काठमाडौं – सानै उमेरमा विवाह गरेकी संगीता नकर्मी २९ वर्षीया गृहणी हुन् । २६ वर्ष नपुग्दै उनले तेस्रो सन्तानलाई जन्म दिइन् । दुई पटक घरमा नै प्रसव पीडा व्यहोरेकी संगीतालाई यस पटक भने लामो समय दुई दिन ब्यथा लागेर पनि सन्तान नजन्मेपछि मात्र अस्पताल ल्याइयो ।
अस्पतालमा उनको परीक्षण गर्दा बच्चा आउन नसकेर बच्चाको क्यापुट मात्र बनेको थिएन, बच्चाको ढुकढुकी पनि कम भइसकेको थियो । चिकित्सकले तुरुन्त शल्यक्रिया गरेर मात्र बच्चालाई बचाउन सकिने बताए । शल्यक्रिया भन्ने बितिकै उनी धेरै डराइन्, तर सन्तानको मायाले गर्दा नाई भन्न सकिनन् । अन्तत उनको शल्यक्रिया गरियो ।
महिलामा कहिलेकाँही नर्मल डेलिभरी किन हुँदैन ?
डेलिभरी धेरै किसिमका हुन्छन् । प्राकृतिक रुपमा वा कुनै बाहृय सहयोग बिना हुने डेलिभरीलाई सामान्य वा ‘नर्मल डेलिभरी’ भनिन्छ । धेरै अवस्थामा नर्मल डेलिभरी नै हुने गर्छन । नर्मल डेलिभरी हुन नसक्ने अवस्थाहरुमा आमा, बच्चा वा दुवैलाई जोगाउन औजार प्रयोग गर्ने अर्थात ईन्स्टुमेन्टल डेलिभरी अथवा सिजरियन सेक्सन अर्थात शल्यक्रिया गरेर डेलिभरी गराउनु पर्ने हुन्छ ।
यसरी डेलिभरी गराउनु भनेको एउटा बाध्यात्मक अवस्था पनि हो । प्रसव पीडा सुरु भएको बेला आमा वा बच्चमा कुनै समस्या देखिएमा तथा प्रसव पीडा सुरु भएको लामो समय बितिसक्दा पनि डेलिभरी हुन नसकेको अवस्थाहरुमा डेलिभरी गराउन भ्याकुम वा फोरसेपको प्रयोग गर्नु पर्ने हुन सक्छ । तर, यस्ता सबै अवस्थाहरुमा औजारहरुको प्रयोग गर्न सकिदैन ।
यसका लागि पाठेघरको मुख पूर्णरुपले खुलिसकेको हुनुपर्ने, ब्यथा लागेको हुनुपर्ने लगायत अन्य धेरै अवस्थाहरु मिलेको हुनु पर्छ । औजार प्रयोग गर्दा सावधानी नअपनाएको अवस्थामा बच्चाको टाउकोमा चोट लाग्न सक्ने, टुटुल्को उठ्न सक्ने, स्नायुमा चोट लाग्न सक्ने तथा आमाको योनीमार्गमा घाउ लाग्न सक्ने, पिसाब तथा दिसाका समस्याहरु थपिन सक्ने जस्ता जोखिम हुन सक्छ ।
त्यसैले औजार प्रयोग गरेर डेलिभरी गराउन सकिने अवस्थामा पनि कति बिमारी तथा बिमारीका आफन्तले यसका लागि अनुमती दिन चाहदैनन् । जसले गर्दा पछिल्लो समयमा औजार प्रयोग गरेर हुने डेलिभरीमा कमी आएको देखिन्छ । तर, आवश्यक रहेको अवस्थामा उचित समयमा सहि तरिकाले औजार प्रयोग गर्न सके आमा र बच्चा दुवैलाई खतरा नरहने र अनावश्यक रुपमा सिजरियन गर्नु नपर्ने निश्चित छ ।
शल्यक्रिया गर्दा आमाका जोखिम के हुन् ?
शल्यक्रिया गर्दा आमाको पेट चिरेर चार वटा लेयरबाट पाठेघर चिरेर बच्चा निकालेर टाँका लगाएको बेलामा दूध खुवाउनु भन्दा त दुखाई म्यानेजमेन्ट गर्नु जरुरी हुन्छ ।
नर्मल डेलिभरी हुँदा त बच्चा नपाउँदा पेट दुख्ने, बेथा लाग्ने हुन्छ । र, बच्चा पाएपछि त्यति गाह्रो हुँदैन । तर, शल्यक्रिया गरेर बच्चा पाउँदा आमालाई ठिक हुन धेरै समय लाग्छ । बेहोस पारिएको हुन्छ । होसमा आउँदै गर्दा दूध खुवाउन मिल्दैन ।
नर्मल डेलिभरीमा बच्चा जन्मँदा साथ आमाको काखमा राखेर दूध खुवाइन्छ । सिजरियन गर्दा दूध खुवाउन ढिलो हुने भएकाले नै दूध कम आउने हो । बच्चाले आमाको दूध मुखभित्र राखेपछि ‘अक्सिटोसिन’ भन्ने हार्मोन उत्पन्न हुन्छ । र, दूध आउने मेकानिज्म बन्छ । दूध कम आउने हामीले बच्चालाई दूध कम चुसाएर हो ।
दूध आएन भने पनि बच्चालाई दूध चुसाइरहनु पर्छ । नर्मल डेलिभरीमा खानेकुरा खान दिइन्छ । जसले गर्दा धेरै दूध आउँछ । सिजरियनमा धेरै खान मिल्दैन । तर डाइट मिलाएर खाँदा एक दुई दिनपछि दूध आउँछ ।
तर सिजरियन गरेपछि नर्मल भन्दा बच्चा र आमाको बोन्डिङ अली ढिलो हुन्छ । यस्तै नर्मल डेलीभरीमा चाँडै हिलिङ हुन्छ । ब्रेस्ट फिडिङ पनि छिटै हुन्छ । सिजरियनमा अलि बढी समय लाग्छ । कहिलेकाँही डेलिभरी गराउनुपर्ने महिलाको शारिरीक समस्याका कारण जोखिम पनि हुन्छ ।
प्रतिक्रिया