‘तीजलाई अधिकारमुखी आन्दोलनसँग जोडेर लैजानुपर्छ’ « Khabarhub

‘तीजलाई अधिकारमुखी आन्दोलनसँग जोडेर लैजानुपर्छ’


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– जेलैमा हो जेलैमा, चरी जेलैमा, मै छोरी रुँदै रुँदै बेसी मेलैमा’ विष्णु माझीको स्वर रहेको यो तीज गीत यहाँका होटल र पार्टी प्यालेसमा निकै घन्कियो । निकै चर्चामा रहेको यो गीतमा पछिल्लो एक महिना बजारका पार्टी प्यालेसमा नाच्ने र रमाउनेको सङ्ख्या उल्लेख्य थियो । घरसँगै कार्यालयको पनि जिम्मेवारी भएका महिला यस्ता कार्यक्रममा देखिए । 

तीज आउनु एक महिना अघिदेखि नै बुटवल र भैरहवाका होटल तथा  पार्टी प्यालेस कार्यक्रमका लागि बुकिङ भएका थिए । सरकारी र गैरसरकारी सङ्घ संस्थाले पनि संस्थागतरूपमै तीज कार्यक्रमको आयोजना गरे । बजारका साँघुरा घरमा जमघट हुन साह्रै गाह्रो हुने भएकाले पनि होटल र पार्टी प्यालेसमा तीज मनाउने क्रम बढेको हो भन्छन्, बुटवल लक्ष्मी नगरकी माया पाठक ।

‘अहिले महिला घरको काम गरेर अफिस पनि जानुपर्ने हुन्छ । यस्तो अवस्थामा घरमा चेलिबेटी बोलाएर समय दिन पनि गाह्रो । घरको काम गर्ने की नाच्नेगाउने, अब त पार्टी प्यालेस जानुको विकल्प छैन । यसलाई  नराम्रो मान्न हुँदैन,’ उनले भने । सभ्य तरिकाले जहाँ बसेर पनि चाड मनाउन मिल्ने उनको बुझाइ छ ।

तीजमा माइती पक्षले चेलीलाई माइत बोलाउँछन् । माइती नहुनेका दिदीबहिनीलाई मावली र आफन्तले बोलाउने गर्छन् । चेलीबेटी बोलाउने र खुवाउनेक्रम जनै पूर्णिमादेखि सुरु हुन्छ ।

नाचगानको क्रम भने साउने सङ्क्रान्तिबाटै सुरु हुन्छ । त्यसपछि नागपञ्चमी, जनैपूर्णिमा र कृष्ण जन्माष्टमीमा पनि नाचगान गर्ने परम्परा छ । कृष्ण जन्माष्टमीको अघिल्लो दिन पनि चेलीबेटीलाई माइती पक्ष तथा आफन्तले बोलाउने र दर खाने चलन छ । विशेष गरी हरितालिका तीजमा चेलीबेटीको जमघट हुन्छ ।

पहिले पहिले चेलीबेटी जम्मा भएर आफ्ना पीर, व्यथा र बेदना गीतको माध्यमबाट व्यक्त गर्ने परम्परा रहे पनि अहिले भने बजारमा कलाकारले ल्याएका गीत बजाएरै नाच्ने क्रम बढ्दै गएको छ ।

‘अहिले बसेर नाच्ने गाउने भन्ने चलन हराइसक्यो । कसले गीत निकाल्नु कसले मादल बजाउनु ? सबैलाई नआउने भएकाले गीत बजाएरै नाच्छौँ । मन परेका गीत बजायो नाच्यो । यही नै सजिलो लाग्न थाल्यो’, बुटवल जितगढीकी गीता आचार्यले भने ।

वास्तवमा जन्मघर छोडेर माइतीमा जम्मा भएका चेलीले आफ्नो सुख दुःख  गीतबाटै व्यक्त गर्ने रमाइलो पर्व हरितालिका तीज हो । जन्मघर छोडेर कर्मघर जाँदाको अनुभव तथा माइतीप्रति गुनासा तथा अपेक्षा गीतबाटै प्रस्तुत गरिन्थ्यो । तर, अहिले पुराना भाका सुनिन छाडेका छन् । पुराना आँगन चौताराको ठाउँ पार्टी प्यालेसले लिएपछि पुराना भाका पनि नयाँ गीत र रचनामा बदलिएका छन् भन्छन्, प्राध्यापक इन्दिरा आचार्य ।                   

‘पहिले तीजमा गाइने गीतले चेलीका भावना र वेदनालार्ई समेटेका हुन्थे । माइतीप्रति चेलीको बिलौना र पीडालाई समेटेका हुन्थे । तीजका गीतले महिलामाथिको अन्याय अत्याचारका पीडालाई यसरी समेटेका हुन्थे । अबका दिनमा पनि तीजलाई अधिकारमुखी आन्दोलनसँग जोडेर लैजानुपर्छ’, आचार्यले भने ।

तीज नेपाली महिलाको महत्वपूर्ण पर्व हो । विशेष गरी हिन्दु महिलाका माझ प्राचीन कालदेखि नै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाती र वर्गमा पनि प्रसिद्ध बनेको छ । सबै चेली जम्मा भएर सुखदुःख साटासाट गर्ने यो पर्व महिलाका लागि रमाइलो चाड हो । पछिल्लो समयमा तीज आधुनिकतातर्फ गए पनि यसको मौलिक संस्कृति बिर्सन हुँदैन भन्छन्, धर्मगुरु जनार्दन न्यौपाने । ‘अधुनिकताका नाममा हाम्रो धर्म, संस्कृति र परम्परा बिर्सनुहुँदैन । मौलिक संस्कृतिको रक्षा गर्नुपर्छ’, उनले भने ।

हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन लामो समय निराधार व्रत बसिन् । यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीले यस दीनलाई उत्सवका रूपमा मनाउन थालेका हुन् ।

संस्कृत शब्दको तृतीयाबाट बोलिचालीको भाषामा तीज हुन गएको हो । तीजलाई हरितालिका पनि भनिन्छ । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । भाद्र शुक्ल तृतीयाको दिन पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका खुसीले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो । शिव पार्वतीको यसै दिन विवाह भएका कारण तीजलाई प्रणय दिवसका रुपमा लिइने संस्कृतिविद् राजेन्द्र आचार्य बताउँछन् ।

हिन्दु कथामा आधारित तीज अहिले पर्वका रुपमा विकसित भएको छ । पार्वतीको सिको गर्दै आफूले रोजेको वा असल पति पाउन विवाह नभएका महिला व्रत बस्न थाले । आफ्ना पतिको दीर्घायुका लागि विवाहित महिला व्रत बस्ने गर्छन् । तीजको सम्बन्ध माइतीपक्ष र गीतसँग गाँसिएको छ । 

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  २ : ४० बजे

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि