यतिबेला मिटर ब्याज पीडित महोत्तरीको बर्दिबासलगायतका क्षेत्रबाट ११–१२ दिनको पैदल यात्रा वा मौन मार्चमार्फत काठमाडौँ आएका छन् । सरकार मार्फतको हारगुहारको लागि आफूसँग भएको सबै तमसुकलाई खारेज गर्नको लागि र पैदल यात्रा मार्फत सरकारलाई दबाब दिनको लागि उनीहरू काठमाडौँ आएका हुन् । आखिर उनीहरूलाई यस्तो अवस्था किन आइपर्यो ? यसै विषयमा आधारित भएर मिटरब्याज पीडित संघर्ष संघका अध्यक्ष मनोजकुमार पासवानसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः
तराईदेखि काठमाडौं पैदल आउनुपर्ने आवश्यकता किन पर्यो ? हामी एक वर्ष अगाडिदेखि नै सीडीओ, मुख्यमन्त्री सबैलाई तमसुक बुझाउँदै गयौ । कसैले केही सुनेनन् । हामीमाथि झनै पीडा थपियो । सरकारले नै पीडा नसुनेपछि हामीले त्यो पीडा सुनाउन अर्को संघर्षको योजना बनायौ । त्यो तराईदेखि काठमाडौँसम्मको पैदल यात्रा थियो ।
ऋण दिने व्यक्ति राजनीतिक दलका मिलेमतोमा छन् ? मधेशका ९० प्रतिशत शिक्षक यो फोहोरी खेलमा सामेल छन् । धेरै कर्मचारी यो खेलमा लागेका छन् । मधेशभर धेरै पीडित छन् । हामी ७१ जना जसमा ४२ जना महिला ३ बालबालिका र ३६ जना पुरुष मात्र पैदल काठमाडौं आएका हौँ ।
पैदल यात्रा गर्दा बाटोमा कस्तो समस्या भयो ? मधेशमा एउटा घुंघटबाट बाहिर ननिस्कने महिला यसरी विद्रोह गरेर बाहिर निस्कनु चुनौतीपूर्ण विषय हो । उहाँहरूको सुरक्षा नै चुनौती भयो । हेटौडासम्म समस्या भएन । तर त्यहाँबाट यता समस्या भयो । कसैको खुट्टा दुख्न थाले, कोही बिरामी भए । हामीले खाने कुरा पकाउनका लागि सामान आफैं किनेर बोकेका थियौं । कतिपय ठाउँमा हामीले सहयोग पनि पायौँ । ६ महिनाको बालकदेखि ७८ वर्षसम्मका वृद्धा आएका छौँ ।
जे अपेक्षा गर्नु भएको थियो त्यो पाउनु भयो ? हामी आएपछि सरकारले चासो देखाएको छ । अहिले हाम्रो संख्या वृद्धि भएको छ । नेता कार्यकर्ता आएर हामीलाई समर्थन गर्न थालेका छन् ।
मिटरब्याज पीडित संघर्ष समितिमा पनि पनि गुट जस्तो देखियो । तपाई पनि कुनै पार्टीमा आबद्ध हुनुहुन्छ । यसले निष्कर्ष देला त ? राजनीति पार्टी जो भए पनि जनताको लागि काम गर्नुपर्छ । जुन कुरा मैले इमानदारीपूर्वक गरिरहेको छु । जसमा कुनै राजनीति नै छैन । यो मुद्दा जुन पार्टीले उठाउँछ उसको पक्षमा जनता हुन्छन् । यो समस्या आजको मात्र होइन, कोही नेताहरू बोलेनन्, मेरो काम पार्टीसँग आबद्ध भए पनि यो काममा पार्टीको कुरा आउँदैन ।
कसैले तपाईँलाई प्रलोभनमा पारेका छैनन् ? छैनन् । प्रलोभनले मात्र यो आन्दोलन हुँदैन । पीडित साथीहरूले कुरा राख्नु हुन्छ । तर यो मिटरब्याजी व्यक्तिहरू ठूला घरानाका छन् । अब हामी यहाँ बाट घर जाँदा जोजो काठमाडौँ आएका छौँ उहाँहरूलाई सुरक्षाको आवश्यकता छ । उहाँहरूलाई किन गएको भन्ने धम्कीहरू आएको छन् । मधेशमा मिटर ब्याजको समस्या ठूलो छ । तर यसमा महिला शोषणलगायतका समस्या छन् । ऋण नदिँदा बलात्कार समेत भएका छन् । मुद्दा परेको छ तर कारबाही भएको छैन । यो कानुनी लडाइँ हो ।
मिटरब्याजमा एउटा ऋणले मिटर ब्याजबाट ऋण लिँदा कस्तो कस्तो प्रक्रिया हुन्छ ? जब मान्छेको काम पर्छ तब ऋण लिइन्छ । कुनै मिटर ब्याजीसँग मिटर ब्याजीमा ऋण लिँदा पहिला तीन लाखको तमसुक तयार गरिन्छ । सरकाको लाइसेन्स प्राप्त व्यक्तिले नै यस्तो गर्छन्। कसैको जमिन नै कब्जा गर्ने अवस्था आउँछ । पैसा चाहिएको छ जमिन दिन्छ । तब मात्र एक लाख दिन्छ । ३६ प्रतिशतको ब्याजमा दिन्छ र अर्को वर्षसम्म नतिरे अर्को ३६ प्रतिशत ब्याज हुन्छ । अन्तमा पुरै तिर्न नसकेपछि यो जमिन मेरो भयो भन्छ र उसले लिएको पैसा पनि कटाउन उसको घर जग्गालगायत पनि कब्जा गर्छ । त्यसमा अदालतले पनि कागजको आधारमा मात्र निर्णय गर्छ । आजसम्म हामीलाई यो विषयमा कुनै पार्टीले सहयोग गरेको छैन ।
तपाईँ कति वर्षदेखि यो समस्यामा पर्नुभयो ? म सात कक्षामा पढ्दै गर्दा मेरो दाइलाई पैसाको आवश्यकता परेको थियो र पैसा लिने क्रममा दुई जानसँग गरेर ५० हजारका दरले १ लाख रुपैयाँ लिएका थियौँ । त्यो पैसा तिर्न नसकेर सात कट्ठा जमिन गुमाउनु पर्यो ।
त्यो जमिन अब पाउनु हुन्छ त ? यो विषय जग्गाको मात्र हैन, महिलाको बलात्कार भएको कुरा छ धम्काएको कुराहरू छन् । स्वतन्त्रता पनि यो विषय जोडिएको छ । अब नेताले मिटरब्याजी, दाइजो प्रथाका बारेमा राजनीति गर्नुपर्यो ।
सकारले के गर्नु पर्यो अब ? यो तमसुक सबै खोज गर्ने। कानुन भन्दा बढी लिएको जमिन र पैसा फिर्ता गराउनुपर्छ । महिलाहरू माथि भएको बलात्कार लगायतका समस्याहरू माथि न्याय दिलाउनुपर्छ ।
(एभिन्युजसँगको सहकार्यमा तयार अन्तर्वार्ता)