काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक होटेलमा भएको आगलागीमा परेर ज्यान गुमाएका नेपालीको शव ल्याउन सहजीकरण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
मुख्यसचिव शंकरदास वैरागीलाई झापाका निराकर पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न निर्देशन दिइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। बिहीबार राति भएको आगलागीमा ज्यान गुमाएका झापाका निराकर पाण्डेसहित १९ जनाको निधनप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
कम्बोडियाको स्थानीय समयअनुसार बिहीबार राति ११ बजे आफू बसेको होटेलमा आगलागी सुरु भएपछि पाण्डेले आत्तिएर १२औं तलाबाट हाम फाल्दा मृत्यु भएको थियो। भिजिट भिसामा एक महिनाअघि कम्बोडिया गएका उनले होटेलमा आगो लागेपछि घरमा फोन गरेर परिवारका सदस्यसँग कुराकानी गरेका थिए।