राष्ट्रिय गीत बज्दा भावुक हुन्छु  « Khabarhub

राष्ट्रिय गीत बज्दा भावुक हुन्छु 

‘सिर्जनाको मूल्याङ्कन यो राष्ट्रले गर्दो रहेछ’ 


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गणतन्त्र आएपछि हामी नयाँ राष्ट्रिय गीत सुनिरहेका छौँ। राष्ट्रिय गीत २०६३ मङ्सिर १४ गते छनोटमा परेको हो। २०६४ भदौमा यसको औपचारिक घोषणा भएकोको थियो। राष्ट्रिय गीत देशको एउटा महत्त्वपूर्ण गान हो। जसको हरेक सभा समारोहमा छुट्टै महत्त्व हुन्छ।  ४५ शब्दको राष्ट्रिय गीत, यसको सिर्जना र अन्य लेखनसँग सम्बन्धित रहेर राष्ट्रिय गीतका रचनाकार प्रदिपकुमार राई (ब्याकुल माइला)सँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

प्रदिपकुमार राईबाट व्याकुल माइला कति बेला बन्नुभयो ? 
२०४७ सालमा स्कुलको पढाइ सकेर काठमाडौँमा आउँदा मैले साहित्य लेख्न थालेँ। नयाँ नामबाट साहित्य लेखौँ भनेर मैले ब्याकुल माइला राखेँ। पहिला पनि धेरै थोरै कलम चलाएँ। त्यसले गर्दा कलम चलाउने स्रष्टासँग चिनजान थियो। २०६२ र ६३ सालको जनआन्दोलन सफल भएपछि बनेको राष्ट्रिय गीतमा मेरो सिर्जना छनोट भएपछि सबैले मलाई ब्याकुल माइला भनेर चिने।

ब्याकुल माइला नाम किन राख्नु भयो ?
म सानैदेखि भावुक स्वभावको थिएँ। काठमाडौँ आएर मैले साहित्यिक लेख्नुपर्छ भनेर लागिरहेँ। दिनमा एउटा गाउँ घरको विषयवस्तुमा कविता लेखेर भावुक हुन्थेँ। मैले एउटा कविता मेरो काकालाई देखाए। उहाँले राम्रो छ पत्रपत्रिकामा छाप्न दिँदा हुन्छ भन्नुभयो। पहिला मनको भावना पोख्न लेख्थेँ। पछि देशको लागि लेखौँ भन्ने भयो। प्रकाशन गर्न नयाँ नाम चाहियो। मैले पढ्दै जाँदा ब्याकुल अगाडि लेखेँ। मलाई घरमा कान्छा भन्नु हुन्छ। आमा तीन जना हुनुहुन्थ्यो। म माहिली पट्टीको एक्लो छोरा हुँ। तर बाबा पट्टीको दाइ हुनुहुन्छ। भाइ पनि छ।  त्यसैले म माइला भएँ। मैले साहित्यमा त्यो आफ्नो उपनाममा अगाडि ब्याकुल राखेर पछाडि माइला लेखेको हुँ।

पहिलो पटक ब्याकुल माइला नाम कहिले प्रकाशित भयो ?
सुरुमा मैले एउटा कवितामा ब्याकुल माइला नाममा लेखेर गोरखापत्रमा देखाएँ।  त्यहाँ किरात समुदायको मान्छेले लेख्दा राम्रो भनेर प्रदिपकुमार राई राख्नुहोस् भन्नुभयो। मलाई नयाँ उपनाम राख्नु थियो र त्यसपछि प्रदिपकुमार राई र कोष्टमा ब्याकुल माइला राखेँ। पछि नाम लामो भएपछि मैले ब्याकुल माइला मात्र राखेँ।

पहिलो कविता लेख्दाको सम्झना कस्तो छ ? 
देशको समसामयिक विषयवस्तुको बारेमा लेख्न मन लाग्छ। २०४८ साल वैशाख २ गते (नयाँ वर्षको शुभकामना तिमीलाई) शीर्षकमा नयाँ वर्षको दिन कविता लेखेको थिएँ। कवितामा तिम्रा सबै सपनाहरू पूरा हुन् भन्ने भाव थियो।

राष्ट्रिय गीत तयार भएपछि त्यस अघिको ब्याकुल पाइला र पछाडिको ब्याकुल माइलामा कति अन्तर पाउनुभयो ? 
राष्ट्रप्रतिको माया मुटुमा भयो भने त्यसको मूल्याङ्कन यो राष्ट्रले गर्दो रहेछ भन्ने मैले पाएँ।

सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली) ४५ शब्दको यो राष्ट्रिय गीत सिर्जनाका लागि कति शब्द गोडमेल गर्नुभयो ? 
ऐतिहासिक कृति साहित्य लेख्ने क्रममा सहभागी भएको हो। यसलाई राष्ट्रिय गीत त राज्यले बनायो। यो क्रममा मेरो मात्र मेहनत होला जस्तो मलाई लाग्दैन। राष्ट्रिय गान लेख्ने प्रतियोगिता भएपछि मैले एक महिनाको म्यादमा निरन्तर लेख्ने प्रयास गरेँ। कहिले १८ देखि १९ पाना पनि लेखेँ । त्यसलाई संक्षेपिकरण गर्दै गएँ। जस्तो लेख्छु भन्थे त्यस्तो बनेन। त्यो पेस गर्न मन पनि लागेन। त्यसको दुई दिनपछि १५ दिन म्याद थपिएको रहेछ। मैले अन्तिम सातामा यो सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली लेखेँ। पछि अन्तिममा मैले पेस गरेँ। त्यसपछि १२७२ मध्ये उत्कृष्ट रूपमा यसलाई छानियो।

राष्ट्रिय गीत लय हालेर आएपछि कस्तो लाग्यो ? 
संगीतकार अमर गुरुङले महाराजगन्जमा २० देखि २५ जना कलाकारलाई व्यवस्थापन गरेर संगीत भर्नुभयो। त्यसका लागि ठूलो टिमले काम गरेको छ। यसमा २० जनाले स्वर दिनुभएको छ। यो गीतमा स्वर र संगीत भरेपछि बज्दा म भावुक हुन्थेँ।

राष्ट्रिय गीतले तपाईँको जीवनमा के के फरक पारेको छ ? 
मेरो चिनारी, इज्जत र प्रतिष्ठा बढायो। मेरो सानैदेखि चिनिने सपना थियो त्यो पुरा भयो। साहित्य मेरो ठूलो रुचि हो। राष्ट्रिय गानको रचनाकार नभएको भए म साहित्यमा नै लाग्ने थिइन होला। रोजीरोटीको लागि अरू काम रोज्नु पर्ने थियो होला। हिजो मैले जे गर्दा पनि हुन्थ्यो भने अब मेरो बोली व्यवहारमा फरक हुनै पर्नेछ।

सरकारले तपाईंलाई मासिक भत्ता ५० हजार  दिने निर्णय गर्दा यसको आलोचना पनि भयो।  एउटा राष्ट्रिय गानको मूल्य कस्तो रहेछ ?
मैले कुनै भत्ता पाउँछु भन्ने नै थिएन। सरकारले पहिला मलाई पाँच हजार दियो। त्यो पनि मेरो लागि आश्चर्यजनक नै थियो। मैले यत्तिउति भनेर खोजेको होइन सरकारले दिएको हो।

राष्ट्रिय गान फेरिएला भन्ने चिन्ता छ ?
छैन। राष्ट्रिय गान राष्ट्रको आवश्यकता हो। यसले युगको प्रतिनिधित्व गर्छ।

(एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तरवार्ता)
-प्रस्तुति : पुष्पाञ्जली बस्नेत 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ७ : ५९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच