नेपाली राजनीतिमा अस्थिरताका नायक प्रचण्ड | Khabarhub Khabarhub

नेपाली राजनीतिमा अस्थिरताका नायक प्रचण्ड

‘जो फेरि सत्ताको रङ फेर्न वाम बोली बोलिरहेका छन्’


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले निहुँ खोजे एमालेसँग मिल्ने चेतावनी दिए । उनले नामै किटेर सिट बाँडफाँडमा कांग्रेसले निहुँ खोजेको खण्डमा एमालेसँग मिल्ने चेतावनी दिएका हुन् ।

एमालेसँग मिल्ने कुरा प्रचण्डले यति स्पष्टसँग उठाएको यो चुनावअघिको रोचक दृश्य हो । यसअघि एमाले र ओली भन्ने बित्तिकै प्रचण्ड प्रतिगमन शब्द निकालेर कांग्रेससँगको गठबन्धन फलदायी हुने धारणा राखिरहन्थे ।

तर केही समययता प्रचण्ड धेरै फेरिएका छन् । खास गरी दिल्ली भ्रमणबाट फर्केपछि प्रचण्डले सुरुमा वाम एकताको लागि समाजवादी केन्द्रको नाम दिएर रिहर्सल थालेका थिए । तर त्यो टुंगोमा पुग्न सकेन । हिजोआज वामदेव र बाबुरामलाई आफ्नो कित्तामा ल्याएपछि प्रचण्ड अब कांग्रेसभन्दा शक्तिशाली बनेको ठानिरहेका छन् ।

माधव नेपाल, बाबुराम, बामदेव, झलनाथ खनाल सबै आफूसँग भएपछि देउवाभन्दा आफू शक्तिशाली भएको भ्रम प्रचण्डको छ । खास गरी सत्ताको रणनीतिमा आफू मात्रै निर्णायक भएकाले अरूलाई पेलेरै निर्णय गर्न सकिन्छ भन्ने दाउमा रहेका प्रचण्ड यसपटक पनि त्यही धृष्टता गरिरहेका छन् ।

प्रचण्ड नेपाली राजनीतिमा सबैभन्दा अस्थिर नेता हुन् भन्नेमा शंका छैन । तर उनकै कारण नेपाली राजनीति अस्थिरताको केन्द्रबिन्दु भइरहेको छ । यसअघि २०७४ सालको चुनावमा पनि एमालेसँग मिलेका प्रचण्डले पछि त्यसैलाई ‘बार्गेनिङ टूल’ का रुपमा प्रयोग गरे । एमालेसँग मिलेर ३० प्रतिशत हिस्सा पाएका प्रचण्डले सोही कारण सत्तालाई अस्थिर बनाए ।

न आफू प्रधानमन्त्री बन्न सके । न त ओलीलाई नै पाँच वर्ष हुन दिए । ओली छाडेर देउवासँग मिलेका प्रचण्डलाई केवल अहिले सत्ताको लोभ छ । जसरी पनि सत्तामा बस्नै पर्ने स्वभावका प्रचण्डले गर्दा नेपाली राजनीति अस्थिरताको सिकार भएको छ ।

अहिले पनि प्रचण्ड पाँच वर्षको स्थायित्व हुने समयमा अस्थिरताको बीउ रोपिरहेका छन् । उनी आफू सत्तामा रहनका लागि धेरै सिट संख्या बार्गेनिङ गर्न खोजिरहेका छन् । जसकारण उनी फेरि सत्ताबाट बाहिर निस्कन नपरोस् भन्न चाहिरहेका छन् ।

यसका लागि कांग्रेससँग गठबन्धन गर्न चाहिरहेका प्रचण्ड नेपाली राजनीतिमा राष्ट्रिय समस्या बन्न खोजिरहेका छन् । उनले यति बेला आफूले चाहेको जसरी राजनीति गर्न वाम मोर्चा बनाएर चुनावमा जान सक्नुपर्छ । त्यो भन्दा पनि एक्लै लडेर आफ्नो स्पष्ट शक्ति तयार पार्नुपर्छ ।

