पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’ « Khabarhub

पर्यटक आकर्षणको केन्द्र बन्यो बागलुङको ‘बञ्जीजम्प’


१४ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आए। उनलाई अझै धित मरेको छैन। घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराखेका छन्।

दुईपटक त उनले बञ्जीजम्प गरिसके। परिवारसहित घुम्न आएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा छन्। यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरे बताउँछन्। हेटौँडाको कोलाहलबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ बनेको उनको भनाइ छ।

घिमिरे भन्छन्, “म अहिलेसम्म तीनपटक बञ्जीमा आएँ, दुईपटक त बञ्जीजम्प पनि गरेँ तर अझै पनि मेरो रहर मेटिएको छैन, यहाँ बसिरहुँ, घुमिरहुँ लाख्छ, हेटौँडामा बस्दा दिमाग ह्याङ्ग भएको थियो, यहाँ आएपछि रिफ्रसमेन्ट भएको छ, यो हाम्रो पारिवारिक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँ अवलोकन गरेर फर्किने छौँ।”

चितवनबाट बञ्जीजम्प गर्न बागलुङ आएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताइन्। टिकटक र फेसबुकमा धेरैले बञ्जीजम्प गरेको देखेपछि आफू पनि आएको बताउँछिन्। ढकालले भनिन्, “बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो, तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदोरहेछ, फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ, बिदा मिलाएर अर्कोपटक आउने मन छ।”

उनले योभन्दा होचो स्थानमा रहेका बञ्जीमा आफूले यसभन्दा अगाडि पनि बञ्जी गरेको भन्दै यहाँ गर्दा निकै आनन्द आएको बताइन्। “यो ठाउँ निकै रमाइलो रहेछ, यसभन्दा अगाडि पनि म बञ्जी गरेको थिएँ तर अहिलेको जस्तो मज्जा आएको थिएन, यत्तिको अग्लोमा पनि गरेको थिएन, सुरुमा अलिअलि डर पनि लागेको थियो तर पछि निकै रमाइलो लाग्यो”, उनले भनिन्।

बञ्जीसँगै तल कालीगण्डकी नदी र माथि धवलागिरि हिमालको दृश्यले आफूलाई मोहित बनाएको ढकालले बताइन्। उनी यस्तो ठाउँ संसारमा जहाँकहीँ नहुने बताउँछन्। उनले यो क्षेत्र घुम्नका लागि निकै उपयोगी रहेको बताइन्।

“यस्तो ठाउँ विश्वमा सायदै हुन्छन् होला, बञ्जीजम्पको तलपट्टि पवित्र कालीगण्डकी नदी, माथि हेर्दा धवलागिरि हिमाल देखिँदोरहेछ, यो ठाउँ साँच्चिकै स्वर्गजस्तै छ”, उनले भनिन्, “यो ठाउँले धेरैलाई आकर्षित गर्छ, हामी नेपालीलाई त यति मोहित बनाउँछ भने विदेशीहरू त झन् लोभिन्छन् होला।”

पोखराबाट घुम्न आएकी ८३ वर्षीया जमुना अधिकारीले यो ठाउँ र बञ्जी निकै रमाइलो लागेको बताइन्। घिमिरे भन्छन्, “नाति केटाले मोबाइलमा यो बञ्जीको भिडियो देखाएको थियो, भिडियो देख्दा मलाई निकै रमाइलो लाग्यो, आज यहाँ आउने मौका मिलेको छ, म त बूढी मान्छे आज हो कि भोलि, यो देख्न पाउँदा खुसी लाग्यो, यो बनाउनेलाई धन्यवाद छ।”

बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो। बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताए। उनले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताए। पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उनको भनाइ छ।

“बिदाको दिन बढी पर्यटक आउनुहुन्छ, अहिले दैनिक तीन–चार सय पर्यटक यहाँ घुम्न आउनुहुन्छ, तर थोरैले मात्रै बञ्जीजम्प गर्नुहुन्छ, हामीले सुरु गर्दा पर्यटकको आगमन निकै कम थियो, अहिले बढ्दै गएको छ”, प्रधानले भने।

बञ्जीसँगै बलेवा क्षेत्रमा रेष्टुरेण्ट, गुलेली पिङ, स्काइ साइक्लिङलगायत आधा दर्जन बढी संरचना निर्माण भएका छन्। ती संरचनामा पनि पर्यटकको घुइँचो लाग्न थालेको प्रधानको भनाइ छ। अहिले स्विङ, स्काइ साइक्लिङ र बञ्जी गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ। उनका अनुसार बाह्य पर्यटक पनि यहाँ आउन थालेका छन्।

बञ्जीजम्प निर्माण गर्दा सुरुमा रु २० करोड लागत लाग्ने अनुमानले संरचना निर्माण सुरु गरेको भए पनि लागत बढ्दै गएपछि अहिलेसम्म रु ५० करोडको हाराहारीमा खर्च भइसकेको उनको भनाइ छ। यहाँ बञ्जीसँगै अन्य धेरै संरचना निर्माण गर्दा बढी लागत लागेको उनी बताउँछन्।

विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो। यसको लम्बाइ पाँच सय २५ मिटर छ। खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ। कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ। बञ्जीजम्पका कारण बलेवा र कुश्मामा व्यापारव्यवसाय बढ्दै गएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १० : ५४ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली