मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु | Khabarhub Khabarhub

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ। यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ। दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन्।

आजको दिन बिहानै दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन्। सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरेर रङ्गीचङ्गी बनाइन्छ। रङ्गिसकेको सामा चकेवा रातिको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म नाचगान गर्दै चेलीबेटीहरुले सामा चकेवा खेल खेल्छन्।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीहरु ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’लगायत गीतहरु गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबै दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन्।

एघारौँ दिनमा बिहानै दिदीबहिनीले पुनः सामा चकेवा बनाएर रङ्गरोगन गरी बेलुका दही चिउरा खुवाउँछन र त्यसबटै दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर बाजागाजासहित नाचगान गर्दै गाउँको नजिक जोतिएको खेतमा लगेर विसर्जन गर्दछन्।

मिथिलाञ्चलकी हरेक दिदीबहिनीहरुले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमा गएर मनाउने इच्छा गर्ने भएकाले टाढाटाढाका दिदीबहिनीहरु पनि माइत जाने गर्दछन्।

अन्य पर्वजस्तै भाइबहिनीको प्रेमको प्रतीक मानिएको यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी हुनेहरुका लागि निकै महत्वपूर्ण मानिन्छ। यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीहरुसँग मनाउने गर्दछन्।

सामा चकेवा खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीहरुप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप तराईको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लाहरुमा यो पर्व लोकप्रिय बन्दै आएकाले हर्षोल्लासका साथ मनाउने गर्दछन्।

मिथिलाञ्चलमा छठ पर्वको सन्ध्याकालीन अघ्र्य दिनुभन्दा एक दिनपूर्व (आज) देखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीहरुले जोरजाम गर्ने गर्दछन्। यस पर्वमा स–साना नानीहरु बढी उत्साहित हुने गर्दछन् भने उमेर नाघेका महिलासमेत पर्वको रमझममा हराउन पुग्छन्।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ९ : ३६ बजे

फिल्म निर्देशनमा ‘तक्मे बूढा’, हिरोमा धिरज फाइनल

काठमाडौं – कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ ले फिल्म निर्देशनमा

दशैँअघि बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तोक्छ : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बडादसैं अगाडि बस्ने आगामी

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिनेछ : मन्त्री पौडेल

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा

क्रियाशील सदस्यता नवीकरणमा आत्तिनु पर्दैन : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता नवीकरणमा पार्टी

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

सुदूरपश्चिम– पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरुप