विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ १७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे ३१, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

भारी वर्षापछि ब्राजिलमा मृत्यु हुनेको संख्या ९१ पुग्यो

भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या ९१ जना पुगेको छ । केही दिनदेखि ब्राजिलमा भारी वर्षा भइरहेको छ । भारी वर्षामा परेर ज्यान गुमाउने अधिकांश उत्तरी ब्राजिलको रेसिफे सहर र त्यस वरपरको क्षेत्रका रहेको ब्राजिलका अधिकारीहरूले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परिरहेको छ । अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप देखिएको बताइएको छ ।भारी वर्षा र त्यसपछिको बाढीले गर्दा अहिले सम्म २६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् । त्यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीमा पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।

रेसिफे सहरको नजिकै गएको पहिरोमा परेर गएको शनिबार २० जनाको ज्यान गएको थियो । त्यहाँ अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले सतर्कता अपनाउन भनिएको समाचारमा जनाइएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ

सम्पत्ति शुद्धीकरण मुद्दामा दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँग हवाला लेनदेनमा संलग्न थिए । केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध अगस्ट २०१७ मा १ दशमलब ६२ करोड भारुसम्मको सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

आम आदमीले उनको पक्राउको विरोध गरेको छ । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोडियाले एक ट्वीटमा हिमाञ्चल प्रदेशमा आगामी चुनावलाई प्रभावित गर्ने उद्देश्यले जैनलाई गिरफ्तार गरिएको आरोप लगाएका छन् । जैन हिमाञ्चल प्रदेशका आम आदमीका इन्चार्ज हुन् ।केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आदमीले दिल्लीको अतिरिक्त गुजरात राज्यमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो । भ्रष्टाचार र अनियमिततालाई जरैदेखि उन्मूलन गर्ने आम आदमीले उद्घोष गर्दै आएको छ ।

चाडको सुन खानीमा कार्यरत कामदारबीच भएको झडपमा १ सय जनाको मृत्यु

अफ्रिकी मुलुक चाडको उत्तरी क्षेत्रमा रहेको सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको छ ।कामदारबीच भएको झडपमा परी १०० जनाको मृत्यु भएको रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार बताएका छन् । लिबियाको सिमाना नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् ।

उक्त झडप चाडको राजधानी जामेनाबाट करिब १,००० किलोमिटर मध्य सहारा मरुभूमिको टिबेस्टी पहाडी इलाकामा भएको जनाइएको छ । त्यस क्षेत्रमा सुनको खोजी गर्न चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच अक्सर तनाव र झडप हुने गरेको बताइन्छ ।
झडप मौरिटानियन र लिबियालीहरू बीच भएको मन्त्रीले बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग सो क्षेत्रबाट फोनमा कुरा गर्दै यसबारे जानकारी दिएका हुन् ।

‘यस क्षेत्रमा सुन खानी कामदारहरू बीच हिंसा भएको यो पहिलो घटना होइन र हामीले अर्को सूचना नआएसम्म कोरीमा सबै सुन खानीको उत्खननको कार्य स्थगन गर्ने निर्णय गरेका छौं’ उनले भने । यस क्षेत्रका बहुसंख्यक खानीहरू अवैधरूपमा सञ्चालित रहेको बताइएको छ ।

विश्व बैंकले श्रीलङ्कालाई ७० करोड डलर उपलब्ध गराउने

विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलङ्कालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलङ्काका विदेशमन्त्रीले जानकारी दिएका छन् । कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिससँग कुराकानीका क्रममा सो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

भेटमा मन्त्रीले अन्तर्राष्ट्रिय मुद्राकोष, अन्य अन्तर्राष्ट्रिय संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल विश्व बैंकसँग सहयोग मागेका थिए ।मन्त्रीले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताएका छन् । विश्व बैंकका देशीय प्रबन्धकले उनको कार्यालयले एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघको कार्यालय जस्ता अन्य संस्थाहरूसँग पनि श्रीलङ्काको बिग्रदो अर्थतन्त्र सुधारका निम्ति काम गरिरहेको बताएका छन् ।

हाल श्रीलङ्काले चरम विदेशी मुद्राको अभावको सामना गरिरहेको छ जसले अत्यावश्यक वस्तुहरू आयात गर्न समस्या निम्त्याएको छ । यसैबीच देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरूप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । उक्त रकम प्राप्तिका लागि श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको जनाइएको छ । भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गत साता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गरेका थिए ।

यसअघि भारतले प्रदान गरेको ५० करोड अमेरिकी डलरको यो अतिरिक्त रकम हो । अतिरिक्त ऋणका लागि श्रीलङ्काकाली उच्चायुक्तले वार्ता गरेका हुन् । श्रीलङकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । आर्थिक मन्दीले पिरोलिएको टापु राष्ट्र कोभिड–१९ महामारीका कारण थप प्रभावित भयो भने महामारीको समयमा पर्यटन उद्योग सञ्चालन नहुँदा विदेशी मुद्राको सञ्चिति सकिएसँगै ऋण सहायताका निम्ति छिमेकी भारतलाई गुहार्नु परेको हो ।

विदेशी मुद्राको अभावमा देशलाई पर्याप्त इन्धन किन्न असमर्थ मात्र बनाएन सर्वसाधारणलाई खाना पकाउने ग्यास, खाद्यान्न र अन्य आधारभूत आवश्यकता पूरा गर्न हम्मेहम्मे परेको छ । आधारभूत आवश्यकता पूरा हुन नसक्दा अधिकतर श्रीलङकालीको जीवन अकल्पनीयरुपमा कष्टकर बनेको छ । भारतले अत्यावश्यक सामग्री आयातका लागि अर्को एक अर्ब अमेरिकी डलरको ऋण प्रस्ताव गरेको तथा त्यसमध्ये २० करोड डलर इन्धन आयातमा खर्च हुनेछ । यो टापु राष्ट्रले डिजेल र पेट्रोलको लागि हालसम्म ७० करोड अमेरिकी डलर खर्च गरिसकेको छ । उक्त रकम पनि भारतबाट ऋणस्वरूप प्राप्त भएको थियो ।

यसैबीच, प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो देशमा जारी आर्थिक सङ्कटको बीचमा भारतले गरेको सहयोगको प्रशंसा गर्दै दुई राष्ट्रबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने इच्छा व्यक्त गरेका गरेका छन् । ‘यो कठिन समयमा भारतले गरेको सहयोगका लागि आभार व्यक्त गर्दछु। म हाम्रा राष्ट्रहरू बीचको सम्बन्धलाई अझ सुदृढ गर्न तत्पर छु’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो

युरोपेली युनियनले रुसी तेलको आयात यो वर्षको अन्त्यसम्म ९० प्रतिशतले कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जुलाई महिनाका लागि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर १२२ डलर पुगेको छ । त्यस्तै, अगस्ट महिनाका लागि पनि ब्रेन्ट कच्चा तेलको बजार मूल्य ३३ सेन्टले बढेर ११७.९३ डलर पुगेको छ । त्यस्तै, अमेरिकाको वेस्ट टेक्सासमा शुक्रबार बन्द भएको बजार २.२४ डलरले बढेर ११७.३१ डलर पुगेको छ ।

युरोपेली युनियनले वर्ष सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयातमा ९० प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो । यसअघि युरोपेली युनियनले यो वर्षको अन्त्यसम्म सबै रुसी तेलको आयातमा प्रतिबन्ध लगाउने योजना अघि सारेको थियो । यद्यपि रुसी तेलमा निर्भर हङ्गेरीले रुसी तेलमा प्रतिबन्ध लगाउन आनाकानी गरिरहेको थियो । हंगेरीको चासोलाई सम्बोधन गर्दै युरोपेली युनियनले वर्षको अन्त्यसम्म ९० प्रतिशत रुसी तेलको आयातमा कटौती गर्ने निर्णय गरेको जनाइएको छ ।

यद्यपि केही विशेषज्ञहरूले तेलको मूल्य निरन्तर बढिरहने सम्भावना नरहेको बताएका छन् । बजारको आपूर्ति पक्षमा खिचाव उत्पन्न भएका कारण मूल्य यसै पनि अकासिएको उनीहरूको तर्क छ । यसअघि युरोपेली युनियनका प्रायः सबै मुलुकहरू रुसी तेलमाथि प्रतिबन्धको पक्षमा रहेकाले यसअघि नै बजारमा मूल्य स्वभाविक रुपमा नै बढि रहेको एसपीआई एसेट म्यानेजमेन्टका म्यानेजिङ पार्टनर स्टेफन इन्सलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

पाकिस्तानमा बस दुर्घटनामा परी ५ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी शहर पेसावरबाट दक्षिणी बन्दरगाह शहर कराँची जाँदै गर्दा बाटोमा पल्टिएका कारण अरु १३ यात्रु घाइते भएका छन् । दुर्घटनामा परेका सबैलाई स्थानीय  अस्पतालमा  लगिएको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ ।

घाइते अधिकांश यात्रुहरू सिन्ध प्रान्तका विभिन्न शहर र देशको पूर्वी पञ्जाब प्रान्तका रहेको प्रहरीलाई उद्धृत गर्दै चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ । मुख्यतया खराब सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू हुने गर्दछन् ।

मोना लिसाको तस्वीरमा केक प्रहार

वृद्ध महिलाको भेषमा ह्विलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोना लिसामा केक प्रहार गरेका छन् । प्रहार गरिएको केक सो चित्रलाई छोप्नेको सिसामा परेको छ । नक्कली कपाल र लिपिस्टिक लगाएका ती व्यक्ति जलवायु अभियन्ता रहेको विश्वास गरिएको छ । उनले केक प्रहार गर्ने बेला मानिसहरूलाई ‘पृथ्वीको बारेमा सोच्न’ आग्रह गरेको बताइएको छ । सो घटनलाई प्रत्यक्षदर्शीहरूले अनौठो भनेका छन् । 

अमेरिकाबाट म्युजियममा पुगेका लुक सुन्डवर्ग पनि सो घटनाका प्रत्यक्षदर्शीहरू मध्येका एक हुन् ।  ‘ह्विलचेयरमा एक मानिस एउटी वृद्धाको भेषमा चित्रतर्फ बढेर मुक्का प्रहार गरेर केक फालिदिए’ २० वर्षीय सुन्डवर्गले भने । ती मानिसलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिएका थिए । ग्यालरीमा गुलाबसमेत फालेका ती व्यक्तिलाई प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराबीच उनले ‘पृथ्वीबारे सोच’ भनेका थिए । ‘मानिसहरूले पृथ्वीलाई विनाश गरिरहेका छन् । यसबारे सोच्नुहोस् । कलाकारले पृथ्वीको बारेमा सोच्न भन्छ । त्यही भएर मैले यो काम गरे’ ३६ वर्षका ती व्यक्तिले भने ।

पक्राउपछि उनलाई प्रहरीको साइक्याट्रिक युनिटमा राखिएको जनाइएको छ । यद्यपि मोना लिसामा क्षति पुर्‍याउने प्रयास भने यो पहिलो नभएको जनाइएको छ । सन् १५०३ देखि सन् १५१९ सम्म लियोनार्दो दा भिन्चीले सिर्जना गरेको यस चित्रमा यसअघि पनि क्षति पुर्‍याउने प्रयास हुँदै आएको स्पेनी अखबार मार्काले जनाएको छ । मार्काका अनुसार यसअघि सन् १९११ मा मोना लिसाको चित्र चोरी पनि भएको थियो । चोरी भएको तीन वर्षसम्म मोना लिसा बेपत्ता भएको थियो ।

सन् १९५० तिर कसैले यस चित्रमा सल्फ्युरिक एसिड प्रहार गरेको थियो । यसबाहेक एकजना बोलिभियाली विद्यार्थीले पनि यसअघि मोना लिसाको चित्रमा ढुङ्गा प्रहार गरेको जनाइएको छ । यस्तै, सन् १९७४ मा जापानको राजधानी टोकियोमा प्रदर्शनमा राखिँदा ह्विलचेयरमा आएकी एक महिलाले चित्रमा रातो रङ्ग पोत्ने प्रयास गरेकी थिइन् । त्यस्तै, सन् २००९ मा पनि एकजना रुसीले मोना लिसामाथि चिया फ्याँकेको जनाइएको छ ।

 

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ७ : ५८ बजे

मा‌ओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहँदैमा, सराप्दैमा नेकपा एमाले

विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने : खानेपानीमन्त्री

काभ्रेपलाञ्चोक – खानेपानीमन्त्री प्रदीप यादवले सरकारले विपद् प्रभावित क्षेत्रमा शीघ्र

चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण

चन्द्रपुर– जिल्लाको चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन

शिक्षकको मासिक तलब उपलब्ध गराउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक

राजनीतिक स्थायित्व कायम गर्न नयाँ सरकार गठन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र