेश जानु सम्पत्ति प्राप्तिमा लोभ, बाह्य देश जानका लागि बिहेको कागजपत्र बनाएर केही समयपछि सम्बन्ध विच्छेद गर्नेहरु पनि छन्। कुटपिट गर्नु, गालिगलौज तथा घरझगडा सबैभन्दा धेरै रहेका छन्।
जग्गाको कित्ता नमिल्दा दाजुभाइ छुट्टिनु स्वाभाविक मानिन्छ। समय नमिलेकै कारण उमेर ढल्केका बाआमाको भान्सा अलग्गाइ दिँदा पनि ठीकै हो। तर, जस्तोसुकै परिस्थितिमा साथ दिन्छु भनेर अग्नि साक्षी राखेर बाँधिएकाले बन्धन श्रीमान् श्रीमती चाहिँ सँगै हुनुपर्ने हो। तर आजभोलि ठिक उल्टो भइरहेको छ।
यिनै कारणबस् कोही छुट्टिए इज्जत बाँकी रहँदैन भन्ने सोच जकडिएको छ। सम्बन्ध विच्छेद गर्ने व्यक्तिको चरित्रमा प्रश्न गरिन्छ। यहाँ चरित्रको परिभाषा त्यस व्यक्तिको जीवन कुन विचारसहित अघि बढेको छ ? उसले के काम गर्छ ? वा समाजमा कस्तो योगदान पुर्याएको छ ? उसले संसारलाई हेर्ने दृष्टिकोण कस्तो छ ? भन्ने होइन।
चरित्रलाई यौन र यौनिकतासँग जोडिन्छ। प्रश्न गरिन्छ। ती प्रश्नको जबाफदेहिता महिलामा मात्र खोजिन्छ। पुरुष जस्तो सुकै समस्याको भागिदार भए पनि सुनपानी छर्केझैँ चोख्याउन खोज्ने समाज पनि हाम्रै हो। त्यसैले सम्बन्ध जोड्न हतार नगरौँ, जोडिएपछि जीवनभर साथ दिन सक्ने बनाऔँ।
प्रतिक्रिया