तर कहिले कांग्रेस र एमाले भन्दै राष्ट्रिय राजनीतिमा अस्थिरता ल्याउने काम गर्न हुँदैन । प्रचण्डले जे गरिरहेका छन्, त्यो नेपालीका लागि ठूलो समस्या बन्न सक्छ । अबको चुनावमा कांग्रेस वा एमाले जसले बहुमत ल्यायो, उसले ५ वर्ष सरकार चलाउन सक्छ । त्यही हक माओवादीलाई पनि छ । तर सम्भावना देखिँदैन ।

पाँच वर्ष एउटाको सरकार हुँदा त्यसले चाहे जसरी काम गर्न सक्छ । आफ्नो योजनाअनुसार बजेट विनियोजनदेखि कार्यक्रम ल्याउन पाउँछ । कम्तीमा पाँच वर्ष एउटा पार्टीको सरकार हुँदा त्यसले सबैतिर स्थायित्वको सन्देश जान्छ ।

निजी क्षेत्रलाई सहज हुन्छ । काम गर्न गराउन पनि सहज हुन्छ । त्यसले ढिलो चाँडो पनि काम गर्न सकिने हुन्छ । तर प्रचण्डका कारण पछिल्लो दश वर्ष यता नेपाली राजनीति सोचेभन्दा पनि धेरै अस्थिर भइरहेको छ ।

एमाले र कांग्रेसको संगठन बलियो भएका कारण उनीहरू स्थिर छन् । तर प्रचण्डले दुई पार्टीभन्दा पनि शक्तिशाली संगठन बनाएर पनि त्यो टिकाउन सकेनन् । आफूसँग भएका नेतालाई पार्टीबाट निकाल्न बाध्य पार्ने, मनलाग्दी गर्ने, संगठन ध्वस्त पार्ने अनि आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टीलाई नै बदनाम बनाएर नेपाली राष्ट्रिय राजनीतिलाई नै अस्थिर बनाउने मुख्य समस्या प्रचण्ड हुन् ।

यस्तो अवस्थामा आगामी पाँच वर्ष साँच्चै स्थायित्व चाहने हो, कुनै एउटा पार्टीले त्यो स्थायित्व दिन सक्ने हो भने प्रचण्ड जस्ता पात्रहरू बिस्तारै किनारा लाग्न सक्छन् । आफूले स्थायित्व दिन नसक्ने र अरूलाई पनि स्थायी दिनबाट रोक्ने प्रचण्ड समस्या सुरुमा उनीबाटै समाधान हुनुपर्छ ।

होइन भने आफू पनि प्रयोग हुने, अरूलाई पनि प्रयोग गर्ने र राष्ट्रिय राजनीतिलाई सधैँ विदेशीको षडयन्त्र भन्दै व्यक्तिगत स्वार्थ पूरा गर्ने प्रचण्ड समस्या हल गर्न अरू दल र नेता पनि गम्भीर हुनुपर्छ । अन्यथा स्वतन्त्रहरूको ‘नो नट अगेन’ अभियानबाट प्रचण्ड जस्ता प्रवृत्तिलाई बढारिदिन सक्छ । जसको नेतृत्व रवि लामिछाने लगायतका युवाहरूले गरिरहेकै छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १ : ३२ बजे

बर्दिबास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईलेविरुद्धकाे औषधि खुवाउने

महोत्तरी– राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको

फिलिपिन्समा चरम गर्मीका कारण छ जनाको मृत्यु

मनिला– फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १

सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

  इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार

गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा

काठमाडौं– नयाँ वर्षको अवसर पारेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले

हामी जातीय राजनीति गर्दैनौँ, बहुपहिचानको पक्षमा छौँ : सभापति लामिछाने 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू