टरिगाउँ विमानस्थल : पहिलेकै धावनमार्ग विस्तारको तयारी « Khabarhub

टरिगाउँ विमानस्थल : पहिलेकै धावनमार्ग विस्तारको तयारी


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन् । “क्यानले चार वटा विकल्प दिएको थियो”, उनले भनिन्, “तीमध्ये हामीले पहिलो विकल्प रोजेर पठाएका छौँ ।”

पहिलो विकल्पअनुसार पुरानै धावनमार्गलाई बढाउने गरी तयारी गरिएको उनको भनाइ छ । हालको सात सय ५० मिटर धावनमार्ग बढाएर एक हजार दुई सय ३० मिटर लम्बाइ बनाउने तयारी छ ।

उपमहानगरद्वारा गठित टरिगाउँ एयरपोर्ट विस्तार सहयोग समितिका संयोजक चौधरीले सोहीस्तरको विमान बनाउन ५७ बिघा जग्गा चाहिने जानकारी दिइन् । विमानस्थलको ३९ बिघा जग्गा छ । बाँकी सामुदायिक वनको १२ बिघा, अधिग्रहण एक दशमलव दुई बिघा र सार्वजनिक जग्गा चार दशमलव आठ बिघा लैजानुपर्छ ।

विमानस्थल बनाउँदा रु छ अर्ब १५ करोड ९१ लाख ५४ हजार आठ सय लागत अनुमान गरिएको छ । सोहीअनुसार ‘फाइल’ सम्बन्धित निकायमा पठाइसकेको उनले बताइन् । आगामी वर्षको बजेटमा त्यो कुरा उल्लेख हुने गरी लागेको उनले सुनाइन्।

सोही विकल्पअनुसार फुटपाथ तथा संरचना निर्माणको कामलाई रु दुई अर्ब ७६ करोड ५० लाख ९४ हजार आठ सय ६०, भवनलगायतका सामग्रीलाई रु तीन अर्ब १३ करोड ४२ लाख ४० हजार, विविध कामका लागि रु १५ करोड ७३ लाख २० हजार र जग्गा अधिग्रहण तथा भवन निर्माणका लागि रु १० करोड २५ लाख लागत अनुमान गरिएको छ ।

यो विकल्पअनुसार अहिले रहेका घर फाल्न पर्दैन । मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ । यसरी विमानस्थल बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ । यसमा रातको समयमा र कम ‘भिजिविलिटी’ हुँदा अवतरण गर्न सक्ने अवस्था रहँदैन । रातमा हवाई अवतरण गर्न थप चार सय ५० मिटर जमिन चाहिन्छ । यो डिजाइनअनुसार काम गरेमा पाँच वर्षमा विमानस्थल बन्नेछ । यसमा ‘आइई’ र ‘इआइए’ गर्न दुई वर्ष लाग्छ । साथै जग्गा अधिग्रहण गरेपछि तीन वर्ष लाग्छ ।

टरिगाउँ विमानस्थलमा विसं २०११ देखि २०४२ सालसम्म नियमितरुपमा विमान सञ्चालनमा भएको हो । त्यतिबेला सीधा दाङ काठमाडौँ जाने यातायातको अर्को विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन । बुटवलस्थित तिनाउमा पनि पुल थिएन ।

यात्रु रुपैडिया र भैरहवा भएर भारतीय भूमि हुँदै विराटनगर वा काठमाडौँ जानुपर्ने परिस्थिति थियो । केही समय अवरोध भए पनि   जसोतसो २०७० सम्म विमान सञ्चालनमा आएको थियो ।

त्यसपछि टरिगाउँ विमानस्थलको कालोपत्रेको लागि विमान अवरुद्ध बन्यो । विमान कालोपत्रे भएपछि तारा एयरले पहिलोपटक दाङ र रुकुममा एकै दिन परीक्षण उडान भरेको थियो । त्यसपछि रुकुममा विमान नियमित भए पनि त्यसको झन्डै एक वर्षको अन्तरालमा मात्रै ०७२ जेठ १४ देखि टरिगाउँ विमानस्थलबाट गोमा एयरले विमान सेवा सुरु गरे पनि एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्यो ।

त्यसको प्रमुख कारण पर्याप्त यात्रु नपाउनु थियो । २०७५ सालदेखि भने नियमितरुपमा हवाई सञ्चालन भइरहेको छ । उक्त विमानस्थलमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छ । रु साढे आठ करोडको टेन्डरबाट कालोपत्रे गरिएको टरिगाउँ विमानस्थलको धावनमार्गको लम्बाइ सात सय ५० मिटरको छ भने चौडाइ ३० मिटर छ ।

ठूला खाले विमान अवतरणलाई कम्तीमा धावनमार्गको लम्बाइ एक हजार दुई सय मिटरदेखि माथि एक हजार पाँच सय मिटरसम्मको र चौडाइ ३० देखि ५० मिटरसम्मको धावन मार्ग कालोपत्रे आवश्यक पर्छ । हाल यहाँ नेपाल एयरलाइन्स र सीता एयरलाइन्सका जहाजले उडान भरिरहेका छन् । हाल शुक्रबारबाहेक सबै दिन टरिगाउँबाट हवाई सेवा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ७ : ४८ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,